सार्वजनिक यातायातको भाडा प्रतिकिमि २२ रुपैयाँ निर्धारण

 

डोल्पा । डोल्पा जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायातमा नयाँ भाडादर निर्धारण गरिएको छ । महँगो भाडादरको सर्वसाधारणले विरोध गरेपछि मंगलबार नयाँ भाडादर निर्धारण गरिएको हो । त्रिपुरासुन्दरी नगरपालिकाको पहलमा यातायात व्यवसायीसहित सरोकारवालाको भेलाले नयाँ भाडादर निर्धारण गरेको हो ।
सर्वपक्षीय छलफलबाट जिल्लाभरिका सडकमा प्रतिकिलोमिटर २२ रुपैयाँ भाडादर कायम गरिएको छ । सर्वसाधारणको पिरमर्कालाई मध्यनजर गरेर यात्रु र व्यवसायी दुवैलाई मर्का नपर्ने गरी नयाँ भाडादर निर्धारण गरिएको नगरप्रमुख ओमबहादुर बुढाले बताए ।

१४ किमि दूरीको त्रिपुराकोट–खदाङ् सडकखण्डमा प्रतिकिमि २२ रुपैयाँका दरले तीन सय १० रुपैयाँ भाडा निर्धारण गरिएको छ । त्यसैगरी, त्रिपुराकोटकै छलगाडदेखि खदाङ्सम्म १३ किमि दूरीको भाडा दुई सय ९० रुपैयाँ कायम गरिएको नगरप्रमुख बुढाले जानकारी दिए ।

यसअघि उक्त सडकखण्डमा यातायात व्यवसायीले मनपरीरूपमा चार सय रुपैयाँभन्दा बढी भाडा उठाउँदै आएका थिए । नयाँ निर्धारण गरिएको भन्दा बढी भाडा उठाएको पाइएमा कडा कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज भट्टले बताए । नयाँ पत्रिकाबाट

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *