ड्राइभरले ट्राफिकलाई भने – हरि दाई ! हरि दाई ! यस्तो नगर्नुस् न !

banner

बर्दिवास, ९ फागुन । ‘हरि दाई ! हरि दाई ! तपाई चिनेको दाई भएर पनि यस्तो नगर्नुस् न हत्तेरिका !’ ड्राइभरको यो भनाई ती ट्राफिकले नसुने झै गरे । मानौं, एकतर्फी चिनेको होस् ।

यो ठाउँ थियो विपी राजमार्गअन्तर्गतको भकुण्डेवेशी प्रहरी पोष्ट । रातो प्लेट भएकाले रोक्नु पर्ने वाध्यता नभए पनि अगाडि उभिएका ट्राफिकले रोक्न इशारा गरेकाले ड्राइभरले रोकेका थिए । ती ट्राफिकले गाडी केही अगाडि लगेर रोक्न इशारा गरे ।

अगाडि लगेर गाडी रोकिएको मात्र के थियो ती इशारा गर्ने ट्राफिक प्रहरी त्यहीँ आइपुगे । ड्राइभरको सिटको झ्यालबाट चिहाउँदै भने ‘खोई कागजपत्र देखा !’ गाडी भित्र ड्राइभरसंगैको लामो सिटमा हामी तीन जना थियौं । ड्राइभर, मालिक र म । मालिकले आफू अगाडिको गाडीको घर्राबाट ब्लुबुक र लाइसेन्स निकालेर ड्राइभरको हातमा के दिन खोजेका थिए, ती ट्राफिकले फुत्त तानेर हातमा लिएर पछाडि हेर्दै नहेरी पोष्टतिर लागे । ड्राइभरले माथिका सम्बोधन गरिरहे, तर उनको कानमा बतास लागेन ।

ड्राइभरले झर्किदैं मालिकलाई भने ‘मैले हिजै भनेको थिएँ नि ! खोई दिनुस हजारको नोट ।’ मालिकले खल्तीबाट हजारको नोट निकालेर ड्राइभरलाई दिए । ड्राइभर गाडीबाट ओर्लिएर ती कागजपत्र लिएर जाने ट्राफिक पछ्याउदै गए । केही क्षणमै कागजपत्रसंगै त्यो हजारको नोट पनि मालिकलाई दिएर भने ‘राख्नुस दुइटै गाडीको एकै चोटी दिन भनेको छ ।’ पत्रकारको जातै जिज्ञासु सोधें ‘के हो यो ?’ उनले जवाफ दिए ‘हाम्रो दुइटा यस्तै साना मालवाहक गाडी छन् । त्यसैले दुइटै गाडीको एकै पटक दिन भनेका हुन । महिना नाघेको आज एक हप्ता भएछ के छोड्थे त ?’ उनी बोल्दै गए –

यो राजमार्गमा हिड्ने हरेक गाडीले ट्राफिकलाई महिनावारी बुझाउनै पर्छ । नबुझाए उ..यस्तै गर्छन । देख्नु भयो नि ?

ती ड्राइभरले भने ‘मालवाहक हुन् वा यात्रुवाहक सबैले बुझाउनै पर्छ । कहिलेकाँही हिड्नेलाई शायद लिदैनन् ।’ साना सवारी भएकाले हरेक पोष्टमा महिनाको एक हजार बुझाउने गरेको उनले बताए । हामी बर्दिवास तिरबाट कहिले तरकारी कहिले भैंसी बोकेर काठमाडौं ल्याउँछौं । यताबाट रित्तै फर्कन्छौं ।

उनी बोल्दै गए ‘हामी प्राय ः राति हिड्छांै । भैंसी ल्याउँदा यस्तो सानो सानो गाडीमा पाँचवटासम्म कोचेको हुन्छ । कतिको ठेलिएर, डेस्सा लागेर रगत बगेको हुन्छ । विजोगै देखिन्छ नि ! त्यो देख्दा सबैको आँखा पर्छ, अनि ट्राफिकले अत्तिनै दुःख दिन्छ । राति त डिउटी खर्च पनि दिनु पर्छ’ उनले थपे ‘जाडोमा बसेको हुन्छ । चिया खाने खर्च माग्छन् । जुन– जुन पोष्टमा सडकमा अगाडि उभिएको हुन्छ ५० रुपैयाँ हातमा राखी दिनु पर्छ ।’ यो हरेक पोष्टमा दिने महिनावारी बाहेकको हो । यस्तो पोष्ट विपी राजमार्गमा बर्दिवासदेखि धुलिखेलसम्मको १६० किलोमिटरमा ११ वटा रहेको उनले सुनाए ।

उनले सुनाउँदै गए ‘हामीलाई त सस्तो हो । गाई बोक्ने गाडीले त महिनाको २५÷३० हजार बुझाउनु पर्छ हरेक पोष्टमा ।’ मेरो जिज्ञासा झन् बढ्यो ‘गाई !’ उनले भने तपाईलाई थाहा छैन ‘पहाडबाट गाईहरू जम्मा गरेर इन्डिया लगिन्छ । गाई बोकेका गाडी दिउसो गुड्न दिइदैन । एउटा गाडीमा २५ भन्दा बढी गाई कोचिएका हुन्छन् ।’

मैले भनें ‘यो त लुट हो ।’ ड्राइभरले भने ‘यी ट्राफिकले हामीलाई सहयोग पनि गर्छन । काठमाडौं शहरमा कतै कुनै ट्राफिकले दुःख दियो भने हामी यी चिनेका ट्राफिकलाई फोन गर्छौं र यीनका ब्याजी हुन्छन् ती हामीलाई छोडिदिन्छन् । घाटा मात्र छैन । सहयोग पनि पुर्याउँछन् ।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार