बर्दिवास, १८ माघ । बर्दिवास नगरपालिकाले ‘बर्दिवास महोत्सव’ आयोजनाको अनुमति ‘हाम्रो माया घर’ निर्माण समितिलाई दिएपछि बिबाद चुलिएको छ । बर्दिवास उद्योग वाणिज्य संघले बिहीबार पत्रकार सम्मेलनको आयोजनानै गरेर महोत्सव आयोजनाको अनुमति आफूले पाउनु पर्ने माग गरेको छ ।
पत्रकार सम्मेलनमा नगरपालिकाले महोत्सव आयोजनाको अनुमति ‘हाम्रो माया घर’ दिनु बद्नियत भएको आरोप मात्र लगाइएन ‘हाम्रो माया घर’ जस्तो पवित्र संस्थालाई बिटुल्याउने प्रयाससमेत भयो । ‘मेला, महोत्सव’ स्थानीय ब्यापार प्रवद्र्धनका लागि लगाइने हुँदा सो उद्योग वाणिज्य संघको कार्य क्षेत्र भएको पत्रकार सम्मेलनमा बताइयो ।
महासंघका अध्यक्ष विष्णु खडका नगरपालिकाको यो निर्णयले आफू अपमानित भएको महसुश गरेका छन् र यो अपमानलाई उनी सम्पूर्ण ब्यापारीमाथि गरिएको अपमानको रूपमा अथ्र्याएका छन् । ‘हाम्रो माया घर’ लाई अघि सारेर नगर प्रमुख क्षेत्रीले ब्यापारीको अपमान गरेको उनले बताए । ‘हाम्रो माया घर’ पवित्र परोपकारी, मानवीय र धार्मिक संस्था भएको, सबैको आस्थासंग जोडिएकाले मेला, महोत्सव आयोजनामा अघि सर्न नहुने सो पत्रकार सम्मेलनमा उपस्थित ब्यापारीको तर्क थियो ।
तर नगरपालिका श्रोत भने महोत्सव आयोजना गर्न दुईभन्दा बढी संघ, संस्थाले अनुमति मागेकाले उनीहरूलाई मिलेर आउन अनुरोध गर्दै बर्दिवास उद्योग वाणिज्य महासंघकै अध्यक्ष खडकाको संयोजकत्वमा समिति बनाएको बताउँछ । आफूहरू सहमतिमा पुग्न नसकेको लिखत माइन्युटसहित नगरपालिकामा बुझाएपछि नगरपालिकाले बहुमतको मनसाय बुझेर सबैको आस्थासंग जोडिएको ‘हाम्रो माया घर’ लाई आयोजनाको अनुमति दिएको नगरपालिकाले बताएको छ । आफूले सहमतिमा पुग्न नसकेको मान्युटमा हस्ताक्षर गरेको स्वयं उद्योग वाणिज्य संघका अध्यक्ष खडकाले स्वीकार गरेका छन् ।
महोत्सवको आयोजक ‘हाम्रो माया घर’ लाई दिंदा सबैले स्वीकार गरेका छन् भने उद्योग वािणज्य संघले विरोध गर्नुको कारण के ? नगरपालिका श्रोतको प्रश्न छ । महोत्सवको नाममा मेयर क्षेत्रीसंगै ‘हाम्रो माया घर’ लाई विवादमा ल्याउने अध्यक्ष खडकाको षडयन्त्रमा अन्य ब्यापारी लाग्न नहुने नगरपालिकाले बताउने गरेको छ । ‘यो केही होइन, मेयरलाई खुइल्याउने र माया घरलाई विवादमा तान्ने नियत हो’ श्रोतले भन्यो । होइन भने महोत्सव आयोजनाको इच्छा राख्ने सबै संस्थाले स्वीकार गर्दा उद्योग वाणिज्य संघको मात्रै विरोध किन ? श्रोतको प्रश्न थियो । माया घर निर्माण समितिमा पनि अधिंकांश प्रभावशाली ब्यापारी नै रहेकाले यो विवाद गर्नेमा सम्पूर्ण ब्यापारीको समर्थनसमेत नरहेको पाइएको छ ।
‘साँढेको जुधाई बाच्छाको मिचाई’
महोत्सव त वाहाना मात्र हो, यो विष्णु खडका र मेयर प्रह्लाद क्षेत्रीबीचको ‘इगो’ भएको स्वतन्त्र ब्यापारीको बुझाई छ । यसको जरो खोतल्दा बर्दिवास उद्योग वाणिज्य महासंघको गत निर्वाचनसम्म पुग्नु पर्ने बताइन्छ । बर्दिवास उद्योग वाणिज्य महासंघमा निर्वाचित हुनासाथ अध्यक्ष खडकाले स्थानीय सरकारसंग प्रतिपक्षीको ब्यवहार प्रदर्शन गर्न लागे । उनले हरेक मञ्चमा नगरपालिका प्रमुख क्षेत्रीको विरोध गरेको देख्न, सुन्न सकिन्छ ।
उद्योग वाणिज्य महासंघले आयोजना गरेको कतिपय कार्यक्रममा त असम्वन्धित भए पनि समाजसेवीका नाममा बोल्न दिएर मेयरको हुर्मत लिने काम गरेको तितो अनुभव मेयरपक्षकाहरू सुनाउँछन् । स्थानीय सरकारका काम, कारवाही, शैली मन नपराउनु, त्यसको विरोध गर्नु विपक्षी राजनीतिक दलको धर्म हो । तर उद्योग वाणिज्य महासंघको चरित्र प्रकृति फरक हो । यो आफै न राजनीतिक दल हो न त कुनै दलको भातृ संगठन । बर्दिवास उद्योग वाणिज्य महासंघले भने अमुक राजनीति दलको भातृ संगठनको ब्यवहार प्रदर्शन गर्ने गरेको कतिपयको बुझाई छ । महासंघले ब्यापारीको हक, हितभन्दा विपक्षी राजनीतिक दलको भरिया बनेको बुझाईका कारण मेयर पक्ष असन्तुष्ट रहेको बताइन्छ ।
मेयर र उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काको जुधाईमा ‘हाम्रो माया घर’ लाई मिचाईमा पारिएकामा भने धेरैको दुःख ब्यक्त गरेका छन् । उद्योग वाणिज्य महासंघ उद्योगी ब्यापारीको हक, हितको पक्षपोषण गर्ने संस्था हो भने ‘हाम्रो माया घर’ सबैको साझा हो र एक परोपकारी चरित्रको संस्था हो । मधेश प्रदेशकै शानको रूपमा रहेको एउटा परोपकारी संस्थालाई कुनै पनि वहानामा विवादमा घसिट्न नहुनेमा कसैको दुई मत देखिदैन । यस पटक ‘हाम्रो माया घर’ले महोत्सव आयोजनाको अनुमति पाईसकेको, त्यसमा धेरै ब्यापारीकै सहभागिता भएकाले पनि उद्योग वाणिज्य संघजस्तो गैर सरकारी, गैर राजनीतिक चरित्रको संस्थाले विवादलाई धेरै तन्काउन नहुने मत प्रवल छ ।