माओवादी सत्ता गठबन्धनसँग अलग्गियो, एमाले र नागरिक उन्मुक्तिसँग सहकार्य

राजनीति

jisasa-kailali

धनगढी । कैलालीमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीसँगको गठबन्धन तोडेको छ ।

३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध यी दुवै पार्टीसँग तालमेल गरेको माओवादीले जिल्ला समन्वय समिति (जिसस) गठनमा भने नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने सहमति गरेको छ । बिहीबार धनगढीमा बसेको नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको संयुक्त बैठकले जिल्ला समन्वय समिति गठनमा सहकार्य गर्ने निर्णय गरेको छ ।

एमाले कैलालीका सचिव डेजी पाण्डेले सहमतिअनुसार जिल्ला समन्वय समितिको प्रमुखसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टी, उपप्रमुख सहित एक सदस्य नेकपा एमाले र चार सदस्य माओवादी केन्द्रले लिने जानकारी दिए ।

१३ वटा स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समिति गठन गर्न १४ जना एक ठाउँमा उभिनुपर्ने हुन्छ । यहाँ स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नागरिक उन्मुक्ति पार्टीका सात, एमालेका पाँच र माओवादी केन्द्रका चार जना प्रमुख /उपप्रमुख छन्, जुन संख्या जिल्ला समन्वय समिति गठन गर्न आवश्यक पर्ने बहुमतभन्दा बढी हो ।

तीन दलीय बैठकमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय प्रवक्ता दामोदर पण्डित, केन्द्रीय सदस्य रमेश विक, रामलाल थारु र लालबीर चौधरी, नेकपा एमालेका कैलाली जिल्ला कमिटी उपाध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डेय, उपसचिव ममता प्रसाद चौधरी र लोकेन्द्र शाही तथा माओवादी केन्द्रका कैलाली इन्चार्ज हरि ज्ञवाली र निर्वाचन क्षेत्र नम्बर १ का संयोजक सुरेन्द्र देवकर लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार