भारतीय महान लोकतन्त्रको साख गिर्दै

रामचन्द्र गुहा

म बुद्धको जीवनी लेखक वा मुगलहरूको इतिहासकार भइदिएको भए त्यसमा मेरो राजनीति र मेरो व्यवसाय ुओभरल्यापु (उपरीमाथि थुपरी) हुनेगरी हावी भइदिन्थ्यो।

तर, जब म आधुनिक भारतको इतिहासकारका रुपमा सोच्न बस्छु, त्यति बेला आफूलाई अध्येताका रुपमा कहाँ राख्ने र भारतीय नागरिकका रुपमा कता उभ्याउने भन्ने कुराले निरन्तर र पीडादायी तनाव झेल्ने परिस्थिति सामना गराइरहन्छ।

सरकारले कश्मिरको विशेषाधिकार हटाउने निर्णय गरेयता मेरो मुलुक र नागरिकका लागि भारतीय मानककै हिसाबले पनि अत्यन्तै उथलपुथल क्षण गुज्रिरहेको छ। संयोगले यति बेलै मेरो मुलुक बेलायती उपनिवेशबाट मुक्त भएको वार्षिकी मनाइरहेको छ। यही परिवेशमा मलाई यो लेख लेख्न अनुरोध गरिएको छ।

स्वतन्त्रता प्राप्तिका यी ७२ वर्षमा भारतीयले आर्जेका वृहद् ९र गहिरो० समझदारीमा पछिल्ला दुई साताका घटनाक्रमले कसरी असर पार्न सक्छन्रु सन् १९४७ यता भारतले जसरी यात्रा गर्दै आएको छ, त्यसलाई निष्पक्ष र वस्तुनिष्ठ भएर हेर्दा मेरो सरकारले कश्मिरी दाजुभाइलाई गर्दै आएको अत्याचार के म पन्छ्याउन सकूँला ? मैले कम्तिमा प्रयास गर्नैपर्ने भएको छ।

भारत खडा भएको जगमा जे-जति कमजोर विन्दु छन्, त्यसैमध्ये एउटा धर्मले बनाएको धाँजामै कश्मिर छ। पछिल्लो समय हिन्दु बहुसंख्यकवाद जसरी आक्रामक भएर उदाउने र दिनप्रतिदिन जब्बर भइरहेको छ, त्यसले भारतको बहुसाँस्कृतिक र विविधतायुक्त लोकतन्त्रको भविष्य के होला भनेर धेरैले चिन्ता गर्न थालेका छन्।

तर, इतिहासकार र नागरिक दुवै भएर मैले देखेजस्तो सुरूमै भारतका तीनवटा मजबुत उपलब्धिलाई पहिले आत्मसात नगरी हालसालैका इतिहासको लेखाजोखा पूरा हुन सक्दैन।

थुप्रै पहिचानहरू जोडिएर बनेको एउटा राष्ट्र

सन् १९४७ कै परिस्थितिमा मुलुक रहेको भए, जस्तै साहसी पुँजीपतिले पनि यहाँ लगानी गर्ने हिम्मत जुटाउन सक्थेन।

स्वतन्त्र भएलगत्तै भारतीय सेनाका अन्तिम बेलायती कमाण्डर इन चिफ जेनरल क्लाउड ओचिन्लेकले लेखेका थिए, ‘शिखहरूले एउटा बेग्लै शासन खडा गर्ने कोशिश गर्न सक्छन्। मलाई लाग्छ, उनीहरूले गर्नेछन् र त्यो विन्दु नै भारत एउटा मुलुक हो भन्ने मान्यता तोड्ने कडीका रुपमा प्रारम्भ हुनेछ। किनकि यो युरोपजस्तै अनेक विविधताले भरिएको उपमहाद्वीप हो। यहाँका पञ्जावी मद्रासीभन्दा ठीक उसैगरी बेग्लै छन् जसरी इटालियनभन्दा स्कटिसहरू फरक छन्। बेलायतीहरूले यसलाई एकताको सूत्रमा बाँधेर राख्न खोजे पनि दिगो उपलब्धि हासिल हुन सकेन। थुप्रै पहिचान जोडिएर बनेको एउटा उपमहाद्वीपलाई कसैले पनि एउटा राष्ट्र बनाउन सक्दैन।’

ओचिन्लेकको मात्र होइन, भारत स्वतन्त्र भएपछिका प्रारम्भिक दिनमा यस किसिमका सोचाइ सर्वत्र थियो। एक-से-एक पश्चिमा अवलोकनकर्ताले भारत एक राष्ट्रका रुपमा बाँच्नै नसक्ने र लोकतान्त्रिक त झनै हुन नसक्ने विचार प्रकट गरेका थिए। तर, भएरै छाड्यो।

सन् १९५२मा स्वतन्त्रतापछिको पहिलो आमनिर्वाचन बेला भारतमै रहेका अर्का पूर्व बेलायती अधिकारीले लेखेका थिएः ‘लाखौं अनपढलाई मतदानमा सरिक गराएर तयार हुँदै गरेको यो विवेकशून्य प्रहसनलाई भविष्यले र भावी प्रबुद्ध युगले आश्चर्य मानेर हेर्नेछ। यी सब अड्कल-अनुमान परास्त गर्दै भारत एकीकृत भएर बाँच्यो र लोकतान्त्रिक मुलुक भएरै देखाइदियो।

पक्कै पनि यसको जन्मकालमा हिंसाका वारदात भए। त्यसपछि कश्मिर, नागाल्याण्ड र अन्यत्र पनि विद्रोह चर्किए जसलाई बलपूर्वक नियन्त्रित गरियो। तर, जब कसैले बेलायत, अमेरिका, फ्रान्स वा चीनजस्ता मुलुकको राष्ट्र निर्माणक्रममा रक्तपात भएको हिसाब-किताब गर्छ, त्यति बेला सबैको तुलनामा भारतको आँकडा धेरे थोरै भेट्नेछ। एउटा गरिब, विभाजित र अझै पनि पूर्ण साक्षरता नभएको मुलुक यी सबका बावजुद लोकतान्त्रिक भइरहनु सबभन्दा ठूलो गौरव हो।

भारतका प्रत्येक आमनिर्वाचन, यहाँका हरेक मतदाताको स्वतन्त्र मर्जी प्रस्फुटन हुने मानव इतिहासकै महान अभ्यास हुने गर्छ। त्यसैगरी कतिपय युरोपेली मुलुकभन्दा ठूला यसका थुप्रै राज्यमा सयौं पटक लगाएर हुने प्रान्तीय चुनावका काम उत्तिकै प्रभावकारी देखिन्छन्।

भारतीयले गर्व गर्नुपर्ने तेश्रो कारण हो, भाषिक बहुलतावाद जोगाएर राख्न कायम गरेको मानक। अमेरिकीहरूलाई हेरौं न! त्यहाँ जसले अंग्रेजी बोल्दैन उसलाई हेर्ने दृष्टिकोणै बेग्लै हुन्छ। जबकि, मेरो गोजीमा भएको एउटा नोटमै १७ भाषा र १७ वटै लिपि हुन्छ।

एउटै भाषाले मात्र राष्ट्रिय एकता बचाउन सक्छ भन्ने प्रचलित धारणा नकार्दै हिन्दीलाई देशभरकै भाषा रूपमा नथोपर्ने भारतका संस्थापकले कत्रो उदारता अपनाएका थिए। छेउकै पाकिस्तान र श्रीलंकामा भाषाको मतान्तरले रक्तपातपूर्ण द्वन्द्व र विखण्डनकै बिजारोपण गरेको थियो।

वास्तवमा भन्ने हो भने, विशाल, विविधताले भरिएको र धेरै भाषा बोलिने एउटा राजनीतिक भेग, मानिसको स्वतन्त्र आवतजावत र एउटै बजारको रुपमा कसरी कायम रहन सक्छ भन्ने उदाहरण भारतले नै दसकौंसम्म युरोपियन युनियनलाई देखाइदिएको थियो।

असफलता र धाँजाहरू

यी उपलब्धिका साथै तीनवटा महत्वपूर्ण असफलता जोडिएका छन्। भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले मुलुकलाई ‘हिन्दू पाकिस्तान’ बन्न कदापी दिनु हुन्न भनेका थिए। उनले स्वतन्त्रतालगत्तै सन् १९४७ मा राज्यका मुख्यमन्त्रीहरूलाई लेखेका थिएः

‘हामीकहाँ अल्पसंख्यक मुसलमान छन् जो अल्पसंख्यक हुँदाहुँदै पनि ठूलो संख्यामा छन्। उनीहरू चाहेर पनि अन्त जान सक्दैनन्। उनीहरूले भारतमै बस्नुपर्ने हुन्छ। यो हाम्रो आधारभूत सत्य हो जसलाई लिएर कुनै विवाद हुन सक्दैन। पाकिस्तानले जतिसुकै उद्वेलित पारोस् र त्यहाँका गैर मुसलमानलाई जतिसुकै अमानवीय र आतंकपूर्ण व्यवहार गरोस्, हामीले हामीकहाँ भएका अल्पसंख्यकलाई सभ्यतापूर्वक व्यवहार गर्नुपर्छ। उनीहरूलाई एउटा लोकतान्त्रिक मुलुकको नागरिकले पाउने हक र सुरक्षा प्रत्याभूति गर्नैपर्छ।’

भारतले मुसलमान, इशाई, शिख र पारसीलाई स्वतन्त्रताका साथै समान अधिकार प्रत्याभूति गरेको छ। नेहरू बाँचेकै बेला पनि छिटफुट धार्मिक द्वन्द्व नभएका होइनन्। तर, सन् १९६४ मा उनको निधनपछि हिन्दू र मुसलमानबीचमा एकपछि अर्को दंगा चल्दै आयो।

हिन्दू प्रधानता वकालत गर्ने भारतीय जनता पार्टीको उदयसँगै सन् ८० दसकपछि हिन्दू मुसलमानबीचका दंगामा तेल छर्केजस्तो भइदियो। अहिले भारतीय जनता पार्टी चाहे संसदमा होस् वा सबैजसो महत्वपूर्ण राज्यको शक्ति सम्हाल्ने हैसियतमा पुगेका बेला र यसका धेरै नेता तथा सबैजसो कार्यकर्तामा देखिएको बहुमतको बलमिच्याइँले भारतलाई ‘हिन्दू पाकिस्तान’ बनाउने काममा सन् १९४७ यताकै सबभन्दा नजिक पुर्याइदिएका छन्।

पछिल्लो समय कश्मिरमाथि भारत चरम निर्दयी बन्नुका पछाडि एउटा कारणै बहुसंख्यक कश्मिरीहरू मुसलमान हुनु हो।

एकातिर लामो समयदेखि कश्मिरमा मुसलमान आतंकवादलाई मलजल गर्न पाकिस्तानको भूमिका र अर्कोतिर भारतीय प्रधानमन्त्री मोदीले विकास गरेका पन्थको दबदबाबीच यति बेला कश्मिरमाथि जे जस्ता दमनकारी नीति अख्तियार गरिएको छ, त्यसलाई कश्मिरबाहेकको भारतीय जनसंख्याले आलोचना गर्नेभन्दा पनि ताली बजाउनेतर्फ अग्रसर भइरहेको देखिँदैछ।

भारतको अर्को असफलता, यहाँका निष्पक्ष र नियमबद्ध सार्वजनिक संस्था लगातार ध्वस्त पारिनु हो।

मैले भन्दै आएजस्तै भारत पछिल्लो समय ‘केवल चुनाव गराउने लोकतन्त्र’ मा सीमित हुने खतरा बढ्दै गएको छ। कुनै पार्टी चुनाव जित्नेबित्तिकै उसका गतिविधिका निम्ति उत्तरदायी हुनै नपर्ने स्थिति छ। मुश्किलले संसद चलिरहेको छ। सञ्चारको ठूलो हिस्सा त्रस्त बनाइएको छ, वा प्रभावको दायराभित्र तानिएको छ। न्यायालय भारले थिचिएर कामै गर्न नसक्ने अवस्थामा छ। निजामति कर्मचारी र प्रहरी भारतीय जनता पार्टीको पकेटमै छन्। आफ्नो विरोध गर्नेलाई कर प्रशासन वा जासुस लगाइदिने काम डोनाल्ड ट्रम्पले गर्न नसके पनि मोदीले मजाले सक्छन्। स्वतन्त्र ढंगले पत्रकारिता गरिरहेका द वायर, क्वींट र एनडिटिभी जस्ता थुप्रै वेबसाइट र टेलिभिजन मानहानीको मुद्दा झेल्दैछन्। वा कर कार्यालयको छापा भोग्दैछन्। यस्ता अनेक कहानी छन्।

प्रकृतिको उपयोग र दोहन

हाम्रो तेश्रो ठूलो असफलता भारतले गर्दै आएको प्रकृतिको उपयोग र दोहनसँग जोडिएको छ। औद्योगिकीकरण नाममा पश्चिमाहरूको सिको नहोस् भनेर महात्मा गान्धीले सन् १९२८ मै चेतावनी दिँदै भनेका थिए, ‘यसले संसारलाई सलहजस्तै नांगो पारिदिनेछ।’

हामीले उनका कुरा वास्ता गरेनौं। पुरानै र ऊर्जा तथा श्रोतमा आश्रित प्रविधि पछ्याएर बढी उपयोगी र दिगो विकल्प खोजेनौं। परिणाम, हामी सबैका सामुन्ने छ।

जलवायु परिवर्तन नभए पनि भारत वातावरणीय मुद्दामा जेलिन बाध्य छ। हाम्रा सहर विश्वकै सर्वाधिक प्रदूषणयुक्त भनेर चिनिन थालेका छन्। थुप्रै नदी जैविक हिसाबले मृत बनिसके। माटोमा रसायन यसरी मिसाइसकेका छौं, पुरानो गुण सायदै फर्किनेछ। यतिबेलै सार्वजनिक संस्थालाई यति भ्रष्ट र पतन गराइसकिएको छ, यी सब कुराको उपचारार्थ तिनले कुनै कदम चाल्लान् भन्ने नचिताए हुन्छ।

वातावरणमा हामीले भोगेका यी विनाश हिसाबकिताब गर्दै हाम्रो कूल गार्हस्थ्य उत्पादनको आंकडामा मिलाएर प्रस्तुत गर्ने र त्यसले पार्ने दीर्घकालीन असर जोड्ने हो भने कुनै पनि चेत भएको मानिसले भारत ‘आर्थिक महाशक्ति’ बन्न सक्छ भनेर पत्याउँदैन।

प्रधानमन्त्री बन्नुअगाडि इतिहास लेखनमा हात हालेका नेहरूले एकपटक ‘भारत मानवीय हिसाबले साँच्चिकै महान र साँच्चिकै उदेकलाग्दाहरू अटाएका सबैको साझा थलो हो’ भनेका थिए।

भारतीय स्वतन्त्रताको ६० औं वर्ष मनाइरहँदा (सन् २००७) एउटा किताब प्रकाशित थियो। त्यति बेला मैले लामै भए पनि मुलुकको इतिहासकै महान र उदेकलाग्दाहरूको दस्तावेजीकरण गर्न लगाएको थिएँ। त्यो सबै हेरेपछि भनेको थिएँ, ‘भारतमा ५०–५० लोकतन्त्र छ’।

यस्तो निष्कर्षमा पुग्नुको पछाडि खुला र भयरहित चुनाव, मानिसहरूको निर्वाध हिँडडुल, पश्चिमा मानकको पुरानो लोकतन्त्रसँग भारतको मिल्दोजुल्दो रुप एकातिर थियो। अर्कोतिर राजनीतिक भ्रष्टाचार, जात, लिंग र धर्ममा आधारित हिंसा थियो।

यो आंकडा पनि असाध्यै चाँडो ओह्रालो झर्यो

आज बाह्र वर्षपछि म मेरो मुलुकको लोकतान्त्रिक साख अझ तल झार्दैछु। भारतीय जनता पार्टीलाई चुनौती दिनसक्ने कुनै पनि भरपर्दो विपक्षी नहुँदा, धार्मिक अल्पसंख्यकमा बढ्दो त्रास र स्वतन्त्र पत्रकारितामाथिको आक्रमणले हामीलाई अब ‘४०–६० लोकतन्त्र’ मा झारेको छ।

र, हालै कश्मिरमा राज्यशक्तिको दुरुपयोग गरेर कुनै संकेत दिन खोजिएको हो भने ठीक छ, हामी अब ‘३०–७० लोकतन्त्र’ तर्फ बढिरहेका छौं।

(वासिंगटन पोष्टबाट)

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *