फस्टाउँदो सुन तस्करी, नाइके छुट्छन् भरियालाई जेल

banner

काठमाडौ, ९ चैतं । नेपालमा सुन तस्करीको इतिहास लामो छ । तर, दोषी पक्राउ परेर सजाय पाएकाृ विरलै । भन्सार छलेर सुन भित्र्याउन ठूलाबढाकै हात रहेको चर्चा चल्छ । बयानका लागि केही ठूला भनाउँदालाई पनि बोलइन्छ, अनुसन्धान गरेजस्तै देखिन्छ फेरि उस्तै भरीया पक्राउ पर्छन ठूला भनिएका उम्किन्छन वा उम्काइन्छ ।

अहिले यही सुन तस्करीमा पक्राउ परेका ठूला माछाको चर्चा छ । कसैले गृहमन्त्री रवि लामिछानेलाई जस दिएका छन् कसैले नेकपा(एमाले) लाई । प्रधानमन्त्री पुष्पकमल दाहालकै पार्टीका उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि बल्ल ‘ठूला माछा जालमा परेको धेरैतिरबाट प्रतिक्रिया आएको छ । सामाजिक सञ्जाल भरिएका छन् । पक्राउ परेर उपचारार्थ नर्भिक अस्पतालमा रहेका उनै महराले दिएको बयानले यसपटक पनि ‘माछो माछो भ्यागुता’ हुने संकेत देखिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरूले सरकारी वकिलको रोहबरमा दुई दिन महरासँग बयान लिएका हुन् । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले ७३० थान इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले उनलाई प्रश्न गरेका थिए । अनुसन्धान अधिकृतहरुसँग नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष समेत रहेका महराले चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्वीकारेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बयानमा उनले भनेका छन्– ‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन ।’ आफू राजनीति गर्ने हुनाले दिनमा धेरै जनाको फोन आउने र कुरा हुने गरेको महराले बताएका छन् । यही प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपतिका छोरा हिरासतमा छन् भने बर्तमान अर्थमन्त्री नन्दबहादुर पुनको परिवार पनि मुछिएको चर्चा चले पनि उनको परिवारसम्म प्रहरीको हात पुगेको छैन ।

नेपाल प्रहरीले दिएको एक तथ्यांक अनुसार बिगत १० वर्ष यता सुन तस्कर र भरिया गरी ५ सय बढी पक्राउ परेका छन् । सो समय अवधिमा प्रहरीले तातोपानी नाका, रसुवागढी नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतबाट भित्रिन लागेको करिब साढे ७ सय किलोजति अवैध सुन बरामद गरेको छ । यो त १० वर्षको मात्रै तथ्यांक हो । त्यस अघिको तथ्यांक त कति छ पत्तो छैन । यो त प्रहरीले पत्ता लगाएको मात्र हो, पत्ता लगाउनै नसकेको सुनको बारेमा कसलाई के थाहा ?

२०७४ अघिसम्म दैनिक ४५ केजी सम्म सुनको खपत हुने गरेको र अहिले घटेर १५ देखि २० केजीमा झरेको छ । यसकोे मुख्य कारणनै अवैध सुनको आयात भएको पाइएपनि यसको नियन्त्रण भने प्रभावकारी हुन सकेको छैन । अहिले पनि अबैध बाटो हुँदै सुन भित्रिरहेको छ ।

सुन तस्करीको इतिहास
‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ भन्ने नेपाली उखान त्यसै नेपालीको जनजिब्रो झुण्डिएको होइन् । नेपालमा वैध होस वा अवैध सुन ल्याउने मुख्य स्थान भनेको खासा नै भएको देखिन्छ । इतिहास हेर्ने हो भने तातोपानी नाका हुँदै नेपाल ल्याइएको अवस्थामा बाह्रविसेबाट ०५८ साल पुस २३ गते पहिलो पटक १ किलो सुन प्रहरीले बरामद गरेको थियो । त्यसयता सोही नाकाबाट भित्रिएको सुन विभिन्न परिमाणमा २७ भन्दा धेरै पटक बरामद भईसकेको छ । विस्तारै सुन तस्कर जस्केलाभन्दा मूल ढोकाबाटै छिर्न थालेको इतिहासले बताउँछ ।

विगतमा तस्करहरुले चीनको खासाबाट भित्रिने विभिन्न सामान र कपडाहरुमा लुकाएर नेपाल ल्याउने गरेको सुन प्रहरीले विभिन्न स्थानबाट बरामद गर्ने क्रमसँगै तातोपानी सुन तस्करहरुको ट्रान्जिट प्वाइन्टको रुपमा चिनिदै आएको थियो । ०७१ मंसिर महिनादेखि माघसम्म मात्र झण्डै ४५ किलोग्रामभन्दा वढी अवैध सुन तातोपानीबाटै बरामद भयो । २०७२ सालदेखि भने यदाकदा तातोपानी वा केरूङ नाकाबाट भित्रिएको सुन बरामत गरिए पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै ठूला मात्रमा अवैध सुन भित्रिएको प्रहरीको तथ्यांकमा देखिन्छ ।

तथ्यांक अनुसार आर्थिक वर्ष ०७१÷०७२ मा १११ केजी सुन बरामद भएको थियो । यस्तै ०७२÷०७३ मा ६८ किलो ५ सय ग्राम अवैध सुन बरामद भयो । वर्ष ०७३÷०७४ मा ९१ किलो ३ सय ८४ ग्राम, ०७४÷७५ मा १ सय ७९ किलो २ सय ४७ ग्राम र ०७५÷०७६मा आर्थिक वर्षको बैशाख मसान्तसम्म ८६ किलो ८ सय ५२ ग्राम अवैध सुन प्रहरीले बरामद गरेको थियो । ०७६÷७७ मा ३८ केजी र यस आर्थिक वर्षको पुष मसान्तसम्म ३० केजी सुन बरामद भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

सुन बरामदका मुख्य घटना सम्झने हो भने ०७५ फागुन २ गते कञ्चनपुरबाट १८ केजी अवैध सुन बरामद भयो । सोहि दिन सोहि ठाउँबाट थप ५ केजी ६ सय ग्राम सुन बरामद भयो । फागुन ३ गते रसुवाबाट ४ केजी अबैध सुनसहित एकजना पक्राउ परे । देशका विभिन्न नाकाहरुबाट हिजोआज सुन बरामद हुनु सामान्य जस्तै भइरहेको छ । २०७४ माघ अन्तिम साता दुबई हुँदै भित्रिएको यो सुन गायब पारिएपछि सुन तस्करीमा संलग्न चुँडामणि उप्रेतीले यातना दिंदा भरिया मोरङ उर्लाबारीका सनम शाक्यको ज्यान समेत गएको थियो । यस घटनाले ठूलै रूप लियो तीन दर्जन बढी पक्राउ पनि परे तर, ठूला सबै छुटे ‘गोरे’ भनिने ण्चुँडामणि उप्रेतीलाई मुख्य दोषी बनाइयो । उनी अहिले जेलमा सजाय भुक्तान गरिरहेका छन् । गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करी भएको विषय अहिलेको तरंग हो ।

सुन आयात बाध्यता
बहुमुल्य पहेंलो धातु सुन अहिलेसम्म नेपालमा उत्खनन भएको छैन । जसले गर्दा सुनका लागि नेपालले बाहिरी मुलुकको भर पर्नु परेको छ । र खरिदका लागि वर्षेनी अर्बौं रुपैयाँ विदेश पठाउनु हाम्रो बाध्यता रहेको छ । हुन त नेपालकै केहि ठाउँमा सुन खानीको सम्भाव्यता रहेको अनुमान गरिएको छ । तर त्यसको उत्खनन् गर्न भने धेरै पैसा र दक्ष प्राविधिक जनशक्तिको आवश्यक पर्छ । जुन नेपालको हैशियत भन्दा धेरै माथिको कुरा हो ।

अहिले सुन आयातमा सरकारले कडाई गरेको छ । यसमा लाग्दै आएको भन्सारमा पनि वृद्धि गरिएको छ । वैदेशिक रोजगारीमा जानेहरुले विगतमा विना भन्सार ५० ग्राम सम्मको सुन ल्याउन पाउने गरेको भएपनि अहिले यसलाई धेरै मात्रामा सीमित गरिएको छ । अहिले १० ग्राम भन्दा धेरै ल्याउन प्रतिबन्ध छ । तैपनि वैधानिक सुनको खपत नवढ्नुले अझै पनि अवैध सुनले बजार पाइरहेको प्रष्ट देखिन्छ ।
सुनमा वढेको तस्करीतन्त्रलाई कडाई गर्न सक्ने हो भने यसले समग्र देशको अर्थतन्त्रलाई माथि उठाउन सहयोग गर्नेछ । अवैध सुन रोक्न सके वैधानिक सुनको स्थान उच्च रहन सक्नेछ । यतातिर सरकार र प्रशासनको ध्यान जाने हो भने अवैध सुनको परिमाण घटाउन उल्लेख्य सहयोग पुग्नेमा दुईमत रहन्न ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार