सुनको भन्सार दर आधै घटाइयो, अब भाउ घट्ला ?

अर्थ/बाणिज्य

काठमाडौं, १० मंसिर । सरकारले सुनचाँदीमा लगाएको भन्सार दर स्वाट्टै घटाएको छ । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले सुनचाँदीमा लगाएको भन्सार दर घटाएको जानकारी दिए ।

उनले भने, ‘सुनको भन्सार दर घटाउने मन्त्रिपरिषद्कै निर्णय हो । उक्त निर्णय अनुसार विभागमा पत्र आएको थियो । आजैबाट लागू हुनेगरि दर घटाएका छौं ।’

उनका अनुसार सुनको भन्सार दर १० प्रतिशतमा झारिएको छ । यसअघि सुनको भन्सार दर २० प्रतिशत रहेको थियो । सरकारले बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत पुर्याएको थियो । तर, भारत सरकारले भन्सार दर घटाउँदा नेपालमा सुनको मूल्य महँगो र भारतमा सस्तो भएको थियो । यसले सुन तस्करी मौलाएको व्यवसायीहरूले नै बताउँदै आएका थिए ।

त्यस्तै, चाँदीमा लगाइएको भन्सार दर पनि घटाइएको छ । बजेटमार्फत १५ प्रतिशत पुर्याइएको भन्सार दर १० प्रतिशतमा झारिएको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार