बर्दिवास १६ माघ । नेपालका समासेवी तथा नवप्रवर्तक महावीर पुनले महुली लघुवित्त वित्तीय संस्थाको कामलाई अनुकरणीय रहेको बताएका छन् । वीरगञ्जस्थित कषिऔजार कारखानालाई जीवन्तता दिने उदेश्यले आर्थिक श्रोत जुटाउन आफ्नो पुस्तक बेच्दै हिडेका उनले महुली लघुवित्तको सहयोगप्रति आभार ब्यक्त गर्दै स्टाटस लेखेका हुन् ।
महुली लघुवित्त वित्तीय संस्थाले महावीर पुनको नवप्रवर्तनको कामलाई सघाउन ५० हजार सहयोग गरेको उनैले लेखेका छन् । सो लघुवित्तले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पुनको नवप्रवर्तनलाई सहयोग गरेको हो । पुनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ‘वित्रीय संस्थाहरूले यसरी पनि सहयोग गरे हुन्छ ।’
महुली लघुवित्तले सामाजिक उत्तरदायित्व अन्तर्गत महावीर पुनको नवप्रवर्तन अभियानलाई ५० हजार रकम सहयोग गरेको र महावीर पुनले ६७ वटा पुस्तक महुली लघुवित्तले आफ्ना उद्यमीलाई बाँडने स्टाटसमा खुलाइएको छ । ललितपुरमा राष्ट्रिय आविस्कार केन्द्र सञ्चालन गरिरहेका महावीर पुन पछिल्लो समय बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याउन आर्थिक श्रोतको जोहोका लागि देशभर घुमी रहेका छन् ।
उनले आर्थिक श्रोत जुटाउनका लागि आफ्नै जीवनी लेखिएको पुस्तकलाई आधार बनाएका छन् । उनी भन्छन् ‘हामी कृषि औजार कारखाना सञ्चालनमा ल्याएर नेपालका किसानलाई सहयोग गर्न चाहन्छौं । यो पुस्तकमा मेरो जीवन कथा लेखिएको छ , यो पढेर तपाईहरूलाई उत्साह नै जाग्छ । यो पुस्तक किन्नुभयो भने हामीलाई सहयोग पुग्छ ।’ आफै पुस्तक टाउकोमा बोकेर उनी मेचीदेखि महाकाली यात्रामा निश्किएका छन ।
नेपालको पश्चिमी किनाराबाट सुरु गरेको उनको यात्रा अहिले मध्य तराई–मधेशमा पुगेको छ । एउटै जिल्लामा १५÷२० दिनसम्म लाग्ने गरेको उनी बताउछन् ।