एजेन्सी । युक्रेनमाथिको रुसी आक्रमणको सुरुवाती दिन मै मस्कोको एक प्रमुख रणनीतिक उद्देश्यहरू प्रष्ट भएको थियो । रुस युक्रेनका बन्दरगाहलाई कब्जामा लिएर उसलाई आर्थिक स्रोत सुकाउन चाहन्थ्यो । यही उद्देश्यका लागि रुसी नौ सेना युक्रेनको तटीय क्षेत्र कब्जा गर्न र उसलाई समुद्रबाट वञ्चित गर्ने प्रयासमा तटीय क्षेत्रमा अघि बढेका थिए ।
धेरै महिनाको युद्धपछि रुस उसको लक्षमा आंशिक रूपमा सफल भएको छ । युक्रेनका पाँच प्रमुख व्यापारिक बन्दरगाहमध्ये दुई वटास् बेर्दीयान्स्क र मारिउपोल बन्दरगाहलाई रुसले कब्जा गरेको छ । दुवै कृष्ण सागरको उत्तर–पूर्वी भागमा छन् । युक्रेनी व्यावसायिक जहाजका लागि कृष्ण सागर सबैभन्दा राम्रो रुट हो । त्यहाँबाट भूमध्यसागरलाई छोएका देशमा मात्र होइन स्वेज नहर र बाहिरका बजारसम्म पुग्न सकिन्छ ।
यिनै समुन्द्र मार्ग हुँदै युक्रेनले विश्वको उपभोग गर्नेमध्ये ९ प्रतिशत गहुँ , १५ प्रतिशत मकै र ४४ प्रतिशत सूर्यमुखी तेल निर्यात गर्ने गरेको थियो । बंगलादेश, इजिप्ट, इन्डोनेसिया र पाकिस्तानले तिनले उपभोग गर्ने एक चौथाइ गहुँ युक्रेनबाट किन्थे । युक्रेनको प्रमुख बन्दरगाह ओडेसाका साथसाथै माईकोलाईभ अझै पनि युक्रेनको नियन्त्रणमा छ । युद्धअघि युक्रेनले गर्ने निर्यातको ८० प्रतिशत हिस्सा यही दुई बन्दरगाहबाट हुने गर्थ्यो ।
रुसले यी दुई व्यापारिक केन्द्र र तिनका वरपर रहेका क्षेत्रहरू कब्जा लिन गरेको प्रयास असफल भएको छ र त्यस भेगमा उसको प्रगति रोकिएको छ ।
युक्रेनी फौजले खेर्सन र माइकोलाइभ र त्यस वरपर रुसी सेनामाथिको प्रत्याक्रमण तीव्र बनाए छन् । ओडेसा, माइकोलाइभ र चेर्नोमोस्क बन्दरगाहहरूले अझै पनि तिनको काम सुचारु राखेका छन् ।
तर रुसले कृष्ण सागरबाट नाकाबन्दी सुरु गरेर युक्रेनी अन्न बाहिरिन सकेको छैन । व्यापारिक ढुवानीलाई बन्दरगाह प्रयोग नगर्न चेतावनी दिइएको छ ।
बन्दरगाहतर्फ जाने बाटोमा समुद्री बारुदी सुरुङ राखिएको छ भने कृष्ण सागरको सम्पूर्ण क्षेत्रमा रुसी युद्धपोत र लडाकु विमानहरूलाई निरन्तर गस्तीमा राखिएको छ ।
रणनीतिक महत्त्वको स्नेक आइल्याण्ड
यो नाकाबन्दीको मुख्य भूमिका स्नेक आइल्याण्डले निभाइरहेको छ । युक्रेन र रोमानियाको तटबाट ४८ किमी टाढा रहेको यो सानो टापुलाई युद्धको सुरुवाती दिनहरूमा रुसले कब्जा गरेको थियो ।
रणनीतिक अवस्थितिका कारण यस टापुबाट युक्रेनको कब्जामा रहेको बाँकी तीन बन्दरगाहहरूको पहुँचलाई नियन्त्रण गर्न सकिन्छ । यसले रुसले टापुको प्रतिरक्षा थप सबल बनाएको छ ।
युक्रेनसँग नौसैनिक छैन भन्दा पनि हुन्छ । यसै कारणले युद्धका सुरुवाती दिनमा रुसी युद्धपोतहरू निस्फिक्री तटीय क्षेत्रमा सञ्चालित भएका थिए । अप्रिल १४ मा युक्रेनको मिसाइलले मोस्कभा डुबाएपछि यो स्थिति परिवर्तन भयो ।
रुसी नौसेनाको गौरव रहेको सो शक्तिशाली युद्धपोत ओडेसाबाट लगभग ९६ किमी टाढा रहँदा नेप्च्युन एन्टी–शिप क्रुज मिसाइलहरूको प्रहारका कारण डुब्यो । नेप्च्युन क्रुज मिसाइल युक्रेन पुरानो रुसी डिजाइन पछ्याएर आफैले बनाएको थियो ।
मोस्कभा डुबेपछि रुसी नौसेना सतर्क भएर युक्रेनी तटमा रहेको आफ्ना युद्धपोतहरू फिर्ता गर्न थाले । त्यसपछि स्नेक आइल्याण्डले महत्व झन् बढेको छ ।
अहिले रुसले टापुलाई उन्नत हातहतियारबाट सुसज्जित गरिएको छ । यस स्थितिमा युक्रेनी सेनाको लागि टापुमा तैनाथ रुसी फौजलाई हटाउनु धेरै कठिन लक्ष्य हो ।
लामो दूरीको तोप र एस–४०० जस्ता आक्रामक प्रणालीको अपेक्षित आगमनले रुसलाई कृष्ण सागरको उत्तर–पश्चिम भागको अतिरिक्त युक्रेनको दक्षिणमा आकाशमा प्रभुत्व जमाउन सहयोग गर्नेछ । टापुमा तोप राखेपछि त्यहाँबाट जमिनमा रहेका लक्ष्यहरूमाथि पनि आक्रमण गर्न सकिन्छ ।
स्नेक आइल्याण्डको रणनीतिक स्थितिको बारेमा जानकार युक्रेनी सेनाले टापूमाथि आक्रमण जारी राखेको छ । यस क्रममा उसले रुसका केही हतियार र स्थानमा गम्भीर क्षति पुर्यायो । रसियाको अझै पनि स्नेक आइल्याण्डको नियन्त्रण छ र त्यसले युक्रेनलाई ठूलो नोक्सान पुर्याएको छ ।
नौसेना रणनीतिमा परिवर्तन
युक्रेनले जुन २० मा अमेरिका निर्मित रकेट प्रयोग गरेर क्राइमियाको तटमा रहेको तेल प्लेटफर्मलाई हवाई हमला गर्यो । त्यसबाट संयन्त्र नराम्ररी क्षतिग्रस्त भएको छ । यो युक्रेनको निशानामा पर्ने सबैभन्दा ठूलो रुसी संरचना हो ।
युक्रेनले रुसी सेनाको ध्यान धेरै स्थानमा छिरल्ने प्रयास गरिरहेको छ । युक्रेनको सम्भावित निशानामा क्राईमिया टापुलाई बाँकी रुससँग जोड्ने कर्च पुल पनि रहेको बताइन्छ । यसले गर्दा रुसी सेनाले पुलको प्रतिरक्षामा थप खर्च गर्नुपरेको छ ।
एकातर्फ रुसी आक्रमण बढिरहेको छ भने अर्कोतर्फ रुसले पनि उन्नत हतियार प्रयोगमा ल्याउन थालेको छ । विशेषतः व्यावसायिक जहाजलाई युक्रेनी नियन्त्रणमा रहेका बन्दरगाह जान नदिने उसले यी हतियार प्रयोग गर्न थालेको छ ।
बन्दरगाहहरूको प्रवेशद्वारमा समुद्री बारुद बिछ्याइएको छ, विशेषतः ओडेसा बन्दरगाह नजिक धेरै बारुद ओछ्याइएको छ ।
तैरिरहेको बारुदहरू दक्षिणमा बोस्फोरससम्म बगेर पुगेका पाइएको छ । तिनलाई टर्कीस सेनाले डिफ्युज गरेको छ र उसले छिट्टै द्वन्द समाधानको उपाय खोज्न आग्रह गरेको छ ।
कृष्ण सागरको अधिकांश हिस्सा नियन्त्रण गर्ने टर्कीका लागि सागर चासोको विषय मानिन्छ ।
कृष्ण सागरबाट भूमध्यसागरमा पुग्ने एकमात्र जलमार्गमाथि समेत टर्कीको नियन्त्रण भएकाले उ यस क्षेत्रमा रणनीतिक खेलाडी बन्न सकेको छ ।
विश्वभर खाद्यान्न उत्पादनका लागि अत्यावश्यक बिउ निर्यातमाथिको नियन्त्रण खुलाउने प्रयासका लागि युक्रेनका बन्दरगाह पुग्ने सुरक्षित मार्ग खोल्ने विषयमा छलफल गर्न टर्कीस सैन्य प्रतिनिधिमण्डल मस्को भ्रमण गर्दैछ ।
युक्रेनमाथिको रुसी आक्रमणले खाद्य सङ्कट बढ्ने आशङ्का छ र यसलाई जलवायुको ढाँचाले थप असर पुर्याउने आशङ्का छ ।
यसबीच, रुसी क्षेप्यास्त्रहरूले युक्रेनको आर्थिक पूर्वाधारमा निरन्तर प्रहार गरिरहेका छन् र माइकोलाइभमा रहेका खाद्यान्न भण्डारमा नराम्ररी क्षति पुगेको छ । यसले युक्रेनको ठूलो मात्रामा खाद्यान्न आपूर्ति गर्ने क्षमतामा बाधा पुर्याएको छ ।
नौसेना युद्ध, बन्दरगाह पुग्ने मार्गमा राखिएका बारुदी सुरुङ र रणनीतिक स्थानमा आक्रमणमार्फत रुसले युक्रेनको आयस्रोत रोक्ने र औद्योगिक युद्ध लड्न आवश्यक कच्चा पदार्थ र कोषमाथिको पहुँच निष्फल बनाउने प्रयास गरेको छ ।
सन् २०२० मा युक्रेनले ५२।२ अर्ब डलरको सामान निर्यात गरेकोमा अहिले त्यसमा नराम्ररी असर पुगेको छ । युद्ध लम्बिने सम्भावनामाझ रकम चाहिने बेलामा युक्रेनको आयको मार्ग बन्द गर्ने प्रयासमा छ रुस ।
युक्रेनमा प्रमुख बालीहरू केही हप्तामा काटिने छ, जसले गर्दा पनि उसले अहिले व्यग्रता देखाइरहेको छ ।
युक्रेनी खाद्यान्न निर्यातका लागि बाल्टिक बन्दरगाहसम्म पुग्ने वैकल्पिक मार्गहरूमा विचार भईरहे पनि त्यहाँ पुग्न सडक मार्ग प्रयोग गर्नुपर्छ । र सडक मार्गबाट ठूलो परिणामको ढुवानी सम्भव पनि हुदैन ।
एउटा कन्टेनर जहाजले ५० वटा भरी रेल बराबर सामान बोक्छ । विश्वव्यापी व्यापारको कम्तीमा ८० प्रतिशत हिस्सा समुन्द्रबाट हुने भएकाले कृष्ण सागरका बन्दरगाहमाथिको नियन्त्रण अत्यावश्यक छ ।
अन्तर्राष्ट्रिय दबाबको बाबजुद युक्रेनको अत्यावश्यक व्यापारिक रुटमाथिको रुसको पकड कम हुने सङ्केत देखिँदैन ।
नाकाबन्दीको प्रभाव युक्रेनमा मात्रै नभई विश्वभर नै महसुस भइरहेको छ । पछिल्लो समय सबैतिर आधारभूत खाद्यवस्तुको माग र मूल्य दुवै निरन्तर बढिरहेको छ ।
युक्रेनको खाद्यान्न काट्ने सिजन आइरहँदा यसका अधिकांश सक्षम जनशक्ति जनसङ्ख्या लडाइँमा छन् । त्यसमाथि देशको कृषि पूर्वाधारमा निरन्तर आक्रमण भइरहेको छ ।
युक्रेनले रुससँगको युद्धलाई निरन्तरता दिन आवश्यक पर्ने रकमको स्रोत ‘निर्यात’को सम्भावना कम हुँदै गएको छ । रुसले चाहेको पनि यही हो ।
स्रोत : अलजजिरा