बर्दिवास शैक्षिक महोत्सवमा विद्यार्थीका सीप प्रदर्शनी

banner

बर्दिवास, १० फागुन । बर्दिवास शैक्षिक महोत्सवमा विद्यार्थीका थरीथरीका सीप प्रदर्शन गरिएको छ । ‘सबैको लागि हामी’ नामक गैरसरकारी संस्थाले बर्दिवास नगरपालिकासंगको सहकार्यमा पहिलो पटक आयोजना गरेको यो महोत्सवमा प्रदर्शन गरिएको सीपले यस भेगका विद्यार्थी अध्ययनमा मात्र होइन अतिरिक्त क्रियाकलापमा पनि अब्बल छन् भन्ने प्रमाणित गरेको छ ।

बर्दिवास नगरपालिका भित्रका निजी र सामुदायिक गरी ३४ वटा विद्यालयले सो महोत्सवमा सहभागिता जनाएको आयोजकले जनाए । हरेकले आफ्नो विद्यालयको पहिचान झल्कने गरी अलग–अलग राखिएको स्टलमा विद्यार्थीले आफैले बनाएका विभिन्न सामाग्री प्रदर्शनमा राखिएका थिए । दुरविन, घर, चुल्हो, कराई, ओदानदेखि प्रदर्शनमा लोप हुँदै गएको ढिकी, जाँतो र कोलसम्म देख्न सकिन्थ्यो । प्रदर्शनमा राखिएका सामाग्रीले विद्यार्थीको सीप उजागर गर्ने मात्र नभई शैक्षिक सामाग्रीका रूपमा पनि प्रयोग गर्न मिल्ने एक शिक्षकले बताए ।

सोमबारसम्म गरेर दुई दिन चल्ने सो महोत्सवको आइतबार एक समारोहबीच बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले उद्घाटन गरेका थिए । आयोजक संस्थाका अध्यक्ष रवि निरौलाको सभापतित्व र सोही संस्थाकी सदस्य अनु खनालको सञ्चालनमा सम्पन्न उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख क्षेत्रीले यो महोत्सव मार्फत विद्यार्थीलाई अध्ययनसंगै अतिरिक्त क्रियाकलापमा पनि प्रोत्साहन गर्ने उदेश्य रहेको बताए । यस्ता महोत्सवले विद्यार्थी तथा शिक्षकमा एक आपसमा अनुभव र सीपको आदान प्रदान हुने मात्र नभई एकअर्काप्रति प्रतिस्पर्धी भावनाको पनि विकास हुने उनको धारणा थियो ।

उद्घाटन समारोहमा देउराली माविका शिक्षिकाहरूको स्वागत नृत्य, ग्लोबल एकेडेमीको राष्ट्रियताको भावना जागृत गर्ने नृत्यका साथै पाटु माविका विद्यार्थीको बाल बिबाहविरुद्धको सन्देश्मुलक दोहोरीले सबैलाई मन्त्रमुग्ध पारेको थियो । महोत्सवमा सोमबार विद्यालयहरूबीच नृत्य प्रतियोगिता हुने आयोजकले जनाएका छन् । महोत्सवमा विद्यार्थीको सीप उजागर गर्ने स्टल मात्र राखिएको नभई बक्तृत्व प्रतियोगिता, साहित्यिक प्रतियोगितासमेत समावेस गरिएको र उत्कृष्ट विद्यार्थीलाई पुरस्कारको व्यवस्था पनि गरिएको आयोजकले बताएका छन् । उत्कृष्ट विद्यार्थीलाई सोमबार आयोजना हुने समापन समारोहमा पुरस्कृत गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार