बर्दिवास, १७ मंसिर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –२ मा भएको उपनिर्वाचनमा एमालेका सकिबुल खाँ विजयी भएका छन् । यस वडामा २०७९ को निर्वाचनमा माओवादी केन्द्रका मुकेशकुमार यादवले जितेको थिए । अहिले भएको उपनिर्वाचनमा माओवादीबाट उनै मुकेशकी पत्नी आइतीकुमारी यादवलाई माओवादीले उम्मेदवार बनाएको थियो ।
एमाले उम्मेदवार सकिबुल खाँले ६३१ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका उनै आइती भइन् । उनले ५३४ मत प्राप्त गरिन् । २०७९ को निर्वाचनमा दोश्रो भएका नेपाली कांग्रेसका जनिफ खाँ यसपटक तेश्रो भए । उनले २८४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । माओवादीबाट एमालेको खोसेको यो सिटलाई माओवादीले पचाउन नसकेको उसका शब्दबाट देखिदैछ ।
अघिल्लो २०७९ को निर्वाचनमा माओवादीले ४३३ मत प्राप्त गरेर जियी भएको थियो, जबकी यसपटक ५३१ मत प्राप्त गर्दा पनि पराजित भएको छ । यो भनेको माओवादीको लोकप्रियता बढेको होइन कि सेतो बस्त्रमा दुई स–साना छोराछोरी अघिलाएर मत माग्दाको सहानुभूति बुझ्नु पर्ने स्थानीयको भनाई छ । एमालेले जित्नु पर्ने आधार भनेको त्यहा एमालेले गरेको विकासका कार्य पहिलो कारण हा भने दोश्रो कारण अघिल्लो चुनावमा टिकट नपाउँदा रुष्ट भएर जसपा नेपालमा गएका सकिबुल एमालेमा फर्किएर उनै एमाले उम्मेदवार हुनु हो । तेश्रो कारण एमाले केन्द्रीय सदस्य तथा मधेश सरकारका भौतिक पूर्वाधारमन्त्री सरोज यादवलाई माओवादीले अनावश्यक चिढ्याउनु हो ।
यसअघि सकिबुलले जसपाबाट लड्दा तेश्रो मत ३४२ प्राप्त गरेका थिए भने एमाले थौथो हुँदै २७८ मत प्राप्त गरेको थियो । एमालेले सकिबुललाई टिकट नदिंदा कतिपय एमाले रुष्ट भएर छातामा मतदान गरेका थिए । अहिले चौथो हुनेको प्रस्तावमा चुनाव हारे लगत्तै गल्ती स्वीकार गर िएमाले फर्किएका सकिबुललाई प्रस्ताव गर्नु र जिल्ला तथा प्रदेशले त्यसलाई अनुमोदन गर्दा नै एमालेको जित पक्का भइसकेको थियो । अहिले जसपा नेपालको छाता चिन्हमा ३८ मत प्राप्त हुनु यसको उदाहरण हो ।