एजेन्सी । इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले भावी द्वन्द्वलाई उकास्ने काम गरेको चीनका रक्षामन्त्री जनरल वेई फेङ्गेले बताएका छन् । दुई महाशक्तिबीचको सम्बन्ध महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै फेङ्गेले द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने कार्य अमेरिकाको हातमा रहेको बताए । एसियाको प्रमुख सुरक्षा बैठक सांग्रिला संवादलाई सम्बोधन गर्दै फेङ्गेले अमेरिकालाई ‘चीनलाई गाली गर्ने’ बन्द गर्न आग्रह गरे ।
बैठकमा अमेरिकाले ताइवानमा चिनियाँ सैन्य गतिविधिको विरोध गरेको थियो । ताइवान स्वशासित टापु वरपर हालैको चिनियाँ सैन्य गतिविधिले यथास्थिति परिवर्तन गर्ने खतरा रहेको बताउँदै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले ताइवानलाई अमेरिकी समर्थन रहेको बताए । उनले ताइवाननजिकै चीनको उत्तेजक र अस्थिर सैन्य गतिविधिमा निरन्तर वृद्धि भएको बताउँदै त्यसको आलोचना गरेका थिए ।
बेइजिङको कम्युनिष्ट मूलभूमिसँग एकताको मागलाई स्वीकार गर्न धम्की दिने उद्देश्यले चीनले हालैका वर्षहरूमा ताइवानविरुद्ध आफ्नो सैन्य उत्तेजकता बढाएको बेइजिङमाथि आरोप लाग्दै आएको छ ।
चीनले ताइवानलाई आफ्नो महत्वपूर्ण हिस्सा भएको दाबी गरेको छ । सन् १९४९ मा गृहयुद्धका क्रममा ताइवान विभाजन भएको थियो । बेइजिङले आफ्नो राष्ट्रिय हितको रक्षा गर्ने आफ्नो संकल्पलाई कम नठान्ने चेतावनी दिँदै ताइवानको स्वतन्त्रतालाई समर्थन गर्नेहरूले प्रतिकूल परिणाम भोग्नुपर्ने बताउँदै आएको छ ।