पेट्रोलियम अन्वेषणका लागि यी तीन स्थान छनौट, सेप्टेम्वरबाट ड्रिलिङ हुने

banner

_109660441_dailekh-jwalamai-bbc-jpg-2

काठमाडौं । वर्षौँदेखि ग्याँस बलिरहेको र पादुकास्थानमा रहेको खोलामा तेल तैरिएको देखिनुले उक्त स्थानमा तेल रहेको प्रमाणित भएको सरकारी भनाइ छ। तर त्यहाँ कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुरा भने यकिन हुन सकेको छैन।

यसपालिको चिनियाँ टोलीको भ्रमण त्यही कुरा पत्ता लगाउनका लागि स्थान छनोट गर्न र उक्त स्थानसम्म आवश्यक पर्ने उपकरण पुर्‍याउनका लागि सडक पूर्वाधारको अवस्था यकिन गर्न लक्षित रहेको बताइएको छ । चिनियाँ टोलीले यसअघि नै तीनवटा सम्भावित स्थान छनोट गरेकामा यसपालि कुन स्थानमा ड्रिल (जमिन मुनिसम्म खन्ने) भन्ने कुरा यकिन गरेको छ।

खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार ड्रिल गर्नका लागि यकिन गरिएको ठाउँ पादुकास्थान र श्रीस्थानको बीचमा अवस्थित छ । ‘पादुकास्थान भन्दा उत्तर पश्चिममा रहेको स्थानमा ड्रिल गर्ने यकिन गरिएको छ,’ नापितले भने। हालसम्म उक्त स्थानमा सतहमा भूकम्पीय सर्वेक्षण र म्याग्नेटो टेलोरिक सर्वेक्षण गरिसकिएको छ। त्यसमा आधारित रहेर सम्भावित ठाउँहरू चयन गरिएको हो।

तर एउटा स्थानमा मात्रै ड्रिलिङ गरेर निचोड भने निकाल्न नसकिने अधिकारीहरू बताउँछन् । त्यसका लागि कम्तीमा तीनदेखि चारवटा स्थानमा ड्रिल गर्न आवश्यक रहेको खानी तथा भू(गर्भ विभागका महानिर्देशक डा. सुधीर रजौरे बताउँछन्।

ड्रिल गर्ने कार्य कहिलेबाट सुरु हुन्छ ?
नेपालमा मनसुन सक्रिय रहेको अवस्थामा तत्काल ड्रिल गर्ने कार्य सुरु भने हुने छैन । तर यसपछिको चरणमा भने चिनियाँ अधिकारीहरू ड्रिलिङकै लागि नेपाल आउने अधिकारीहरू बताउँछन् ।

त्यसअघि सरकारले विभिन्न दायित्व पूरा गर्नुपर्ने हुन्छ । त्यसमा दैलेखसम्म उपकरण पुर्‍याउनका लागि सडक पूर्वाधार तयार पारिदिने, भार धान्न नसक्ने पुल छन् भने कसरी व्यवस्थापन गर्ने भन्ने विषय टुङ्गोमा पुर्‍याउने, विद्युत् पहुँच स्थापित गर्ने, निजी जग्गा भए अधिग्रहण र सरकारी जग्गा भए प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया लगायतका विषयमा सरकारले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

अन्वेषण स्थल खोलाको बगरमा रहेको र त्यहाँ आसपासमा बाक्लो बस्ती नरहेकाले जग्गा प्राप्तिमा धेरै समस्या नहुने बुझाइ अधिकारीहरूको छ । ‘हाम्रो लक्ष्य चारदेखि पाँच महिनामा (सबै काम) टुङ्ग्याएर ड्रिल गर्ने कार्य सेप्टेम्बर अक्टोबरबाट सुरु गर्ने हो,’ नापितले भने । पछिल्लो भूकम्पीय अध्ययनका अनुसार यकिन भएको स्थानमा ३,५ सय देखि ४ हजार मिटर गहिरो ड्रिल गर्नुपर्ने हुन सक्छ।

हाल अन्वेषणकै चरणमा रहेकाले व्यवसायीकरण रूपमा उक्त स्थानमा पेट्रोलियम उत्पादन गर्न सकिने÷नसकिने विषयबारे भने केही भन्न सकिने अवस्था नरहेको अधिकारीहरू बताउँछन् । अधिकारीहरूका अनुसार पेट्रोलियम अन्वेषणका लागि ६० टन सम्मका उपकरण दैलेख पुर्‍याउनुपर्ने हुन सक्छ।

दैलेखसम्मको बाटोमा रहेका कतिपय पुलले त्यति भार धान्ने÷नधान्ने विषयमा स्पष्टता नरहेको नापित बताउँछन्। त्यसका लागि सडक विभागसँग छलफल गर्ने तयारी गरिएको उनले जानकारी दिए । खासगरी ठूला पुलमा गाडीको भार पूर्ण रूपमा पर्ने हुँदा त्यसमा थप स्पष्टता खोज्नुपर्ने आवश्यकता उनले औँल्याए ।

कहाँ कहाँ छ इन्धनको सम्भावना ?
विगतमा नेपालका विभिन्न स्थानमा पेट्रोलियम अन्वेषणको कार्य अघि बढाइएको भए पनि हाल त्यो कार्य दैलेखमा मात्रै सीमित छ। नेपालको दक्षिणी भाग, चुरे र महाभारत आसपासको क्षेत्रमा पनि पेट्रोलियम हुनसक्ने सम्भावना औँल्याइएको छ।

विगतमा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् पेट्रोलियम कम्पनीहरूलाई अन्वेषणको कार्य अघि बढाइएको थियो । २०४५ सालमा मोरङको बाहुनीमा ३,५ सय मिटरसम्म ड्रिल गर्दा त्यहाँ पेट्रोलियम पाइएन।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार