पढाई खर्च जुटाउन ऊखुको जुसको व्यापार

banner

बर्दिवास । ‘आज बुवाको काम परेकाले स्कूल नगई व्यापार गर्न आएको हो । अहिलेसम्म तीन हजारको व्यापार गरें ।’ पूर्वपश्चिम लोकमार्गको छेउ, होटल विश्वामित्रको अगाडि सोमबार दिउसो ३ वजे जुस चेच्दै गरेका बालकले भने ‘अरु दिन त स्कूल जान्छु ।’

गौशाला नगरपालिकाको वजार क्षेमै घर भएको बताउने रहिमन नदाफ पढाई खर्च जुटाउन पनि व्यापार गर्नु पर्ने वाध्यता रहेको बताउँछन् । आफू कक्षामा ६ मा अध्ययनरत् रहेको बताउँदै भने ‘म प्रायः स्कूल विदामा मात्र आउँछु । कहिलेकाँही मात्र आजको जस्तो विशेष परिस्थिति हुन्छ, नत्र पढाई छाड्दिन ।’

बर्दिवास बजारको दिन शनिबार र बुधबार चोकमा मानिसको बढ्तै भीडभाड हुने भएकाले यस्ता दिन ऊखुको जुसको व्यापार पनि फस्टाउने गरेको उनले सुनाए । ‘कहिलेकाँही त पाँच हजार पनि हुन्छ’ नदाफले भने । पहिले आफ्नो मात्र यसरी फुटपाथमा ठेलामा बेच्ने जुस व्यापार भए पनि अहिले लगभग आधा दर्जन भएको बताए ।

आफ्नो परिवारको आम्दानीको अन्य श्रोत नभएकाले घर खर्च र पढाई खर्च दुवै जुटाउने एक मात्र माध्यम यही जुस व्यापार भएको उनको कथन छ । अहिले बर्दिवासमै डेरामा बस्ने गरेको बताउने उनले आफ्नो पढाई पनि बर्दिवासमै सारेको बताए । नदाफले भने ‘गरीवले के बोर्डिङको सपना देख्नु, सरकारी स्कूलमा पढन पाउनु नै भाग्य हो ।’

नदाफजस्तै अर्का ऊखुको जुसका व्यापारी पंचलाल साह पनि दैनिक तीन हजार त मामुली आम्दानी हुने गरेको बताउँछन् । घरसंसार अगाडि जुस बेच्दै गरेका साह भने आफू तीन महिनादेखि मात्र बर्दिवासमा व्यापार गर्न आएको बताए । ‘ढल्केबरबाट हामी दुईटा ठेलावाला आउँछौं । दुवैजनाको यही व्यापार हो’ सिद्धार्थ बैंक अगाडिको फुटपाथ देखाउँदै साहले भने ‘अर्को साथी उ त्याँहा छ ।’

ठेला किन्न वा बनाउन ८ देखि १० हजार, ऊखु पेल्ने मेसिन किन्न लगभग २० हजार, जुस थाप्ने भाँडो ३०० जति खर्च भएको बताउँदै साहले भने ‘ऊखु ७०० को प्रतिक्विन्टल किन्नु पर्छ । केही कागजका र शिसाका ग्लास अनि मेसिनका लागि पेट्रोल ।’ लगभग ३५ हजारमा ऊखुको जुसको व्यापार मज्जाले गर्न सकिने उनको अनुभव छ ।

‘कतार, मलेशिया जानलाईजस्तो धेरै ऋण पनि लागेन । थोरै लगानीमा ठिकैको आम्दानी । कतार, मलेशिया पनि हामी नपढेकाले गर्ने मजदुरी त हो । यो त आफ्नै व्यापार हो । घरमा आफ्ना श्रीमती र छोराछोरीसंगै बसेर’ उनले दंग पर्दै भने ‘मेरो भिडियो पनि बनाई दिनु न !’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार