काठमाडौं, १२ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया दोहोरो नागरिकतालगायतका प्रकरणमा पक्राउ परेसंगै केही नेपाली कांग्रेस निकटकै व्यक्तिहरू द्वारा संसदका महासचिव पद्मप्रसाद पाण्डेयमाथि नियोजितरूपमै हिलो छ्याप्ने प्रयास भइरहेको पाइएको छ । सर्वोच्च अदालतले क्लिन चिट दिईसकेको विषयमा महासचिव पाण्डेयको पुरानो नागरिकताको विषय उल्टाएर हिलो छ्याप्ने काम भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताउनु भएको छ ।
आफ्नो फेसबुक एकाउण्टमा स्टाटस लेख्दै सल्लाहकार अधिकारीले भनेका छन् ‘ गृहमन्त्रीले कान्तिपुर अध्यक्षका विरुद्ध प्रतिशोध गरे भन्ने नेताहरू र केही सञ्चारकर्मीहरूले संसदका महासचिवविरुद्ध प्रतिशोध सुरु गरेका छन् । थाहा भएरै प्रतिशोधपूर्ण अभिव्यक्ति र लेखनी उतार्नेले अनेक तर्क गर्ने नै भए । कदंकदाचित विपक्षी दलका माननीयजीहरूलाई थाहा रहेनछ भने थाहा होस् भनेर आदेश पनि राखिदिएको छु ।’
अधिकारीले राखेको लिंक खोल्दा कान्तिपुरमै १४ फागुन २०८० मा लेखिएको ‘पुरानै नागरिकता प्रयोग भएकाले महासचिव पाण्डेयको नियुक्ति बदर गर्नु परेन ः सर्वोच्च ’ भन्ने शिर्षकको समाचार देखिन्छ । जसमा लेखिएको छ ‘सर्वोच्च अदालतले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय सुरुकै नागरिकताका आधारमा संघीय संसद्को महासचिव भएकाले नियुक्ति बदर गर्न नहुने आदेश जारी गरेको छ । पाण्डेयले नागरिकता कानुनको उल्लंघन गरी उमेर घटनाएर नागरिकता लिएको र उक्त नागरिकता दुरुपयोग गरेको भनेर त्रिलोकबहादुर चन्द, अमृत खरेल, अनिल आचार्यलगायतले दायर गरेको रिट सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले दरपीठ गरिदिएका थिए । उक्त दरिपीठविरुद्ध इजलासमा दायर रिटको सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालले पाण्डेयको नियुक्ति बदर गर्नुपर्ने अवस्था नदेखिएको आदेश जारी गरेका हुन् ।’
केही दिनअघि मात्र कांग्रेस सांसद धनराज गुरुङले आफूले रातो पासपोर्ट बेचबिखन गरेको भनी लागेको आरोप २०६४ सालमै सर्बोच्च अदालतबाट टुंगिसकेको र सफाइ पाइसकेको भन्दै सो विषय गृहमन्त्रीले संसदमा उठाएकोमा अवहेलनामा कारवाहीको माग गर्दै सभामुखसमक्ष निवेदन दिनुभएको थियो । अब संसदको महासचिवलाई यसरीनै अदालतले पहिल्यै टुंगो लगाएर क्लिन चिट दिईसकेको विषयमा कुरा उप्काउँदा कांग्रेस सांसदलाई कारवाही किन नगर्ने भन्ने प्रश्न उब्जिएको छ ।
जबकी गृहमन्त्रीले रातो पासपोर्टको प्रसंगमा धनराजको नाम लिनु भएको थिएन । एकातिर अदालतबाट टुंगिएको विषय उठाएको भनेर गृहमन्त्रीमाथि कारवाही माग गर्ने कांग्रेस नेताहरुले अर्कोतिर अदालतबाटै टुंगिएको संसदका महासचिवको विषयलाई सिरोहियासँग जोडेर कारवाहीको माग गर्नुले दोहोरो चरित्र उदांगो भएको सचिवालयका एक उच्च अधिकारीले बताउँछन् ।
शुक्रवार संसद भवन बाहिर उभिएर कांग्रेस महामन्त्री तथा सांसद विश्व प्रकाश शर्माले पनि पाण्डेयको नाम नलिई सभामुखकै छेउमै बस्ने व्यक्तिका पनि २ वटा नागरिकता रहेको भन्दै कारवाहीको माग गर्नुभएको थियो ।
हेर्नुहोस् सर्वोच्चको फैसला