भैंसी गोठमा रमाउँदै पूर्वमेयर कार्की, राजनीतिमा के सोच्दै छन् ?

banner

बर्दिवास, १२ मंसिर । बर्दिवास नगरपालिकाका पूर्वमेयर कार्की भैंसी गोठमा रमाइरहेका छन् । देशका अधिकांश पूर्व जनप्रतिनिधि राजनीतिलाईनै पेशा बनाएर हिडिरहेको अवस्थामा स्थानीय सरकारको नेतृत्व गरेर पाँच वर्ष विताएपछि कार्की भने भैंसी पालनमा दैनिकी गुजार्न थालेका हुन् ।

हुनत उनले मेयर छँदै भैंसी पालनप्रति रुचि देखाएका बुझ्न सकिन्छ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको भारत भ्रमणमा मुर्रा राँगा उपहारमा ल्याउँदा निकै चर्चा भएको थियो, तर त्यसअघि नै बर्दिवासका मेयर कार्कीले नगरपालिकाको पैसाले आफै भारतको गुजरात गएर पाँच थान मुर्रा जातका राँगा ल्याइसकेका थिए । त्यसमध्येको एउटा त अहिले उनकै गोठमा देख्न सकिन्छ ।

केहीदिन अघि सम्म उनको गोठमा २५ वटा गुजराती भैसी तिए, तर अहिले १५ वटा मात्र रहेका छन् । उनको गोठमा अहिले रहेका १५ थान भैंसी मध्ये ८ वटा लैना छन् । भैंसीको किनबेच भइरहने बताउने उनी भन्छन् ‘आज १५ वटा देख्नुभयो । २÷४ दिन पछि आउँदा २० वटा वा योभन्दा घटेको देख्नु हुनेछ ।’

अहिले आफूले दैनिक १०० लिटर दूध विक्रि गर्ने गरेको उनले बताए । दूध लिएर बजार बेच्न जानु नपर्ने जानकारी दिदैं उनले जनकपुरका डेरीवाला घरमै आएर दैनिक दूध लिएर जाने गरेको बताउँछन् । अहिले बर्दिवासका बजारमा दूधको विक्रि प्रतिलिटर १०० रुपैयाँ रहेको छ । गाउँघरमा योभन्दा अलि सस्तो ९० रुपैयाँ प्रतिलिटरमा खरिद विक्री हुने गरेको छ । तर, पूर्व मेयर कार्कीले जनकपुरका ती डेरीलाई ८० रुपैयाँ प्रतिलिटरमै दिने सम्झौता गरेका छन् ।

मेयर हुँदा कमाएको अवैध (ब्ल्याक) रकमलाई वैध (ह्वाइट) बनाउन देखाउनका लागि पूर्वमेयर कार्कीले भैंसी पालनको नाटकको मञ्चन गरेको आरोप लगाउनेहरू पनि प्रशस्त पाइन्छन् । तर उनी भने पहिले आफैले गाउँघर, इष्टमित्रसंग सर–सापट लिएर सुरु गरेर पछि बैंकसंग २३ लाख ऋण लिएर सापटी तिरेको बताउँछन् । उनले भने ‘बैंकसंग लिएको सापटी तिर्दै सकियो । फेरि ऋणका लागि बैंकको चक्कर लगाइरहेको छु ’ उनी थप्छन् ‘भन्नेको मुख कसले थुन्न सक्छ र ? म पाँच वर्ष करौडौ रकम चलाउन पाउने ठाउँमा थिएँ, उहाँहरूले शंका गर्न पाउनुहुन्छ ।’

उनी मेयर हुँदै यस क्षेत्रलाई दूधजन्य पदार्थ उत्पादनका लागि पकेट क्षेत्र बनाउन सकिने योजना बताउने गर्दथे । अहिले पनि उनी आगामी एक वर्षमै यस भेगमा हजारभन्दा बढी उन्नत जातका भैंसीको उत्पादन हुने बताउँछन् । आफू मेयर हुँदा ल्याएका राँगाले महिनामै सयौं भैंसीले गर्भधारण गरेकाले उन्नतजातका भैंस्किो संख्या बढीरहेको उनी सुनाउँछन् । तर, उनी स्वयंले आफ्ना गोठका भैंसीका लागि सिमन (विर्य) संकलन गर्न छोरालाई भारत जुजरात पठाएका छन् । उनी भन्छन् ‘मेरो गोठका भैंसीका लागि यी राँगाका विर्य अलि म्याच भएन । त्यसैले गुजरातबाट ल्याउन लागेको हो ।’

अहिले १५ वटा भैंसीमा ८ वटा लैनाले १०० लिटर दूध दिदा दैनिक ८ हजारले महिनाको २ लाख ४० हजार त दूधकै पैसा भयो । भैंसीको गोबर मल किन्न आउनेको लर्को लागेको सुनाउँदै उनी भन्छन् ‘प्रतिट्«याकक्टर ५ देखि ६ हजारमा बेच्ने गरेको छु । खासगरी माछापालकले यो मल लाने गरेका छन् ।’ दुईजना हेरालु राखेको बताउँदै उनी दुवैलाई मासिक २० हजार दिएको दावी गर्छन् । भैसींका लागि आवश्यक गहुँका भूस, पराल, दाना आदी सबै कट्टी गर्दा मासिक १ लाखजति बच्ने गरेको उनले सुनाए । उनले भने ‘यो संरचना, यो भू–उपयोग र आफ्नो श्रमलाई जोड्दा यही आम्दानी सन्तोषजनक होइन ।’ तर, आफ्रले पाँच वर्षे योजना बनाएको बताउने उनी पाँच वर्षमा दुई छिमल तीन छिमल भैंसी ब्याउँदा आम्दमनीले नेटो काट्ने हिसाब लगाउँछन् । उनले भने ‘तीन छिमल माउ भैंसी बेच्दा एउटा भैंसीको कम्तीमा १ लाख ५० हजारले कति हुन्छ ?’
राजनीति बारे
भैंसी पालनमान ब्यस्त रहेर राजनीतिमा बेखबर नरहेको उनी बताउँछन् । केही समय त यही भैंसी फार्मको संरचना बनाउन ब्यस्त भए पनि फुर्सत निकालेर भेटघाट गरिरहेको सुनाउँछन् । अहिले त भेटघाटलाई बाक्लै बनाएको उनले सुनाए ।

‘साथीहरूले बोलाउँदा, बोलाएको ठाउँमा पुग्ने गरेको छु ’ उनले थपे ‘हाम्रो पार्टीको अहिले केन्द्रीय संरचना बाहेक तल कुनै संरचना छैन । मिटिङ्ग, बैठक हुदैन, उही साथीभाई भेटघाट मात्र त हो !’ आफू मेयर हुँदा अघि बढाएका योजना, संरचना अहिले अलपत्र परेकोमा उनले चिन्ता ब्यक्त गरे । गत स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन अहोरात्र खटिए पनि अन्त्यमा अपजस दिएकामा उनी दुःखी देखिए । उनले भने ‘म जत्तिको मान्छेले आफूलागेको पार्टीलाई अन्त्र्घात गर्छु होला त ?’ भन्ने प्रश्न गर्दै थपे ‘अन्त्यमा अपजस पाइयो । यस भेगमा हाम्रो पार्टीको त्यस्तो राम्रो र बलियो संगठन अहिले ध्वस्त भएको देख्दा, साथीहरूमा एकअर्काप्रति अविश्वास बढेको देख्दा चिन्ता लाग्छ ।’

अहिले नगरपालिकाको गतिविधिका बारे साथीहरूले सुनाउँदा दुःख लाग्ने गरेको बताउँदै उनले भने ‘सबै भताभुङ्ग भएको छ । तर, अझै सम्हाल्न सकिन्छजस्तो लाग्छ ।’ एमालेका साथीहरू पनि बाक्लै भेट्न आउने गरेको उनले सुनाए । उनले भने ‘माओवादीका साथीभन्दा एमालेका साथीले बढी भेटघाट गरेका छन् । यो अस्तव्यस्तमा चिन्ता व्यक्त गरेका छन् ।’

के एमालेबाट कुनै अफर आएको छ ? भन्ने प्रश्नमा उनी भन्छन् ‘त्यस्तो औपचारिक तथा जिम्मेबार निकायबाट केही आएको छैन । पार्टी छाड्ने, फेरि चुनाव लड्ने बारे अहिले कुनै धारणा बनाएको छैन ।’ तर अहिले साँझ र बिहान २÷२ घण्टा भैंसीको स्याहार, सुसार गरेर दिउसो दैनिक भेटघाटमा निश्कने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार