रातुखोला उत्खनन्को वास्तविकता र बजार हल्ला

banner

बर्दिवास, १७ भदौ । रातुखोलाको उत्खनन्को विषयमा जसरी श्याल हुईयाँ चलाइएको छ वास्तविकता ठिक विपरित पाइएको छ । हात्ति डुब्ने ठूल्ठूला खाडलको फोटो, भिडियो सामाजिक सञ्जालदेखि अदालतसम्म पु¥याइएको छ ।

हो ! रातु खोलाको अलोकन गर्दा कतिपय ठाउँमा ती झण्डै हात्तिनै डुब्ने खालका खाडल नभएका पनि होइनन् । तर, ठूला खाडल सबै चार÷पाँच वर्ष अघिका पुराना रहेको पाइएको छ । खाडलको पिँधमा जमेको पानीमा लेउ लागेको, खाडलको तलदेखि माथिसम्मै काँस÷ खर पलाएको प्रष्ट देखिने भएकाले खाडल पुरानै हो भन्न जो सुकैलाई कर लाग्छ । तर , यो सबै बर्दिवास नगरपालिकाका वर्तमान मेयर प्रह्लादकुमार क्षेत्रीको पालामा खनेको भनेर श्याल हुँइयाँ चलाइएको छ ।

मेयर क्षेत्री भन्छन् ‘मेरो पालामा त मुद्दा परेर उत्खनन् नै रोक लाग्यो । ठेक्का लागेको केही समय मात्र नदीजन्य पदार्थ निकाल्न पाइएको हो । मेरो कार्यकालमा म एक महिना बाहिर हुँदा एक ठाउँमा तोकिएको मापदण्डभन्दा बढी खनिएको रहेछ’ उनी अगाडि भन्छन् ‘पहिले जिल्ला विकास समितिले खोला ठेक्का लगाउथ्यो । त्यतिबेलाको खाडल पनि अहिले मेरो थाप्लामा हालेर कुप्रचार गरिएको छ ।’
बर्दिवास नपा – ७ का क्रसर व्यवसायी सन्तोष यादवको भनाई पनि मेयर क्षेत्रीसंगै मिल्दो जुल्दो छ । ‘जति बेला ढुङ्गा, गिट्टी, बालुवा इन्डिया निकासी खुला थियो, त्यति बेला अन्नाधुन्न खोला उत्खनन् गरियो’ उनी भन्छन् ‘धेरैजसो ठूला खाडल त त्यतिबेलैका हुन् ।’ अहिले सर्वोच्च अदालतको आदेशले नै खोला उत्खनन्मा अन्तरिम आदेश जारी भएको छ । सुनुवाईका लागि असोज ६ गते तोकिएको छ ।

जरिवानाबाट उठ्यो ११ लाख
उत्खनन्मा रोक लगाएपछि नगरपालिकाले नै कडाई गरेको छ । यसबीचमा चोरी उत्खनन् गर्नेलाई कारवाहीस्वरूप जरिवाना गरेर ११ लाख १९ हजार राजश्व संकलन गरिएको बर्दिवास नगरपालिका श्रोतले जनाएको छ । श्रोतका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा बर्दिवास नगरपालिकाले लुकीछिपी नदीजन्य पदार्थ उत्खनन् गर्ने ३५ ट्र्याक्टर, २० टिपर, ४ जेसिवीलाई जरिवाना गर्दा उपरोक्त रकम राजश्व उठेको हो ।

मेयर क्षेत्रीको पालामा के भएको हो ?

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहका सीमाभित्र रहेका प्राकृतिक श्रोतको संरक्षण, सम्वद्र्धन र उपयोगको अधिकार सम्वन्धित स्थानीय तहलाई दिएको छ । सोहीअनुसार बर्दिवास नगरपालिकाले आफ्नो सीमाभित्र रहेको रातु खोलालाई ४ खण्डमा विभाजित गरी ढुङ्गा, गिट्टी, बालुवा निकासीका लागि ठेक्का लगाएको हो ।

बर्दिवास नगरपालिकाका अनुसार पहिलो खण्ड किसाननगर –६ मा आईइई प्रतिवेदनअनुसारकै असार ३० गतेसम्ममा ८० हजार १५१ घनमिटर ढुंगा, गिट्टी र बालुवा निकासी गर्न पाउने गरी विष्णुदेव कन्ट्रक्सन एण्ड सप्लायर्सलाई भ्याटबाहेक १ करोड ८२ लाखमा ठेक्का लगाएको छ । दोश्रो खण्ड जुरेटोल खण्डको पनि सोही कन्ट्रक्सनलाई ८० हजार ११५ घनमिटर निकासी गर्न पाउने गरी १ करोड ८० लाखमा ठेक्का लगाएको छ । तेश्रो खण्ड फुलवारीटोल खण्डमा पनि सोही कन्ट्रक्सनलाई ६७ हजार २८८ घनमिटर निकासी गर्न पाउने गरी मुअकबाहेक एक करोड ५१ लखमा ठेक्का दिएको छ भने पथलैया खण्डमा राजेश एण्ड ब्रदर्स निर्माण सप्लायर्सलाई ६७ हजार १२६ घनमिटरको एक करोड ३० लाख ९९९ मा ठेक्का लगाएको छ ।

गत माघमा जिल्ला समन्वय समिति, जिल्ला अनुगमन समिति, बर्दिवास नगरपालिका, ठेकेदार कम्पनी र प्राविधक टोलीको संयुक्त अनुगमनमा उत्खनन् भएका ठाउँमा दुई स्थानका खाडल तोकिएकोभन्दा केही बढी देखिए पनि परिणाम भने धेरै कम रहेको देखाएको थियो ।

अनुगमनमा पहिलो खण्डमा ६७ हजार ५३ घनमिटर, दोश्रो खण्डमा ६७ हजार ६८२ घनमिटर, तेश्रो खण्डमा ४३ हजार ६२२ घनमिटर र चौथो खण्डमा २० हजार ९७३ घनमिटर उत्खनन् गर्न बाँकी रहेको देखाएको छ । अनुमगनका क्रममा तोकिएको १ मिटरभन्दा कम उत्खनन् गर्नु पर्नेमा दुई ठाउँमा सवामिटरसम्म उत्खनन् गरेकोबाहेक अन्य त्रुटी नपाइएको अवस्था रहेको बर्दिवास नगरपालिकाले सर्वोच्चमा निवेदनकासाथ पेश गरेको प्रमाणमा देखिएको छ ।

यी तथ्य र तथ्यांकका आधारमा ढुक्कले भन्न सकिन्छ मेयर क्षेत्रीकै अगुवाईमा रातु खोलाको अवैध दोहन भयो भन्नु मिथ्या हो । प्रायोजित हो र श्याल हुँइयाँ हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार