विरुवा बेचेरै बार्षिक ५० लाखको कारोबार गर्छन् नारायण

banner

बर्दिबास, ३१ साउन । जाँगर र लगनशिलता भए धन कमाउन अन्त जानै पर्दैन भन्ने एक उदाहरण हुन् उनी । उनी अर्थात गौशाला नपा –१ इटाटारका नारायण श्रेष्ठ । नारायण तीन विघा जमिनमा नर्सरी लगाएर बार्षिक सरदर ५० लाखको कारोवार गरिरहेको बताउँछन् ।

महोत्तरी जिल्लाकै पहिलो नर्सरी मानिन्छ नारायणको फलफूल नर्सरीलाई । २०४५ सालमा १० धुरबाट नर्सरी लगाउन सुरु गरेका उनकोे अहिले ३ बिघा जमिनमा फैलिएको छ । यो ३ विघा आफ्नै स्वामित्वको जमिन भएको उनले बताए । २०४५ सालमा १० धुरमा लगाएको र्नरीबाट १० हजार चोखो कमाई भएपछि आफू यो पेशामा पल्किएको उनी धक नमानी बताउँछन् ।

ब्यवस्थापन विषयमा स्नातक गरेपछि लगत्तै बिबाह बन्धनमा बाँधिएका श्रेष्ठले नर्सरी लगाउने, त्यसको हेरचाह गर्ने सिप पनि आफ्नै जेठानुबाट सिकेको बताए । उनी भन्छन् ‘जेठान नकटाझिँज कृषि फर्ममा बागबानी सुब्बा हुनुहुन्थ्यो । उहाँकै हौसला, प्रेरणाले यो पेशा सुरु गरेको हुँ ।’ ससुरालीले दिएको जमिनमा ससुरालीकै प्रोत्साहनमा सुरुगरेको पेशाले अहिलेसम्म पछि फर्केर हेर्नु नपरेको उनी बताउँछन् ।

यही नर्सरीको कमाईले एउटा छोरा डाक्टर अर्को आईटी इञ्जिनीयर बनाएका उनले छोरीहरूलाई पनि शिक्षित बनाएरै बिबाह गरिदिएका छन् । उनको नर्सरीमा गलभग सबै जातका आँपलगायतका अन्य फलफूल पाइन्छन् । बर्षाको सिजनमा एकैछिन फुर्सत हुँदैन उनलाई । उनले यो नर्सरीमा बाह्रै महिना सरदर ४ जनालाई रोजगारी दिएको उनले बताए ।

नर्सरीका सबै काम आफै गर्न सकिदैन । काम गर्ने मान्छे पाउन गाह्रो छ । गाउँघरमा काम गर्नसक्ने उमेर भएपछि सबै विदेश जाने लहड चलेको छ । यहाँ जति दिन्छु भने पनि विदेशैतिर बल गर्ने गरेका उनले सुनाए । विदेशमा बगाउने पसिना आफ्नै देशमा बगाए यहाँ पनि बिदेशभन्दा कम कमाई हुँदैन भन्छन् उनी । ‘विदेशमा अर्काको जजिनमा बगाउने पसिना यहीँ बगाए आम्दानी पनि हुन्छ मातृभूमिको सेवा पनि । मत भन्छु किन बिदेश जाने ? ’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार