सहकारी ठगी प्रकरण : चिसै पानीले नुहायो कांग्रेसले, व्यक्ति केन्द्रीतभन्दा समस्या केन्द्रीत कार्यादेशमा सहमति

banner

काठमाडौं, १५ जेठ । अन्ततः सहकारी ठगी प्रकरणमा सत्तापक्ष हावी भएको छ । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति बनाउनु पर्ने माग राख्दै महिनौदेखि संसद अवरुद्ध गर्दै आएको प्रमुख विपक्षी कांग्रेस एक कदम पछि हट्दै समग्र सहकारी गठीका विषयमा छानविन गर्न सहमत भएको हो ।

कांग्रेस गृहमन्त्रीमाथि सहकारी ठगीको विषयमा छानविन हुनु पर्ने बताउदै आएको थियो भने सत्तापक्ष खासगरी नेकपा(एमाले)ले व्यक्ति केन्द्रीत छानविन गर्दा गलत नजिर बस्नेभन्दै समस्या केन्द्रीत भएर छानविन गर्न सकिने बताउदै आएको थियो । मंगलबार बसेको कार्यदलको बैठकले समस्याग्रस्त २९ सहकारीको नाम उल्लेख गर्दै छानविन गर्न ४ बुँदे सहमति गरेको छ ।

संसदीय समितिलाई तीन महिनाको समय दिइएको छ भने समितिमा ७ सदस्य हुने छन् । जसमा एमाले र कांग्रेसबाट २/२ जना सदस्य हुने छन् भने माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक एक जना हुने छन् ।

सङ्घीय संसदमा प्रमुख विपक्षी दल नेपाली काँग्रेस र अन्य विपक्षी दलका प्रतिनिधि सभाका सदस्यहरूले विगत केही समयदेखि मुलुकको वित्तीय प्रणाली र सहकारी क्षेत्रमा देखिएका समस्याका बारेमा उठाउनुभएका मुद्दा र कानून विपरीत बचतकर्ताहरूको बचत दुरुपयोग भएको भनी संसदीय छानबिन समितिको माग हुँदै आएको विषयमा अध्ययन गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरिएको छ।

समितिको कार्यक्षेत्र :

१. सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने।

२. समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने।

३. नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची(१ मा उल्लेख भएका संस्थाहरू लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने ।

४. सहकारी संस्था सदस्य ९शेयर धनी० एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुऱ्याएको भनी सङ्घीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैर कानुनी रूपमा प्रवाह भए(नभएको, र त्यस्तो गैर कानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार