बर्दिवास, २२ जेठ । मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन अब असम्भव भएको छ । आजका मितिसम्म साथ दिइरहेको नेकपा(एस)ले पनि मंगलबार साँझ समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत पाउन असम्भव भएको हो ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई संघीय सरकारबाट लगभग हटाएसंगै मधेशमा पनि एमाले –माओवादीले समर्थन फिर्ता लिएका थिए । यी दुई पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतम परेका मुख्यमन्त्री सरोज कुमार यादव नेकपा(एस)ले साथ दिने विश्वासमा थिए । त्यसैले उनले कांग्रेस २२, जसपा नेपाल १९, लोसपा ८ र नेकपा (एस) ७ गरेर बहुमत हुँदा आफ्नै सरकार टिक्ने आंकलनका साथ बुधबार विश्वासको मत लिनका लागि संसद बैठक डाक्न संसद सचिवालयमा पत्राचार गरेका थिए ।
तर, मंगलबार साँझ नेकपा(एस)ले समर्थन फिर्ता लिएपछि उनको विश्वासमा तुषारापात भएको छ । उनको विश्वासको उल्टो एमाले २४, जनमत १३, माओवादी ९, नेकपा(एस) ७ र नाउपा १ गरी ५४ सहज पुग्ने अवस्था आएको छ । १०७ मधेश प्रदेश सभामा सरकार बनाउनका लागि आवश्यक संख्या ५४ हो, जुन सत्तारुढ गठबन्धनले जुटाएका छन् । त्यसैले अब उनका सामु राजीनामा दिने वा विश्वासको मत अस्वीकृत भएर बाहिरिने दुई विकल्प मात्र बाँकी छन् ।
हुनत उनी संग अझै चार दिन बाँकी रहन्छ अर्थात सरकारलाई समर्थन गरेको कुनै पार्टीले समर्थन फिर्ता गरेमा ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । उनले विश्वासको मत लिने दिन धकेलेर चार दिन पर सार्न सक्छन् । तर चार दिन धकेल्दा पनि उनले विश्वासको मत पाउन सक्ने देखिदैन, त्यसैले उनले राजीनामाको बाटो रोज्ने अनुमान गरिएको छ । उनले भोली (बुधबार) राजीनामा दिए वा संसदको सामना गरेर अस्वीकृत भए लगत्तै प्रदेश प्रमुखले नयाँ सरकारका लागि दलहरूलाई आव्हान गर्नेछिन् ।
प्रदेश प्रमुखले आह्वान गरे लगत्तै आफूहरूसंग बहुमत रहेको दावी गर्ने गठबन्धनको योजना छ । गठबन्धनले जनमत पार्टीलाई मुख्यमन्त्री बनाउने योजनाका साथ तयारी अवस्थामा रहेका छन् । जे होस् अब शनिबारसम्ममा मधेश सरकारमा नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् । गठबन्धनबीच मन्त्रालय भागवण्डा लगभग टुंगिएको बताईएको छ ।