दिल्लीमा जनस्वास्थ्य संकटकाल

एजेन्सी । वायु प्रदूषणका कारण विषाक्त हावा फैलिएपछि भारतको राजधानीमा अधिकारीहरू सार्वजनिक स्वास्थ्य सङ्कटकालको घोषणा गर्न बाध्य भएका छन्। वायु प्रदूषणका कारण विद्यालयहरूमा ५० लाखवटा मास्क वितरण गर्न लागिएको छ।

दिल्लीमा तीन दिनका लागि सबैखाले निर्माणकार्य बन्द गर्न निर्देशन दिइएको छ भने मङ्गलवारसम्म सबै विद्यालयहरू बन्द रहनेछन्। हावामा विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित अधिकतम तहभन्दा २० गुणा बढी हानिकारक तत्त्वहरू पाइएको छ।प्रदूषण गम्भीर रूपमा बढेपछि सर्वोच्च न्यायालयको अनुमतिमा गठित एउटा समितिले दिल्ली र आसपासका अन्य दुई राज्यमा विभिन्न खाले प्रतिबन्धहरू लगाएको छ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ूग्यास च्याम्बरू मा परिणत भएको बताएका छन्। वितरित मास्क यथासम्भव प्रयोग गर्न केजरीवालले आग्रह गरेका छन्। अहिले भारतको राजधानीलाई बाक्लो तुँवालोले ढाकेको छ। मानिसहरूले त्यसको तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्दै आक्रोश व्यक्त गरेका छन्।

बर्सेनि यस्तो अवस्था दोहोरिने गरेको भन्दै उनीहरूले सरकारसँग आक्रोश पोखेका छन्। प्रत्येक वर्ष नोभेम्बर र डिसेम्बर महिनामा दिल्लीको हावा विषाक्त बन्ने गरेको छ। छिमेकी हरियाणा र पन्जाब राज्यमा किसानहरूले अन्नबाली भित्र्याएपछि खेतमा ठूटा र खोस्टामा आगो लगाउने गरेका छन्।

त्यसरी लगाइने आगोका दृश्य भू–उपग्रहबाट खिचिने तस्बिरमा पनि देखिने गरेको छ।दीपावलीमा पड्काइने पटाकाका कारण पनि वायु प्रदूषणको मात्रा बढ्ने गरेको छ। त्यसबाहेक निर्माण कम्पनी, यातायातबाट निस्कने धूँवा अन्य कारक हुन्। चिसो सुरु भएसँगै दिल्लीमा बढ्ने प्रदूषण पश्चिमी वायुसँगै नेपालसम्म पर्ने गरेको विज्ञहरू बताउँछन्।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *