
बर्दिवास, १ मंसिर । समाजसेवी कृष्णप्रसाद देवकोटा ‘बर्दिवास वर्ष व्यक्ति २०८०’ बाट सम्मानित भएका छन् । ‘सबैका लागि हामी’ नामक गैरसरकारी संस्थाले शनिबार आफ्नो दोश्रो साधारणसभाको अवसर पारेर देवकोटालाई सो सम्मान अर्पण गरेको हो ।
देवकोटाले समाजसेवाको माध्यमले बर्दिवासमा पुर्याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै ‘बर्दिवास वर्ष व्यक्ति २०८०’ अपर्ण गर्ने निर्णय गरेको संस्थाले जानकारी दिएको छ । देवकोटालाई सो संस्थाको साधारणसभाका प्रमुख अतिथि महोत्तरी क्षेत्रनं. १ का निवर्तमान सांसद गिरिराजमणि पोखरेलले सम्मान पत्रसहित खाँदा परिर्याएर सम्मान गरेका थिए । अब हरेक वर्ष साधारण सभाको अवसर पारेर बर्दिवासका एक उत्कृष्ट समाजसेवीलाई ‘बर्दिवास वर्ष व्यक्ति’ बाट सम्मानित गर्ने संस्थाले घोषणा गरेको छ ।
बर्दिवासमा सर्प दंश उपचार केन्द्रका संस्थापक तथा हालसम्म सो केन्द्र सञ्चालक समितिका अध्यक्ष रहेका देवकोटा बर्दिवास स्थित रातु खोलामा निर्मित ‘मोक्ष धाम’ मा पनि मुख्य योजनाकार र निर्माणकर्ता हुन् । राजनीतिबाट टाढा रहेर समाजसेवामा तल्लिन देवकोटालाई गरिएको यो सम्मानका लागि ‘सबैका लागि हामी’ संस्थालाई सबैले सह्राहना गरेका छन् । सम्मनित व्यक्तित्व देवकोटाले पनि आगामी दिनमा राष्ट्रिय, अन्तराष्ट्रिय सम्मान तथा पुरस्कार पाएर यो सम्मानको ‘मान’ लाई अझ बढाउने बताएका छन् । उनले भने ‘यो सम्मानले मलाई थप उर्जा र साहस दिएको छ । मैले यसको ‘मान’ बढाउने गरी थप जाँरिलो हुनु पर्ने भयो ।’
प्रमुख अतिथि निवर्तमान सांसद पोखरेलले ‘सबैका लागि हामी’ भन्ने नाम जति राम्रो छ, सम्मानका लागि छनौट गरिएको पात्र पनि त्यतिनै राम्रो र सटिक भएको बताए । उनले सो संस्थाले दुई वर्षको अवधिमा गरेका कामको प्रशंसा गर्दै संस्थालाई एक भरोसा योग्य समाजसेवी संस्थाको छवि कायम राख्न सुझाव दिए । उनले भने ‘यस्ता संस्थाले सुरु, सुरुमा राम्रो काम गरेको देखिने र पछि गएर विकृति, विसंगति मौलाउने गरेको देखिएको छ । यो संस्था सबैको भरोसा योग्य संस्था बनोस ।’ आफू जनप्रतिनिधि रहँदा बर्दिवासलाई शैक्षिक हवको रूपमा विकास गर्ने योजना बनाएको सोअनुसार काम पनि गरेको जानकारी दिदैं नेकपा (माओवादी केन्द्र) का सचिवसमेत रहेका पोखरेलले शैक्षिक हबका लागि बर्दिवासका युवामा देखिएको लागुपदार्थ दुव्र्यसन बाधक भएको बताए । उनले संस्था आवद्ध युवालाई लागु पदार्थ दुव्र्यसनविरुद्ध र चुरे संरक्षणका क्षेत्रमा काम गर्न ध्यानाकर्षण गराए ।
सो साधारणसभाका विशिष्ट अतिथि बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खडकाले बर्दिवास शिक्षाको साथै पर्यटनको पनि प्रचुर सम्भावना रहेको बताए । यहाँको पुरातात्विक र धार्मीक सम्पदाको संरक्षण, सम्वद्र्धन र विकास गर्न सके देशकै प्रमुख पर्यटकीय क्षेत्र बन्न सक्ने आधारहरू रहेको जानकारी दिए । उनले बर्दिवासीको अवस्था आफ्नै नाभिमा रहेको कस्तुरी थाहा नपाएर भौतारिएर कुद्ने मृगको जस्तो भएको बताए । उनले भने ‘हामीसंग भएका कुरालाई संरक्षण, सम्वर्धन गर्न सके बर्दिवासको विकासलाई कसैले रोक्न सक्दैन ।’ पाटुमा रहेको ढुंगे युगका हतियार कारखाना, राईमण्डलका पुरातात्विक बस्तु, टुटेश्वरनाथ, पञ्चधुरा माइस्थान यस्ता सम्पदा हुन जसलाई हामीले विकास र बरारिकरण गर्नु पर्ने उनको भनाई थियो ।
संस्थाका अध्यक्ष रवि निरौलाको सभापतित्वमा भएको सो साधारणसभाको उद्घाटन शत्रमा पत्रकारहरूका तर्फबाट बर्दिवास नगर पत्रकार सञ्जालका अध्यक्ष गोपाल बराललेसमेत शुभकामना दिएका थिए । आफ्नो शुभकामना मन्तव्यमा पत्रकार बरालले सम्मान गर्नु पर्ने व्यक्ति छनौटमा संस्थाले देखाएको निश्पक्षता र परिपक्कताको प्रशंसा गरेका थिए । दुई वर्षका अवधिमा संस्थाले गरेको काम प्रशंसा योग्य भएको बताउदैं पत्रकार बरालले संस्थामा आवद्ध युवाहरूमा देखिएको समाजका लागि केही गरौं भन्ने हुट्हुटीको तारिफ गरे । उनले राम्रा कामका लागि बर्दिवासका सबै पत्रकार सहयोगि रहने प्रतिवद्धता जनाए ।
