लमजुङ । लमजुङमा पहिलोपटक आयोजना गरिएको प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ । फाइनल खेलमा मिनाङ लाङ्घाली बेसीसहर नगरपालिका २ लाई ३–० गोलले हराउदै एक्स–गोर्खा कास्कीले उपाधि जितेको हो । उपाधिसहित एक्स गोर्खाले ३० हजार पुरस्कार जितेको छ ।
प्रतियोगितामा उपविजेता मिनाङ लाङघाली बेसीसहरले १५ हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट किप्पर एक्स–गोर्खाकी झरना राई, सर्वाधिक गोलकर्ता मिनाङ लाङ्घालीकी सम्झना शर्मा र उत्कृष्ट खेलाडी बाघेताकी मनिषा थापामगर घोषित भएका छन् । उनीहरूले जनही एक हजार पुरस्कार पाएको आयोजक लमजुङ फुटसलका संचालक केशबहादुर रानाले बताए ।
प्रतियोगितामा लमजुङसहित काठमाडौं, कास्की र तनहुँका गरी ८ टिमको सहभागिता रहेको थियो ।
जिल्लामा पहिलो पटक हाम्रो गोल–महिला हिंसा विरुद्धको बोल भन्ने नाराका साथ प्रथम महिला फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।