ईश्वरी काफ्ले
शुक्रबार (हिजो) राजावदी भनाउदाहरूले जे जे वितण्डा गरे त्यसको प्रचण्ड, ओली र ज्ञानेन्द्र समान भागिदार छन् । यसो भनिरहँदा कतिलाई अचम्म लाग्ला ! तर सत्य यही हो ।
हिजोको घटनामा सरकारले नै ठहर्याएको मुख्य दोषी दुर्गा प्रसार्इँ हुन । दुर्गा प्रसाईको मनोवल यहाँसम्म पुर्याउन माथिका तीन जनाको उत्तिकै योगदान छ । सुरुमा दुर्गा प्रसाईको कु–चाहनालाई बल पुर्याएर उसले जे भन्यो त्यही गरिदिएर जग्गा, जमिन र धन जोड्न प्रचण्डले सहयोग गरे । ओलीका सयौं गुण छन्, समकालिन नेतामा ओली जत्तिको भिजनरी कोही छैन । यसको म मुण्तकण्ठले प्रसंशा गर्छु । तर उनको कमजोरी भनेको उनको प्रशस्ती गाइदिए पुग्छ, उनको गुनगान जसले जति कला, गला मिलाएर गाउँछ भनेजति पारितोषिक पाउँछ र पाइरहेको छ । त्यसैले उनले दुर्गा प्रसाईलाई एमालेको केन्द्रीय सदस्यसम्म बनाए । हामीलाई लाज लाग्यो ओलीलाई लागेन ।
आज प्रचण्ड र ओलीले बनाइदिएको दुर्गा प्रसाईंको उचाईलाई ज्ञानेन्द्रले उपयोग गरेको मात्र हो । दुर्गाले प्रचण्ड र ओलीजस्ता चतुरलाई उपयोग गरे भने ज्ञानेन्द्रको राम्रै सेवा गरिरहेका छन् । यसमा ज्ञानेन्द्रले दुर्गामार्फत जति पैसा खर्च गरेका छन् त्योभन्दा धेरै लाभ दिएका छन् । कसरी भन्नु होला ! देश र विदेशमा बस्ने नेपालीको दिमागमा मुलुकप्रति नकारात्मकता घुसाई दिन उनी सफल भएका छन् । नेपाल बस्न लायक रहेन, सबै यी नेताले लुटेर खाए, व्यापार व्यवसाय यीनै नेताका कारण खत्तम हुँदैछ, मान्छे आत्महत्याका लागि विवश हुँदैछ भनेर दिनैपिच्छे फलाकेर ऋणले पिरोलिएका कतिपयलाई आत्महत्याको बोटो रोज्न उक्साउने यीनै दुर्गा हुन । आज युवा धर्धरी रोएको छ, किनभन्दा यही दुर्गाजस्ताले फैलाएको नकारात्मक सन्देशले । देशमा सकारात्मक कुरा केही भएको छैन, भएको पनि सकियो, बस्न लायक रहेन, केही गर्न दिदैनन् आदी आदी गलत भाष्य निर्माण गर्न उनी सक्षम भए । त्यसकै परिणाम हो हिजोको ताण्डव ।
अब कसरी सच्चिने ?
पहिलो : अब हाम्रो करबाट ज्ञानेन्द्रलाई सुविधा दिन पाइदैन । यो तत्काल फिर्ता गरिनु पर्छ । उनी हिजोजस्तै राजगद्दीमा फर्कन्छन् भनेर हैन । विरेन्द्रको वंश विनासपछि नेपालमा स्वतः गणतन्त्र आएको हो । ज्ञानेन्द्र नेपालका ३ करोड नेपालीमध्ये सबैभन्दा मुर्ख व्यक्ति हुन्, जसले आफ्नो चिहान आफै खनिरहेका छन् । उनको फेरि श्रीपेच लगाउने सपना उही आफै बनाएर आफ्नै घरमा लगाए मात्र हो । तर उनले यस्तै, यस्तै (हिजोजस्तै) तनाव बाँचुञ्जेल दिइरहन्छन् । उनलाई हामीजस्ता समान्य नागरिक बनाउनु पर्छ शितल निवासमा सीमित पार्नु पर्छ । हिजोजस्तो उनको प्यादा सडकमा उफ्रे नेपाली जनता शितल निवासतिर अघि बढ्नु पर्छ । उनलाई ठेगान लगाउनु पहिलो शर्त हो ।
दोश्रो : नेपाली जनताले लडेर ल्याएको यो संघीय लोकतान्त्रिक गणतन्त्रको गरिमामय संसदमा गणतन्त्रविरुद्ध विष वमन गर्न पाईदैन । राप्रपा नामको गणतन्त्रविरोधि पार्टीलाई चुनाव लड्न प्रतिवन्ध लगाउनु पर्छ । अहिले भएकालाई निलम्वन गरेर कारवाही गर्नुपर्छ । लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र हो यसको विकल्प पश्चगमन हुन सक्दैन । आफै दास र रैती हुन हुन चाहनेलाई पैतालामुनी राख्नु अन्याय होइन ।
तेश्रो : हिजो सरकारले जे निर्णय गर्यो गलत छ । घाइतेको उपचार र हिजो भएको जनधनको क्षतीको जिम्मेवार ज्ञानेन्द्र साह, दुर्गा प्रसाई, नवराज सुवेदीलाई ठहर्याई उनीहरूबाटै असुल उपर गरिनु पर्छ । नेपाली जनताले राष्ट्र निर्माणका खातिर तिरेको कर दुरुपयोग गर्न पाइदैन । मानिदैन ।
चौथो : संविधान संशोधन गरेर निर्वाचन प्रणाली संशोधन गर्नुपर्छ । यति महंगो निर्वाचनले सही व्यक्ति चुनिनै पाउदैन । मुलुकको कार्यकारी प्रमुख र राष्ट्रिय पार्टीका अध्यक्षका लागि अवधि तोकिनु पर्छ । अहिलेलाई प्रचण्ड, ओली, शेरबहादुर, नेपाल, खनाललगायतले आ–आफ्नो पार्टीमा अभिभावक भएर बस्नु पर्छ ।
पाँचौ : उच्चस्तरीय सम्पति छानविन आयोग बनाउनु पर्छ । राजनीति गरेरै स्वदेश वा विदेशमा अकुत सम्पति थुपारेको पाइए, सम्पति जफत र आजिवन कारावासको सजाय दिइनु पर्दछ । यत्ति भए अहिलेलाई सबैको माग सम्बोधन हुन्छ ।