एमाले महोत्तरीले थाल्यो वडा केन्द्रित ‘जरा अभियान’

banner

महोत्तरी, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमाले महोत्तरीले तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सुरु गरेको गरेको छ । सो कार्यक्रको सोमबार एक कार्यक्रमकाबीच एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) ले उद्घाटन गरेका हुन् ।

आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर चलिरहेको ‘मिसन(८४’ अभियानसँगै नेकपा एमाले महोत्तरी वडाकेन्द्रित अभियानमा जुटेको हो ।

केन्द्रीय कमिटिको निर्णय अनुसार नेकपा एमाले महोत्तरीले संगठनका कमजोरी, जनताको चासो र गुनासो संकलन गरी सम्बोधनको प्रयास गर्ने उद्देश्यसहित अभियान सुरु गरेको नेकपा एमालेका उपाध्यक्ष थापाले बताए ।

‘जरा अभियान वडा केन्द्रीत कार्यक्रम हो । जनतासम्म पुग्ने भेटघाट गर्ने, समस्या के हो ? आवश्यकता के के छन् ? संकलन गर्ने र कार्यान्वयनमा पहल हुनेछ,’ उपाध्यक्ष थापाले भने , ‘हाम्रा पलामा भएका कामहरुको प्रचार गर्दै एमालेमाथि हाल भइरहेको साइबर आक्रमणलाई साइबरबाटै प्रतिकार गर्न पनि अभियानले सहयोग पुग्नेछ ।’

एमालेको नेतृत्वमा भएका राम्रा कामहरू जनतासम्म पुर्याउन र जनताको सुझाव संकलन गरेर समृद्धिको कार्यक्रम तयार गर्न यो अभियान संचालन गरिएको एमालेका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठले बताए । तीन महिने अभियान भने पनि प्रदेशस्तरीय, जिल्लास्तरीय अभिमुखिकरणमै दुई महिना वितेको उनले बताए । उनले भने ‘अब दुई महिना छ । चैत्र मसान्तसम्म यो कार्यक्रम सञ्चालन हुनेछ ।’

वडा केन्द्रित अभियान अन्तर्गत स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरु प्रत्यक्ष रुपमा खटिने उनले जानकारी दिए ।

संगठनका कमजोरी, जनताको चासो र गुनासो के छ भन्ने कुरा त्यो अभियानको क्रममा संकलन गरिने र सम्बोधनको प्रयास हुने कार्यक्रमका अर्कावक्ता एमाले पोटिब्युरो सदस्य तथा महोत्तरी इञ्चार्ज रामदयाल मण्डलले बताए ।

‘जनसंगठनमार्फत विभिन्न पेसा र व्यवसायमा रहेका गैरएमाले पंक्तिलाई एमालेको नजिक ल्याउने काम यो अभियानमा हुन्छ,’ केन्द्रिय सदस्य तथा मधेश सरकारका भौतिक पूर्र्वाधार मन्त्री सरोज यादवले भने ‘जरा अभियानमा एमालेले नेतृत्व गरिरहेका र यसअघि नेतृत्वमा हुँदा गरेका कामहरूको प्रचार अभियानका क्रममा हुनेछ ।’

स्थानीय तह तथा वडा कमिटी अधिवेशन सम्पन्न गर्ने, आगामी चैतभित्र संगठित सदस्य नवीकरण, जनसंगठन कमिटी गठन, सरकारको समृद्धिको अभिायनलाई सफल बनाउने ‘एजेन्डा’ अघि राखेर सम्बन्धित निकायमा दबाब दिनेलगायत कार्यक्रम गरिने नेकपा एमाले महोत्तरीका अध्यक्ष बलिराम यादवले बताए ।

तीन वटै तहमा रहेर जनताको हितमा एमालेले काम गरिरहेकाले त्यसको प्रचारमा पनि पार्टीपंक्ति परिचालन गरिने यादवको भनाई छ ।

‘अभियानका क्रममा हुने महत्वपूर्ण काम भनेको जनतासँग एमालेलाई अझ कसिलो गरी जोड्नु हो । ‘यो अभियानमा एमालेले जनताबाट सिक्ने र जनतालाई सिकाउने नीति कार्यान्वयन गर्नेछ,’ अर्का स्थायी कमिटी सदस्य सुमन प्याकुरेलले भने। सो उद्घाटन कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा संगठन विभागका सचिव माधव ढुङ्गेल, एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डललगायतले वडा केन्द्रित कार्यक्रम बारे गरिने कामका बारेका प्रष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार