जलवायु परिवर्तनका असर वारे छलफल

समाचार

बर्दिवास, २७ भदौ । बर्दिवास नगरपालिकाको सहकार्यमा जलवायु अनुकूलनको क्षेत्रमा कामगरिरहेको एक गैरसरकारी संस्थाले बुधबार सरोकारवालासंग छलफल गरेको छ ।

सातै प्रदेशमध्ये गण्डकी र मधेशमा जलवायु परिवर्तन अनुकूलनका चुनौतीका वारेमा अध्ययन गरिरहेको सो संस्थाले बुधबार नगरपालिकाकै सभाकक्षमा स्थानीय सरोकारवालासंग छलफल गरेको हो । सो संस्थाले मधेशको पनि महोत्तरीको बर्दिवास, मिथिला र वटेश्वर पालिकालाई आफ्नो कार्यक्षेत्र बनाएको छ ।

छलफलमा जलवायु परिवर्तनले यस क्षेत्रमा परेको असर अनुकूलनका लागि स्थानीय पालिकाले गरेका काम, त्यसका चुनौती र अन्तरहरू बारे चर्चा गरिएको थियो । जलवायु परिवर्तन वैश्विक समस्या भए पनि त्यसबाट हुने क्षती कम गर्न अनुकूलनका योजना र कार्यक्रम आवश्यक रहेको छलफलको निष्कर्ष थियो ।

नेपालजस्तो देश जो जलवायु परिवर्तनको बढी क्षती व्यहोर्ने र कम हानी गर्नेले बढी हानी गर्ने देशबाट रोयल्टी पाउनु पर्ने विषय छलफलमा उठेका थिए । जलवायु परिवर्तनको असर सबैभन्दा छिटो देखिने हिमाल र समुद्र हुन् भन्दै छलफल कार्यक्रमकी प्रस्तोता एलिना खरेलले प्रकृतिका सबै चिजमा त्यसको असर परेको जनाइन ।

खरेलले मधेशमा पनि रसाइनिक मलको अत्याधिक प्रयोगले पर्यावरणमा असर परेको बताइन् । अत्याधिक रसाइनिक मलको प्रयोगले माटोमा कडापन आउँदा उर्वराशक्ति कम भएको मात्र होइन जैविकविविधतामा असर पुग्नाले पर्यावरणमा असर पुग्ने खरेलले जानकारी दिइन । मधेश पोखरीहरूको क्षेत्र पनि भएको बताउँदै अहिले मधेशका पोखरी मासिने क्रम तिब्र भएको उनले बताइन् ।

पानीको श्रोत सुक्दै जाँदा पोखरी मासिएको जानकारी दिदैं उनले जलवायु परिवर्तनलाई रोक्न वा त्यसको न्यूनिकरणभन्दा अब अनुकूलनतिर ध्यान केन्द्रीत गर्नु पर्ने बताइन् ।

जलवायु परिवर्तको असरबाट कसरी बच्ने भन्नेमा अब सबैको ध्यान जानु पर्ने बताउँदै उनले रसाइनिक मलको प्रयोगको सट्टा जैविक तथा प्रांगारिक मलको प्रयोग गर्नु पर्ने बताइन् । बालीनालीमा अत्याधिक रसाइनिक मलको प्रयोग, विषदीको प्रयोगले गिद्धजस्तो ‘प्रकृतिको कूचिकार’ मासिदैं गएकोमा चिन्ता गर्नु पर्ने खरेलले बताइन । हामीले सामान्यजस्तो लाग्ने कुरामा पनि पर्यावरणको दृष्टिले हेरेर काम गर्न थाल्यौं भने जलवायु परिवर्तनको क्षतीलाई कम गर्न सकिने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार