शुभस्वस्तिक टेक्निकल इन्स्टिच्युटका छात्राहरूको उत्कृष्ट सांस्कृतिक चेत

कला/साहित्य

बर्दिवास, २ माघ । उनीहरूको प्रस्तुती हेर्दा लाग्थ्यो पेशा रोज्न झुक्किएछन् कि क्या हो ? कला क्षेत्र रोज्नु पर्नेले नर्सिङ अध्यययन गर्न आइपुगेछन् । यस्तै प्रश्न उठ्यो शनिबार धेरैका मनमा । राष्ट्रियस्तरका स्थापित कलाकारलाई माथ गर्ने खालको थियो उनीहरूको हरेक प्रस्तुती ।

हो ! शुभस्वस्तिक हस्पिटल प्रा.लि.को १५औं बार्षिकोत्सव तथा शुभस्वस्तिक टेक्निकल इन्स्टिच्युटमा नर्सिङ, एचए र फार्मेसीमा अध्ययन गर्न नयाँ भर्ना भएका विद्यार्थीको स्वागतार्थ शनिबार आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूको प्रस्तुती देखेर पेशा रोज्न झुक्किएको पो हो की ! भन्ने धेरैले प्रश्न उठाए ।

सुरुमै स्वागत नृत्य गर्न मञ्चमा उक्लिएका कृतिका बस्नेत र सारिका दाहालले प्रस्तुत गरेका शास्त्रीय नृत्य साच्चै मोहक थियो । लाग्थ्यो आयोजकले कुनै स्थापित भारतीय कलाकार ल्याएको पो हो कि ? तर उनीहरू थिए शुभसव्स्तिक टेक्निकल इन्स्टिच्युटका दोश्रो वर्षमा अध्ययनरत् छात्रा बस्नेत र दाहाल । त्यसपछि थियो नयाँ भर्नाभएका छात्राहरू अचर्ना निरौला, दिक्षा गुरुङ, मविना केसी र अविस्मा लिम्बूको सामूहिक नृत्य, गीत भने मिश्रण थियो ।

त्यसपछि मञ्चमा उक्लिएका नुमा लिम्बू र सिमरन कडेल उनीहरूले प्रस्तुत गरे नेपाली गीतमा नृत्य । त्यसैगरी अर्को नृत्य प्रस्तुती थियो रोशनी थापा मगर, आस्था पुन, भूमिका गुरुङ, दिप्सिका गुरुङ र स्वेता सुनारको सामुहिक नृत्य । जाउन साइली …बोलको गीतमा उनीहरूको नृत्यले धेरैलाई भावुक बनाएको थियो । त्यसपछि आएका थिए अंगे्रजी गाना लिएर प्रिती मावो र रेखा राई । नेपाली भाषीको बाहुल्य रहेको कार्यक्रममा उनीहरूले गाएको अंग्रेजी गीत धेरैले नबुझे पनि बुझ्नेहरू झुमेको देखेर लाग्यो छनौट वेजोड थियो ।

अर्को प्रस्तुती थियो नेवारी सास्कृति झल्काउने नृत्य । छ जनाको समूहमा नेवारी भेषभूषामा सजिएका किशोरीहरू, लाग्थ्यो भक्तपुरको जात्रामा धिमे वाजा बजाउदै हिड्ने गरेका भक्तपुरे नेवार्नी । तर, यो समूहमा नेवार समुदायकी एक मात्र किशोरी थिइन रिथिमा श्रेष्ठ र उनका साथी थिए विविशा बिक, सविना गुरुङ, रिया खडका, प्रतिक्षा दुरा एवं कृतिका बस्नेत ।

त्यसपछि हास्यब्यंग मिश्रित नृत्य प्रस्तुत गरेका थिए भूमिका गुरुङ, आस्था पुन, नितु कुमाल, स्वेता सुनार, दिप्सिका गुरुङ, दिपिका अधिकारी रोश्नी थापा मगर, विद्या पोखरेल, प्रिती मावो, रेखा राई । घरको झ–झल्को आउँदा, परीक्षा आउँदा, सरम्यामले प्रश्न गर्दा, विदा हुँदा, घर जान पाउँदा मनमा आउने आँधीहुरीको विभिन्न भावभंगीमा प्रस्तुत गर्दा अगाडी बसेका शिक्षिकाको अनुहारमा आएको परिवर्तन हेर्न लायक थियो ।

‘आमा..’ बोलको गीतमा अविश्मा लिम्बूको प्रस्तुती होस् वा मिश्रण गीतमा निशा देउवा र रोशिका थापाको नृत्य वेजोड थियो । नृत्यमा अनुहारको भावभंगी, हात, खुट्टा र कम्मर मर्काई हेर्दा लाग्थ्यो कुनै पेशेवर नृत्याङ्गना पो हुन की ? यसमा पनि निशा देउवालाई बहुप्रतिभाशाली मान्नु पर्ने हुन्छ । किनभने उनले नृत्य प्रस्तुतीमा मात्र भाग लिएकी थिइनन् समग्र कार्यक्रम प्रस्तोतामा पनि उनको अहं भूमिका देखिन्थ्यो ।

दिउसो १ वजेदेखि सुरुभएको सो कार्यक्रम झमक्क साँझ परुञ्जेल चलेको थियो । यसरी पाँच घण्टा लामो कार्यक्रममा कोही वाध्यताले विचमा हिडे पनि उनीहरूको मन शायद् कार्यक्रममै थियो होला ! बस्नेहरू कुर्सीमै टाँसिएझै भएका थिए, मानौ हरेक कुर्सीमा फेविकल पोखिएको थियो । यसरी फेविकल पोख्नेमा नमुना घिमिरे र निशा देउवा भएको कत्तिले पत्तो पाएनन् । उनीहरूको प्रस्तुती (उद्घोषण) कलारूपी फेविकल नै यस्तो थियो कि सबै कुर्सीमा टाँसिन वाध्य थिए ।

अन्त्यमा एउटा हिन्दी गीत सम्झनै पर्ने हुन्छ – ‘तारिफ करु क्या उसकी जिसने तुम्हे बनाया ….’ अर्थात विद्यार्थीहरू देखिने पात्र हुन् जसले यो स्तरको प्रस्तुतीका लागि भेषभुषा, साजसज्जा, गहनालगायत जुटाउन नृत्यका भावभंगी, शब्दअनुसारको अनुहारको भाव परिवर्तन गर्न सिकाउने, सहयोग गर्ने शुभस्वस्तिक टेक्निकल इन्स्टिच्युटका शिक्षक, शिक्षिका पर्दा पछाडिका मुख्य पात्र हुन् । उनीहरूको जति तारिफ गरे पनि कम हुन्छ । फेरि पनि तारिफ करु क्या उसकी …………..

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार