पार्टीका नाममा धेरैवटा पसल आवश्यक छैन : महासचिव पोखरेल

banner

बर्दिवास, १४ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा पार्टीका नाममा धेरै पसल आवश्यक नरहेको बताउनु भएको छ । एमाले मधेश प्रदेशद्वारा आयोजित वडा केन्द्रित ३ महिने अभियानको अभिमुखिकरण कार्यक्रमा प्रमुख अतिथिकोरूपमा मन्तब्य राख्दै महासचिव पोखरेलले भने ‘विचारका आधारमा पार्टीको निर्माण हुने हो, नेपालमा दुईटा विचार मात्र रहेकाले दुई वटा पार्टी मात्र आवश्यक छ ।’

सामाजिक समाजवाद (सोशल डेमोक्र्याट) को विचार नेपाली कांग्रेसले बोकेको छ र बैज्ञानिक समाजवादको विचारको नेतृत्व एमालेले गरेको छ । नेपालको संविधानले पनि गन्तब्य समाजवादलाई बनाएको छ, त्यसैले पार्टीका नाममा धेरै पसल खोल्नुको औचित्य नरहेको उनको कथन थियो । ‘एउटै विचारका धेरै पार्टी किन आवश्यक छ र ? एउटै विचारका धेरै पार्टी हुँदा जनतालाई अल्मल्याउने, भ्रम पर्ने, अस्थिरता हुने हुँदा विकासमा अवरोध हुन्छ । यो आवश्यक छैन ’ उनले भने ।

एमालेले आफ्नो भनाई प्रष्ट जनताकोबीचमा राखेको बताउदै उनले भने प्रतिस्पर्धाको माध्यमबाट श्रेष्ठता हासिल गरेर राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको यात्रा तय गर्ने एमालेको नीति हो । माओवादीले आफ्नो विचार अझै प्रष्ट पार्न नसकेको महासचिव पोखरेललको आरोप थियो । पार्टी नै खोल्न पाइने भनेको होइन राष्ट्रिय पार्टी बलियो हुनु पर्छ भन्ने आफ्नो धारणा रहेको बताए ।
अमेरिकाको उदाहरण दिंदै उनले भने ‘अमेरिकामा पनि पार्टी त धेरै छन् । गएको निर्वाचनमा पनि ६ जना राष्ट्रपतिका उम्मेदवार थिए, तर जनताको समर्थन दुई पार्टीले मात्र पाए । अन्य पार्टीले ०.०५ प्रतिशत मतसमेत कटाउन सकेनन्’ उनले थपे ‘नेपालमा चैं किन धेरै पसल खोल्नु प¥यो ।’ भारतमा पनि गएको निर्वाचनमा भारतीय जनता पार्टीले एक्लै सरकार बनाउन आवश्यक बहुमत जितेन । तर, त्यहाँ कुनै साना पार्टीले प्रधानमन्त्री मलाई दिनु पर्छ भनेर कसैले वार्गेनिङ नगरेको उनको भनाई थियो । प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, विदेशमन्त्री, सभामुख सबै मुख्य, मुख्य पद भारतीय जनता पार्टीले नै राखेको छ । नेपाल भने ठूला राष्ट्रिय पार्टी बहुमतबाट चुक्यो भने सानाले वार्गेनिङ गर्ने गरेको सुनाए ।
चुनावको बेला सबैको कुरा उस्तै, उस्तै लाग्ने, सबैले राम्रै बालेको जस्तो लाग्ने भएकाले जनता भ्रममा पर्छन । चुनाव नभएको बेला जनतालाई बुझाउने हो । घर, घरमा, वस्ती—वस्तीमा गएर जनतालाई एमालेले गरेको काम, एमालेको नीति, कार्यक्रम, सिद्धान्त बुझाउनु पर्छ । मधेशमा मधेश केन्द्रित दल, विकास गरे जनता बाठा हुन्छन्, जनता बाठा भए आफ्नो हालिमुहाली सकिन्छ भन्ने मानसिकताले ग्रस्त छन् भन्ने जनताले बुझ्न पाउनु पर्छ । त्यसैले पार्टीले यो तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गरेको उनले प्रष्ट पारे ।
मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा भएको सो अभिमुखि कार्यक्रममा तीन महिने वडा केन्द्रित अभियानको औचित्य र प्रभावकारिता वारे संगठन विभागका काशिनाथ अधिकारीले विस्तृतमा जानकारी गराएका थिए भने प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठ, विदेश विभाग प्रमुख रघुविर महासेठले अभियान वारे थप प्रष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार