बर्दिवासमा गठबन्धन दलभित्रै भाँडभैलो, यस्तो छ चुनावी हिसाव

banner

aa-1

महोत्तरी । महोत्तरी जिल्लाकै सबैभन्दा अधिक साक्षरता प्रतिशत भएको र सचेत भनिएको नगरपालिका बर्दिवासमा स्थानीय निर्वाचनको मनोनयनमा सबैभन्दा बढी भाँडभैलो देखिएको छ । गठबन्धनको बुई चढेर केही सिट हत्याउँला भनेर बसेको नेकपा (एकीकृत समाजवादी) एक्लिएको मात्र होइन, स्थानीयरुपमा बलिया भनेका दल माओवादी र काँग्रेसको किचलोको तमासे बनेको छ ।

२०७४ को स्थानीय निर्वाचनको परिणामअनुसार यहाँ नेकपा (माओवादी केन्द) पहिलो, नेपाली काँग्रेस दोश्रो र नेकपा (एमाले) तेश्रो दल हो । यस पटकको निर्वाचनमा भने नेपाली काँग्रेसमा टिकेटवाल उम्मेदवार भन्दा वागीको तामझाम बढी देखिएको छ भने माओवादीमा पनि वागीकै वोलवालाको सम्भावना छ । वैशाख १२ गते भएको मनोनयनमा मेयरका उम्मेदवारमा काँग्रेसबाट चिरञ्जिवी हमाल छन् भने काँग्रेसबाट टिकेट खोसिएका प्रल्हादकुमार क्षेत्रीले स्वतन्त्र उममेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रबाट आधिकारिक उम्मेदवार राजु खडकाविरुद्ध सोही पार्टीका रुद्र सुसलिङले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एमालेबाट भने आन्तरिक असन्तुष्टी रहे पनि कसैले स्वतन्त्र उम्मेदवारी दिएका छैनन् । एमालेबाट मेयरमा टेकबहादुर बलम्पाकी र उपमेयरमा दुर्गा दहालले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धन होला र केही हात लाग्ला भनेर बसेको नेकपा (एस) बलिया भनेकै दलमा आन्तरिक किचलो चुलिएपछि छुट्टै उम्मेदवारी दिन वाध्य भएको छ । एसका तर्फबाट मेयरमा भीमबहादुर आले र उपमेयरमा कमला वाइवाले मनोनयन दर्ता गराएका छन् ।

बर्दिवास महोत्तरी जिल्लाको संघीय निर्वाचन क्षेत्र –१ मा पर्छ । यहाँबाट दुई ओटै सम्विधानसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचन गरी लगातार तीन पटक माओवादीका गिरिराजमणी पोखरेल विजयी हुँदै आएका छन् । यहाँका माओवादी आन्तरिक एकतामा गर्व गर्ने गर्थे र उनीहरूबीचको मजबुत आन्तरिक एकता र काँग्रेस र एमालेमा जहिल्यै किचलोका कारण वाजी मार्दै आएका गिरिराजमणीलाई उनकै पार्टीमा देखिएको यस पटकको किचलो र वागी उम्मेदवारीले संघीय निर्वाचनमा असर गर्ने निश्चित देखिएको छ ।

यद्यपी महोत्तरीको बर्दिवास क्षेत्र माओवादीभित्र पनि पूर्वजनमोर्चा (नारायणकाजी समूह) को बर्चश्व रहेको क्षेत्र हो । अहिलेका मेयर पदका आधिकारिक उम्मेदवार वागी उम्मेदवार दुवै पूर्वजनमोर्चाकै उत्पादन हुन् । पछिल्लो समय माओवादीका आधिकारिक उम्मेदवार खडका, वडानं. १ मा वर्तमान अध्यक्ष चुडामणी पोखरेल, बर्दिवासकै मतदाता रहेकी राष्ट्रियसभाकी निवर्तमान उपाध्यक्ष शशिकला दाहाल प्रचण्ड पक्षमा लागेका बताइन्छ । अहिले पनि यस क्षेत्रमा पूर्वजनमोर्चाकै पक्ष बलियो भएकाले सुसलिङको उम्मेदवारी कायम रहेमा माओवादीको आधिकारिकभन्दा वागीले बढी मत ल्याउने सोझै अनुमान गर्न सकिन्छ । वागी उम्मेदवारी दिने सुसलिङ गिरिराजमणी शिक्षामन्त्री हुँदा उनका स्वकीय सचिव पनि हुन् । शिक्षण पेशाबाट सेवा निवृत भएका सुसलिङ भद्र स्वभावका भएकाले आवेश आएर वागी उम्मेदवारी दिएको भन्न सकिने अवस्था छैन ।

काँग्रेसका आधिकारक उम्मेदवार हमाल र वागी क्षेत्री दुवै केन्द्रीय राजनीतिमा संस्थापन पक्षकै मानिन्छन् । काँग्रेसको नगर, क्षेत्र र जिल्ला निर्वाचनमा यी दुईबीच फाटो भएको हो । २०७४ को स्थानीय निर्वाचनमा निकटम प्रतिद्वन्द्वी भएका क्षेत्रीलाई त्यतिबेला हमालको अभिभावकीय संरक्षण, समर्थन र सहयोग थियो । सो निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी भएसँगै काँग्रेसी राजनीतिमा होमिएका क्षेत्रीको हरेक क्रियाकलाप यो निर्वाचनमा बर्दिवासको मेयर हत्याउने रहँदै आएको थियो । अर्थात उनको अर्जुन दृष्टी भनेकै बर्दिवास नगरपालिकाको मयर पद थियो । काँग्रेस प्रदेश समितिले क्षेत्रीलाई टिकट दिएपछि, केन्द्रले सिधै हस्तक्षेप गरेर हमाल आधिकारिक उम्मेदवार भएका हुन् ।

बर्दिवास एमालेमा कसैले वागी उम्मेदवारी दर्ता नगराए पनि असन्तुष्टी ब्यापक छ । एमालेबाट मेयरका उम्मेदवार टेकबहादुर बलम्पाकी छन् । उनी एमालेका केन्द्रीय सदस्य हुन् र रामबहादुर थापा (बादल) निकट मानिन्छन् । एमाले प्रदेश कमिटीले बर्दिवासको मेयरका लागि चन्द्रबहादुर क्यापछाकीलाई छनौट गरेको थियो । प्रदेश कमिटीबाट खाली टिकट बोकेर आएका केन्द्रीय सदस्य, तथा जिल्ला अध्यक्ष बलम्पाकीले क्यापछाकीलाई टिकट नदिई आफ्नै नाम भनेर मनोनयन दर्ता गराएको बताइन्छ । माओवादीबाट आएका केही कार्यकर्ताले बलम्पाकीलाई उम्मेदवार नबनाए एमाले छाड्ने धम्की दिएकाले प्रदेश कमिटीले क्यापछाकीलाई पछाडी हटाएको बताइएको छ । यसकारण पनि एमालेभित्र माओवादीबाट आएका र पुराना एमालेबीच स्पष्ट विभाजनको रेखा कोरिएको छ । यद्यपी उपमेयरमा भने दुर्गा दाहाल एमालेकी पुरानै कार्यकर्ता हुन् ।

बर्दिवास नगरमा नेकपा (एस) ले एमालेलाई त्यतिधेरै क्षती पुर्याएको मानिदैन । जति क्षती प्र्याएको छ त्योभन्दा धेरै नेकपाको निरन्रता भनेर माओवादीमा नगई एमालेमै बस्नेहरू छन् । यसले पनि एमालेले आन्तरिक असन्तुष्टीलाई साम्य पारेर एक ढिक्का हुन सकेको खण्डमा यसपटक बर्दिवासमा एमालेले वाजी नमार्ला भन्न सकिन्न ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार