अफगानिस्तान भूकम्पः २८० जनाको मृत्यु र सयौँ घाइते

अन्तराष्ट्रिय

aa-15

एजेन्सी । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २८० जनाको ज्यान गएको र कैयौँ मानिस घाइते भएको सरकारी समाचारसंस्थाले जनाएको छ। सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूमा घाइते ओसारिएको दृश्य देखिन्छ। ती तस्बिरहरू पाक्तिका प्रान्तका हुन्।

बख्तार समाचारसंस्थाका अनुसार ६०० जनाभन्दा बढी मानिस घाइते भएका छन्। उसले मृतकको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ। भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ। मध्यरातपछि भूकम्प आएको बेला धेरै मानिसहरू सुतिरहेका थिए।

सहयोगको याचना
अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६.१ म्याग्निट्यूडको थियो र ५१ किलोमिटर गएको थियो। हिजो पाक्तिका प्रान्तका चार जिल्लामा शक्तिशाली भूकम्प गयो । भूकम्पका कारण हाम्रा सयौँ नागरिकको ज्यान जानुका साथै दर्जनौँ घरहरू ध्वस्त भएका छन्, सरकारका प्रवक्ता बिलाल करिमीले ट्विटरमा लेखेका छन्। ‘उक्त क्षेत्रमा थप विपद् आउन नदिनका लागि तत्काल उद्धार टोली पठाउन हामी दाताहरूलाई आग्रह गर्छौँ।’

भारतसम्म कम्पन
केन्द्रबिन्दुभन्दा ५०० किलोमिटर टाढासम्म भूकम्पको तरङ्ग पुगेको बताइएको छ। अफगानिस्तानबाहेक पाकिस्तान र भारतसम्म पनि उक्त भूकम्पको धक्का महसुस भएको युरोपेली भूकम्प मापन केन्द्र ईएमएससीले जनाएको समाचारसंस्था रोएटर्सले उल्लेख गरेको छ।

प्रत्यक्षदर्शीहरूले जनाएअनुसार अफगान राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादमा पनि भूकम्पको धक्का पुगेको थियो। यद्यपि ती स्थानमा कुनै क्षति पुगेको वा कोही हताहत भएको विवरण नआएको बीबीसी उर्दूले जनाएको छ। अफगानिस्तान भूकम्पीय जोखिमयुक्त क्षेत्रमा अवस्थित छ। त्यहाँको भूगर्भमा विभिन्न दरारहरू छन्।

विगत एक दशकमा अफगानिस्तानमा भूकम्पमा परेर ७ हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका प्रतिवेदनहरूमा उल्लेख छ। प्रत्येक वर्ष अफगानिस्तानमा भूकम्पका कारण सरदर ५६० जनाको मृत्यु हुने गरेको देखिन्छ। ग्रामीण भेगमा बलियो घर नबनाइने भएकाले विशेष गरेर त्यहाँ भूकम्पले ठूलो मानवीय क्षति पु¥याएको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार