बर्दिवास, २१ मंसिर । अब बर्दिवासकै शुभस्वस्तिक हस्पिटलमा क्यान्सरजस्तो रोगको परीक्षण हुने भएको छ । यसपटक भने यही २६ मंसिरमा निशुल्क परीक्षण गरेर यसको सुरुवात गरिने हस्पिटलका सञ्चालक दीपक कार्कीले बताएका छन् ।
चितवन क्यान्सर अस्पतालका अनुभवी विशेषज्ञ चिकित्सकको सहकार्यमा शुभस्वस्तिकले सो परीक्षण शिविर सञ्चालन गर्न लागेको हो । मधेश प्रदेश क्यान्सर रोगले अक्रान्त रहेको तथ्यांकले देखाएको छ । मुलुकका सातै प्रदेशमध्ये क्यान्सर रोगीको संख्या मधेशमा धेरै रहेको चिकित्सकहरू बताउँछन् ।
क्यान्सरको आशंका भए पनि आर्थिक अवस्थाका कारण अस्पताल जान नसकेर त्रासमा बाँचिरहेका यस भेगका सर्वसाधारणलाई लक्षित गरी पछि सातामा एक दिन नियमित परीषण गर्ने उदेश्यका साथ पहिलो पटक निशुल्क परीक्षण गर्न लागिएको बताइएको छ । क्यान्सर प्राणघातक रोग भए पनि समयमै उपचार गरे निको हुने चिकित्सकहरू बताउँछन् । त्यसैले निम्न लक्षण देखिएका कोही भएमा परीक्षण गरी ढुक्क हुन हस्पिटलका संञ्चालक कार्कीले अनुरोध गरेका छन् ।
क्यान्सर रोगका लक्षण
स्तनमा परिवर्तन
स्तन क्यान्सरले धेरैको ज्यान लिने गरेको छ । अचम्म त के भने, महिला मात्रै होइन, पुरुष पनि यसको चपेटामा पर्छन् ।
यसका धेरै लक्षण हुन्छन् । जस्तै स्तनमा गाँठो, निप्पलको रंगमा परिवर्तन, निप्पल चिलाउने, रेशा, निप्पलभित्र मोडिनु । तर, यो कुरालाई पनि ध्यानमा राख्नुपर्छ कि यिनीहरु स्तन क्यान्सरका पक्का प्रमाण होइनन् । कहिलेकाहीँ हार्मोनको परिवर्तनले वा स्वास्थ्यसम्वन्धि अन्य कारणले पनि यस्तो हुन सक्छ । त्यसैले डाक्टरको परामर्श लिनु राम्रो हुन्छ ।
मूत्र वा मलबाट रगत निस्किनु
पिसाब वा दिसा गर्दा रगत निस्कियो भने तुरुन्त अस्पताल गएर चेकअप गराइहाल्नुपर्छ । किनकी यो किड्नी वा पिसाबको थैलीमा क्यान्सरको संकेत पनि हुन सक्छ । यसका अलावा पाचन वा शौच सम्वन्धी बानीमा स्थायी परिवर्तन आउनु । जस्तै लामो समयसम्म कब्जियत, डायरिया वा अधिक दिसा हुनु कोलोन क्यान्सरको लक्षण हुन सक्छ ।
अचानक तौल घट्नु
खास अरु कारण बिना नै अचानक धेरै तौल कम भयो भने यो चिन्ताको बिषय हुनसक्छ । यसको अन्य कारण पनि हुन सक्छ, तर अन्नाशय, फोक्सोका वा पेटको क्यान्सरको सम्भावनालाई पनि नकार्न सकिँदैन ।
मुखमा कत्ला आउनु
सामान्यतया दुई हप्तामा कुनै पनि कत्ला ठिक हुन्छ । तर, योभन्दा बढि समय लाग्यो भने चिन्ताको विषय हो । यसको अलावा आवाजमा परिवर्तन, निल्नमा समस्या, मुखभित्र सेतो वा रातो रंगको निसान देखिनु मुखको क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ ।
ज्वरो
लामो समयसम्म ज्वरो ठिक भएन भने ब्लड क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ । त्यसो त क्यान्सरबाट पिडित सबैजसो बिरामीलाई ज्वरो आउँछ । यो प्रतिरक्षा प्रणाली कमजोर भएको कारणले गर्दा हो ।
रुँघा
एक महिनाभन्दा लामो समयसम्म लगातार खोकि लाग्यो, खोक्दा रगत आयो, सास फेर्न असुविधा भयो भने पनि क्यान्सरको लक्षण हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त डाक्टरलाई भेट्नु उचित हुन्छ ।
दुखाई
दुखाईका कैयन कारण हुन सक्छन् । तर बिना कुनै कारण एक महिना वा सोभन्दा बढि समयसम्म दुखाई जारी रह्यो भने यो हड्डी, ब्रेन वा अन्य क्यान्सरको संकेत हुन सक्छ । यसैगरी लगातारको टाउको दुखाइ ब्रेन टय्ूमरको लक्षण हुन्छ । जबकि कोलोन, रेक्टम वा ओवरीमा क्यान्सरका कारण पिठ्यूमा दुखाई हुन्छ । लंग क्यान्सरबाट पिडित केही रोगीमा छातिमा दुखाई हुन्छ । यो सबै क्यान्सर फैलिँदाको पीडा हो ।
थकान
दिनभरको भागदौड र तनावबाट थकान महसुस हुनु सामान्य कुरा हो । तर, बिना कुनै मिहनेत र सही खानपिनका बाबजुद पनि थकाईको महसुस हुन्छ भने ब्लड क्यान्सरको लक्षण हुन सक्छ । यसका अलावा कोलोन वा पेटको क्यान्सर भएमा पनि रगतको कमि हुन्छ र अत्यधिक थकानको महसुस हुन्छ ।
रक्तश्राव
मासिक धर्मका अलावा अचानक ब्लिडिङ हुनु कार्विनल क्यान्सरको संकेत हुन सक्छ । यसका अलावा रेक्टम अर्थात् मलद्वारबाट रक्तश्राव -जो कालो दिशाका रुपमा देखिन्छ) कोलोन क्यान्सरको लक्षण हुन सक्छ । यस्तो कुनै किसिमको समस्या छ भने तुरुन्त जाँच गराउनुपर्छ । मासिक धर्मका दौरान पनि सामान्यभन्दा अत्यधिक रक्तश्राव भयो भने चिन्ताको विषय हुन्छ ।
पेट फुल्नु
पेट फुल्नु एउटा सामान्य समस्या हो । खासगरी महिलाहरुमा । यो अक्सर अपच, प्रीमेन्सुरल सिन्ड्रोम वा प्रेग्नेन्सी इत्यादीको कारण हुन्छ । तर, यदि लगातार दुई हप्ताभन्दा बढि समयसम्म पेट फुलिरह्यो र ब्लिडिङ तथा वेट लस पनि भयो भने चिन्ताको विषय हुन्छ । यो ओवेरियन क्यान्सरको संकेत हुन सक्छ ।
अन्डकोषमा बदलाव
पुरुषको अन्डकोषमा गाँठो, सुन्निएको, दुखाई वा कुनै प्रकारको अन्य बदलाव वा समस्या आयो भने तुरुन्तै डाक्टरकहाँ जानुपर्छ । किनभने टेस्टिकुलर क्यान्सर अहिले धेरै दु्रत गतिमा फैलिइरहेको छ । डाक्टरका अनुसार १५ देखि ५५ वर्षसम्म उमेरका पुरुषले १-२ महिनामा यसको जाँच गराइरहनु पर्छ ।
पिसाब फेर्न समस्या
बढ्दो उमेरसँगै प्रोस्टेट ग्ल्यान्ड बढ्छ । यसको कारण पिसाब फेनर्ृ समस्या, लगातार पिसाब आउनुजस्ता समस्या उत्पन्न हुन्छन् । तर, यो प्रोस्टेट क्यान्सरको सुरुवाती संकेत पनि हुन सक्छ ।
निल्नमा समस्या
कहिलेकाहीँ गला सुक्दा वा सुन्निदा खाना खान र पानी पिउन समस्या हुन्छ । सामान्यतया गलामा इन्फेक्सनको कारणले यस्तो हुन्छ । तर कहिलेकाहीँ यो मुख वा गलाको क्यान्सरको कारणले पनि हुन सक्छ । यदि लामो समयसम्म खाना वा पेयपदार्थ निल्न समस्या पर्यो भने डाक्टरलाई भेटिहाल्नुस ।
मुसा वा कोठीमा परिवर्तन
कोठी, मुसा आदीको रंग वा आकारमा अचानक परिवर्तन आउनु स्किन क्यान्सरको सूचक हुन सक्छ । यसैगरी छाला कालो वा पहेँलो हुनु, चिलाउनु वा एकदमै छिटो कपाल बढ्नु पनि क्यान्सरको लक्षण हुन सक्छ ।
भोक नलाग्नु
यो ओवरियन क्यान्सरको लक्षण हुन सक्छ । यदि धेरै समयसम्म केही नखाँदा पनि भोक लागेन र पेट हमेशा भरिएको महसुस भइरह्यो भने यो ओवेरियन क्यान्सरको सुरुवाति लक्षण हुन सक्छ ।
नङमा परिवर्तन
अचानक नङमा देखिने परिवर्तन विभिन्न प्रकारका क्यान्सरको संकेत हुन सक्छ । नङमा कालो वा खैरो धब्बाले स्किन क्यान्सरलाई संकेत गर्छ । यसै प्रकारले नङको अन्तिम सिरा ठूलो हुनुले लंग क्यान्सरलाई संकेत गर्छ । सेतो वा पहेँलो नङले पनि लंग क्यान्सरकै खतरा देखाउँछ ।
अनुहार सुन्निने
फोक्सोको क्यान्सरबाट पिडित केही रोगीहरु अनुहार सुन्निएको वा रातो भएको सिकायत गर्छन् । यो यसकारण हुन्छ कि फोक्सोको ट्यूमरका साना सेल्सले छातिका रक्त धमनिहरुलाई ब्लक गरिदिन्छन् जसका कारण अनुहार वा शिरसम्म रक्तप्रवाहमा वाधा आउँछ ।
मुखभित्र वा जिभ्रोमा सेतो दाग
मुखको क्यान्सरको सुरुवाती लक्षण यस्तो हुन्छ । यो धुम्रपान वा सुर्तिको सेवनले गर्दा हुने हो । यस्ता व्यक्तिहरु मुखको क्यान्सरको जोखिममा हुन्छन् । यसैले मुखभित्र यसप्रकारको बदलाव आयो भने तुरुन्त डाक्टरलाई भेट्नुपर्छ । यदि सुरुवाती चरणमै त्यसको लक्षण फेला पर्यो भने उपचार गर्न सकिन्छ ।