बर्दिवास , ११ असार । बर्दिवास नगरपालिकाको चौथो नगरसभामा सोमबार पुरानै ९ प्राथमिकता दोहोर्याउदै नीति तथा कार्यक्रम वाचन गरिएको छ । नगर प्रमुख प्रह्लाद क्षेत्रीले प्रस्तुत गरेको सो नीति तथा कार्यक्रममा बर्दिवास क्षेत्रकै मुख्य समस्या भने पुछारमा राखिएको छ ।
बर्दिवास क्षेत्रको अहिलेको मुख्य समस्या भनेको लागु पदार्थ दुर्व्यशन भएको अधिकांश स्थानीयको एक मत छ । तर, नीति तथा कार्यक्रममा लागु पदार्थको दुव्यशनबाट युवालाई मुक्त गर्न न ठोस कार्यक्रम न योजना उल्लेख गरिएको छ । आज हरेक दिन उज्यालो नहुँदै बर्दिवासका दुईसय बढी युवा सीमावर्ती भारतीय बजारमा देखिने गरेको स्थानीय बताउँछन् ।
शैक्षिक ‘हब’ बन्दै गएको बर्दिवास नगरमा अब बाहिरमा मानिस छोराछोरी राखेर पढाउन डराउन थालेका छन् भने स्थानीयले लागु पदार्थ दुर्व्यशनबाटै छोराछोरी जोगाउन अन्यत्र पठाउन थालेका छन् । बर्दिवासका लागि विकराल समस्यामा रहेको लागु पदार्थ दुर्व्यशन नगरको पुछारको प्राथमिकतामा पर्नुले कतै मेयरनै यसलाइ प्रोत्साहित गरिरहेका छैनन् भन्ने आशंका उब्जिएको एक नगरसभा सदस्यले बताए ।
उत्पादनशिल, उर्जाशिल युवानै लागु पदार्थ दुर्व्यशनका कारण अल्पायुमै ज्यान गुमाइरहेका अवस्था, दुर्व्यसनले घर–घरमा उब्जिएको झगडा, अभिभावकहरूले खेप्दै आएका हैरानी, निरासालाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको उनीहरूको गुनासो छ । बर्दिवास नगरका लागि लागु पदार्थ दुर्व्यशनविरुद्धको कार्यक्रम प्राथमिकताको सूचिमा पहिलो हुनुपर्ने स्थानीयको माग छ । उनीहरू भन्छन् ‘जब अधिकांश युवाशक्ति लागु पदार्थमा लठ्ठिएको हुन्छ भने कसका लागि शिक्षा र स्वास्थ्य, सडक ?’
बर्दिवास नगर प्रमुखले सोमबार बाचन गरेको दुई वर्ष पुरानै कार्यक्रमको निरन्तरतामा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै बर्दिवास अस्पतालको सेवालाई स्तरीय बनाउने भनिएको छ । दुई वर्षदेखि नगरको प्राथमिकतामा पर्दै आएको बर्दिवास अस्पतालमा अहिले जीवनजलसमेतको अभाव छ । स्वास्थ्य जाँचका उपकरण छन् तर, बजेट अभावमा केमिकल नभएकालेभन्दै बाहिर पठाइने गरेको छ ।
हेर्नुहोस् भिडियो