बर्दिवास, १२ माघ । शुभस्वस्तिक हस्पिटल बर्दिवासले अभियानकै रूपमा सुरु गरेको ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ लोकप्रिय बन्दै गएको छ । हस्पिटलले सो अभियान अन्तर्गत विद्यालयहरूमा गएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको छ ।
गत बिहीबार मात्र हस्पिटलले बर्दिवास–८ स्थित मदरल्याण्ड सेकेन्ड्री बोर्डिङ्ग स्कूलमा यस्तो शिविर सञ्चालन गरेको थियो । शिविरमा सो स्कूलमा अध्ययनरत् ४०० वढी बालबालिकाको आँखा तथा दाँतको परीक्षण गरिएको हस्पिटलका कार्यकारी निर्देशक दिपक कार्कीले बताए ।
परीक्षण परिएकामध्ये ४५ बालबालिकामा आँखा कम देख्ने समस्या र ३५ जनामा दाँतसम्वन्धि समस्या देखिएको परिक्षणमा संलग्न डा. सन्तोष यादवले जानकारी दिए । शिविरमा परीक्षण निशुल्क हुनेभए पनि सबै उपकरण लगेर विस्तृत परीक्षण सम्भव नभएकाले समस्या देखिएका बालकालिकालाई हस्पिटलमै बोलाउने गरिएको छ ।
यसरी शिविरमा समस्या भएर हस्पिटल बोलाइएका बालबालिकालाई विशेष छुटको व्यवस्था गरिएको कार्यकार िनिर्देशक कार्कीले बताए । अन्य परीक्षणमा त छुट छदैछ चस्मा लगाउनु पर्ने देखिएमा चस्मामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको छ ।
हस्पिटलले नेपालीहरूले मनाउने महत्वपूर्ण चाडवाड दशैं, तिहार, छठ सकिएपछि मंसिर महिनादेखि यो कार्यक्रम सुरु गरेको हो । अहिलेसम्म बर्दिवास नगरपालिकाभित्रका विभिन्न स्कूललगायत छिमेकी लालगढको विद्यालयमासमेत शिविर सम्पन्न भएको छ । शिविर सञ्चालन गरिएका विद्यालयमा सम्वन्धित कतिपय विद्यालयले खुसी हुँदै सहभागि डाक्टर तथा स्टाफलाई खाँदा, मालाका साथै मायाको चिनो दिएर विदाई गर्ने गरेको पाइएको छ ।
बालबालिका देशको भविश्यका आधार हुन् । उनीहरू स्वस्थ्य हुनु भएको देश स्वस्थ्य हुनु हो, भन्ने कुरालाई हृदयंगम गर्दै सामाजिक उत्तरदायित्व वहनस्वरुप यस्ता बालबालिका लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हस्पिटलका कार्यकारी निर्देशक कार्की बताउँछन् । यो कार्यक्रम साताको एक दिन भए पनि निरन्तर सञ्चालन गर्ने योजना रहेको कार्कीले बताए ।
कतिपय बालबालिकाले शिक्षकले बोर्डमा लेखेको नदेख्ने गरेको शिक्षक तथा अभिभावकलाईसमेत जानकारी नरहेको पाइएको शुभस्वस्तिकमा कार्यरत् आँखा चिकित्सक डा. सन्तोष यादवले बताए । ‘हामीले परीक्षण गर्दा बल्ल शिक्षक, अभिभावकले थाहा पाएका छन्’ डा. यादव भन्छन् ‘बालबालिकालाई आफूले बोर्डमा लेखेको नदेख्ने गरेको थाहा नै पाउँदा रहेनछन् ।’ हरेक छ महिनामा आँखाको जाँच गराउनु पर्ने उनको सल्लाह छ ।