बर्दिवास, ७ फागुन । तपाईहरूलाई आश्चार्य लाग्ला, बर्दिवासको एउटा वडामा यत्तिको वजेट कसरी आयो ? हो ! यस्तै आश्चार्य लाग्ने कामलाई कुशलतापूर्वक सफल बनाएका छन, बर्दिवास –३ का वडाध्यक्ष बिराट विष्टले । उनको गतिशिलता देखेर विपक्षी पनि छक्क परेका छन् ।
अहिले साविकको गौरिवास हाल बर्दिवास –३ मा २६ करोडको लागतमा विभिन्न पूर्वाधार विकासको काम भइरहेको उनले सुनाए । अन्य वडा लाखमा हिडिरहेकामा वडानं. ३ का करोड मात्र होइन २६ करोड वढीका योजना सञ्चालन हुनु चानचुने कुरा नभएको स्थानीय स्वीकार्छन् ।
वडानं. –३ बर्दिवास नगरको तुलनात्मकरूपमा विकट भौगोलिक क्षेत्रसमेटिएको वडा भएको बताउदैं वडाध्यक्ष बिष्ट यहाँ हरेक बस्तीमा बाटो पुर्याउनुनै पहिलो प्राथमिकता रहेको धारणा राख्छन् । अहिले लगभग बाटाघाटाका काम सकिएको उनले जानकारी दिए ।
यस वडामा स्थायी बसोवास गर्ने ८ हजार मात्र उल्लेख गरिए पनि अस्थायीसमेत जाड्दा १६ हजार बसोबास गरिरहेको उनको दावी छ । यत्रो जनसंख्याको लागि विकासको पूर्वाधार भनेको शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र बाटो नै भएको बताउँदै उनी भन्छन् ‘बाटो नै नभए स्थानीय उत्पादन वजार कसरी पुर्याउनु ?’ त्यसैले बाटो पहिलो प्राथमिकतामा परेको हो ।
पहिले एउटा सिटामोल किन्न लगभग २० किलोमिटरको दूरी पार गरेर बर्दिवास आउनुपर्थ्यो अहिले त्यस्तो अवस्था नरहेको उनले बताए । अहिले माथिसम्मै स्वास्थ्य चौकी स्थापना गरिएको छ । आफ्नो पालामा खेलमैदान र सभाहल निर्माणका लागि ४ विगाहा १० कट्ठा जमिन छुट्ट्याउन सकेकामा ठूलै सफलता प्राप्त गरेको वताउँने वडाध्यक्ष बिष्टले वीपी गौरीडाडादेखि पाटुसम्मको पिच बाटो देखाउँदै भने ‘यो पनि मेरै पालामा भएको हो । अहिले पाटुबाट बर्दिवास आउने स्थानीय यही बाटो प्रयोग गर्छन ।’
अहिले संघीय सरकारको वजेटबाट भप्सी–हातिमारा पक्की पुल निर्माण भइरहेको छ । अब केही दिनमै प्रदेश सरकारको वजेटमा भप्सी–राइमण्डल कालोपत्रेको काम सुरु हुन्छ । १३ करोड ७० लाखको लागतमा निर्माण हुने यो कालोपत्रे बाटोले यहाँको जनताको जीवनस्तरमा ठूलो परिवर्तन ल्याउने उनको विश्वास छ । यो पर्यटकीय गन्तब्य बन्न सक्छ ।
यसबाहेक कृषि क्षेत्रको विकासका लागि पाटुमा विद्युतिकरणको काम हुने भएको छ भने राजावासमा पक्की कुलो निर्माण लगभग सम्पन्न भएको वडाध्यक्ष बिष्टले जानकारी दिए । पहिले विद्यालय चुहिने थिए अहिले मर्मतसंभार भइसकेका छन् भने कतिपय स्थानमा नयाँ भवननै निर्माण भएको उनले बताए । यतिका काम त्यसै भएका छैनन् यसमा आफ्नोे दिनरातको मेहनत रहेको बताउँदै उनी भन्छन् ‘मैले धेरै गर्व गर्ने र फुर्किने ठाउँ छैन, किनभने यसैका लागि जनताले एमालेलाई जिताका हुन् । यो एउटा जनप्रतिनिधिको नियमितको डिउटी हो ।’
यसबाहेक कालापानीको पिकनिकस्पट, गौरीडाडा नजिक रातु नदी किनारमा रमणिय पोखरी निर्माणको काम भइरहेको छ । पोखरीलाई सौन्दर्यीकरण गरेर, त्यसमा पाइडलबाट चच्ने बोट चलाएर त्यही बाटबाट बल्छीले माछा मार्न सक्ने गरी योजना बनाइएको उनले सुनाए । यो ठाउँ बर्दिवासबाट २ किलोमिटरकै दूरीमा रहेकाले पर्यटकको खडेरी नहुने उनको विश्वास छ । पर्यटकबाट आम्दानी हुने रकम बर्दिवासको जनता स्कुललाई दिने सहमति भएको उनले जानकारी दिए ।
बर्दिवासकै अन्य वडाध्यक्षले नगर वजेट दिएन, भेदभाव गर्यो भन्ने गुनासो सार्वजनिकरूपमै प्रकट भइरहँदा बिराटको भने नगरसंग कुनै गुनासो छैन । उनी भन्छन् ‘नगर प्रमुख वा नगरपालिकासंग असन्तुष्टी जनाउनु बेकार हो । वजेट वाँडफँड त हामी (वडाध्यक्षहरू) ले नै गर्ने हो । यसमा अरूलाई दोष दिने त म ठाउँ देख्दिन ।’
बर्दिवास नगरपालिकाको आफ्नै कुनै ठूलो आम्दानीको श्रोत नभएको उनी बताउँछन् । खोलानालाको ठेक्कबाट बाहेक अन्यबाट विकास निर्माणमा सघाउ पुर्याउने खालको ठूलो रकम आम्दानी नभएको उनले बताए । संघीय र प्रदेश सरकारको वित्तीय हस्तान्तरण अनुदाननै नगरपालिकाको विकासमा खर्च गर्ने श्रोत भएको उनले जानकारी दिए ।