मोडर्न गुरुकुलका चार सय विद्यार्थीको आँखा र दन्त परीक्षण

शुभस्वस्तिक हस्पिटलको विद्यालय स्वास्थ्य कार्यक्रम जारी
banner

बर्दिवास, १४ मंसिर । बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलले बर्दिवास –१ स्थित मोडर्न गुरुकुल स्कूलका विद्यार्थीको शुक्रबार आँखा र दन्त स्वास्थ्यको परीक्षण गरेको छ । सो विद्यालयको आग्रहमा हस्पिटलको ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सो परीक्षण गरिएको हो ।

बिद्यालयकै प्राङ्गणमा शुक्रबार सम्पन्न बालबालिकाको आँखा र दन्त परीक्षण कार्यक्रममा कक्षा १ देखि १० सम्मका ४०१ विद्यार्थी सहभागि भएका थिए । आँखा परीक्षण गराएका ४०१ विद्यार्थीमध्ये ५७ जनामा दृष्टीसम्वन्धि समस्या रहेको पाइएको डा. सन्तोषकुमार यादवले बताए । त्यसैगरी दाँतसम्वन्धि समस्या रहेका १७ जना विद्यार्थी पाइएको परीक्षणमा संलग्न डा. अनिल यादवले जानकारी दिए ।

शुभस्वस्तिक हस्पिटलले ‘स्वस्थ बालबालिका भविश्यका कर्णधार’ भन्ने नाराकासाथ बिद्यालय स्वास्थ्य कार्यक्रम गर्दै आएको छ । हरेक साताको शुक्रबार बर्दिवास क्षेत्रका एक बिद्यालयका बालबालिकाको आँखा र दन्त परीक्षण गर्ने हस्पिटलको अभियान रहेको सञ्चालक दीपक कार्कीले जानकारी दिए । उनले भने ‘धेरै बिद्यालयबाट यस्तो माग आएकाले हस्पिटलले निःशुल्क परीक्षणको अभियान चलाएको हो ।’

यसरी हस्पिटलले सञ्चालन गरेको बिद्यालय स्वास्थ्य कार्यक्रमबाट समस्या देखिएका बालबालिकालाई शुभस्वस्तिकले विशेष छुटमा उपचार गर्ने व्यवस्था मिलाएको छ । यसका लागि हस्पिटलले सम्वन्धित बिद्यालयसंग सम्झौता गरेको छ । शिविर सञ्चालन हुने बिद्यालयमा नै उपचारमा आवश्यक उपकरण लैजान सम्भव नभएकाले समस्या पहिचान भएका बिद्यार्थीलाई हस्पिटलमै आउने अनुरोध गर्ने गरिएको छ ।

हिजोआज बालबालिकाको खानपान, डिजिटल गतिविधि, अभिभावकको हेरचाहमा कमी आदीले सानै उमेरमा आँखा र दाँतका समस्या देखिने गरेको चिकित्सक बताउँछन् । आँखालाई चाहिने पौष्टिक आहारको कमी, विषदीयुक्त सागपात, मोवाइल तथा टिभीको लत आदीले बालबालिकामा आँखा समस्या बाक्लै देखिन थालेको चिकित्सकको कथन छ । त्यस्तै गुलिया खानेकुरा जस्तै चकलेट, विभिन्न किसिमका मिठाई बालबालिकालाई मन पर्ने र दाँतको नियमित सर–सफाई नगर्नाले संक्रमण भई दाँत दुख्ने, झर्ने समस्या देखिने गरेको परीक्षणमा संलग्न डा. अनिल यादवले बताए । शुक्रबारकै परीक्षणमा पनि कतिपय बालबालिकाले कहिलेकाँही मात्र दाँत माझ्ने गरेको बताएको डा. यादवले सुनाए । बिहान र साँझ सुत्नुअघि हरेकले दाँत माझ्ने बानी बसाल्ने हो भने दाँतका समस्या धेरै कम हुने उनको राय छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार