मधेशकै पहिलो सहकारीको २३ करोडको कारोवार

banner

बर्दिवास २६ भदौ । मधेश प्रदेशको सर्वोत्कृष्ट सहकारीको सम्मान पाएको बर्दिवास सहकारी संस्था लिमिटेडले आफ्नो कुल पुँजी २३ करोडको हाराहारीमा पुर्याएको छ । मंगलबार सम्पन्न सो संस्थाको १३ औं साधारणसभामा सो जानकारी दिइएको हो ।

साधारणसभामा वितरित सहकारीको प्रगति विवरणअनुसार यो संस्थाले निकै ठूलो फड्को मार्दै कारोवार स्वच्छताको हिसावले मधेशकै पहिलो हुने सौभाग्य पाएको उल्लेख छ । जम्मा ८९ जना शेयर सदस्यबाट कृषिविकास बैंकका अवकासप्राप्त कर्मचारी कृष्णबहादुर सिंहको पहलमा स्थापना भएको यो सहकारीको अहिले तीन हजार ५०० शेयर सदस्य रहेका छन् ।

गत आर्थिक वर्षको आर्थिक मन्दीमा पनि सहकारीले १३ प्रतिशत आर्थिक बृद्धिदर हासिल गरेको संस्थाका सचिव भवनाथ खसतवडाले बताए । संस्थाले चालु आ.व.मा २० प्रतिशत थप बृद्धिदर हासिल गर्ने लक्ष्यकासाथ अघि बढेको सचिव खतिवडा बताउँछन् । ‘मधेशकै पहिलो हुने सौभाग्य पाएकाले हामी उत्साहित भएका त छौं, तर धेरै हौसिएर लक्ष्य राखेका छैनौ’ खतिवडाले भने ‘अहिलेको कुल पुँजीमा २० प्रतिशत थप हासिल गर्ने लक्ष्य राखिनु बढी हौसिएको होइन ।’

संस्थाले प्रगति गर्नुमा सामुहिक नेतृत्व, शेयरधनीहरूको कारोवारमा निरन्तरको देखरेख र चासोले मुख्य भूमिका खेलेको सचिव खतिवडा बताउँछन् । मधेशकै पहिलो भएका कारण पाएको सम्मानले संस्थाको साख बढेका कारण त्यसलाई कायम राख्न चुनौती थपिएको उनको कथन छ । सहकारीले शेयरधनीलाई हौसला बढाउन हरेक वर्ष उत्कृष्ट, कारोवार गर्ने, उत्कृष्ट बचत गर्नेलाई साधारणसभामा सम्मान गर्ने गरेको छ ।

यसपटक पनि त्यस्ता १७ जना सदस्यलाई सम्मान गरेको थियो । सहकारीले शेयरधनीको हौसला बढाउन र सामाजिक उत्तरायित्वमा सहभागिता जनाउँन शेयरधनी परिवारका उत्कृष्ट छाछात्रालाई छात्रबृति पनि दिने गरेको छ । यस्तो छात्रवृतिलाई स्वच्छ र पारदर्शि बनाउन संस्थाले साधारणसभाकै अवसरमा वितरण गर्ने गरेको छ । छात्रबृति रकम सम्वन्धित शिक्षण संस्थालाई नभएर संम्वन्धित छात्राछात्रालाई साधारणसभामा देखाएरै नगदै दिनुले पनि संस्थाको स्वच्छता र पारदर्शितालाई उजागर गर्दछ ।

बर्दिवास नगरपालिकाले पनि यसक्षेत्रका सहकारीको स्वच्छता र पारदर्शिता देखेर सहकार्यको निमित्त हात बढाएको छ । बर्दिवास नगरपालिका सहकारी संस्थासंग मिलेर काम गर्न सधैं तयार रहेको नगर प्रमुख प्रह्लाद क्षेत्रीले बताए । १३ औं साधारणसभाको प्रमुख अतिथि रहेका प्रमुख क्षेत्रीले परियोजना प्रस्ताव लीएर आउन बर्दिवास सहकारी संस्थालाई जिम्मेवारी दिए । उनले भने ‘प्रस्ताव लीएर आउनुहोस् नगरपालिका सहकार्य गर्न तयार छ, यसको नेतृत्व बर्दिवास सहकारीले गरोस् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार