मधेशका सभामुखको सांसदहरूलाई रुलिङ – संसद चलिरहँदा मोवाइलमा गेम नखुल्नुस्

banner

जनकपुरधाम, ९ असार । मधेश प्रदेशसभा बैठकमा मोबाइल नचलाउन र गेम नखेल्न सभामुख रामचन्द्र मण्डलले रुलिङ गरेका छन् ।

मधेश प्रदेशसभामा मोबाइल निषेध छ । तर प्रदेश सांसदहरु छलफलमाभन्दा मोबाइलमा मस्त हुने गरेकाले आइतबार सभामुख मण्डलले मोबाइल नचलाउन, गेम नखेल्न रुलिङ गरेका हुन् ।

आइतबार दिउँसो प्रदेशसभामा स्थानीय सेवा गठन, सञ्चालन र सेवा सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भइरहेका बेला लोसपाका मनिष सुमनलगायतका नेता मोवाइलमा मस्त देखिएपछि सभामुख मण्डलले यस्तो रुलिङ गरेका हुन् ।

‘माननीय सदस्यहरु कि त मोबाइल स्वीच अफ गर्नुपर्‍यो, कि त साइलेन्ट गर्नुपर्‍यो । र मोबाइल चलाएर गेम खेल्ने लगायतको अन्य काम बन्द गर्नुपर्‍यो’, सभामुख मण्डलले भने ।

उनले यो रुलिङ् गर्नुपर्ने विषय नभएपनि रुलिङ गर्नुपर्ने अवस्था आएको बताए । ‘यो रुलिङ गर्नु पर्ने विषय होइन । तर मैले चाहिँ रुलिङ गर्नु परेको छ । त्यस कारण यसलाई गम्भीरतापूर्वक लिइदिनु होला’ सभामुख मण्डलले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार