बर्दिवास, १८ वैशाख । इलाका प्रशासन कार्यालयका प्रमुख सुनिल शर्मा पौडेलले नियतवशनै सेवाग्राहीलाई दुःख दिने गरेको पाइएको छ । ऐनमा उल्लेख भएको र कार्यालयको वडापत्रमा लेखिएको सबै प्रमाण जुटाएर जाँदा पनि सहज सेवा पाउने विरलै भएको सेवाग्राही वताउँछन् ।
यस्तै उनी बाट दुःख पाउने मध्येका एक सेवाग्राही हुन् बर्दिवास –८ का विजय मरर । उमेरले आधा वैंश ढल्के पनि विजयसंग नेपाली नागरिकता छैन । कृषि मजदुर विजय मधेशी दलित समुदायभित्र पर्छन । पहिले उनलाई नागरिकताको महत्व थाहा भएन अहिले इप्रका प्रमुखले ठाडै दिन्न भन्छन् ।
विजयका बाबु, आमाका तीन सन्तान भएको उनी बताउँछन् । दाजु र दिदी वंशजको नाताले नेपाली नागरिकता धारण गर्छन तर, विजयको छैन । स्थानीयले नागरिकताको महत्व दर्शाएपछि उनी वडा कार्यालय पुग्छन् । बर्दिवास –८ का वडाध्यक्ष शमशेर सिंहले नागरिकताको सिफारिसको साथ जन्म प्रमाणित र दाजुसंगको नाता प्रमाणित गरिदिन्छन् ।
बाबुको वंशजको नाताले पाएको नागरिकता, दाजुको नागरिकता, बाबुको मत्यु दर्ता, दाजुभाईको नाता प्रमाणित र आफ्नो जन्म प्रमाणितका साथै वडाले नागरिकता प्रमाण पत्रका लागि गरिदिएको सिफारिस बोकेर उनी ईलाका प्रशासन कार्यालय पुग्छन् । तलका कर्मचारीले माथि हाकिमको तोक लगाएर ल्याउन विजयलाई भन्छन् ।
विजय हातमा कागज लिएर हाकिम सुनिल शर्मा पौडेलको टेबुलमा उभिन्छन् । सुनिलले कागज हेर्छन र भन्छन् ‘यो नागरिकता म दिन सक्दिन ।’ विजय लुरुलुरु तल झर्छन र गाउँकै एक सहयोगिलाई हाकिमले भनेका कुरा सुनाउँछन् । ती छिमेकी गाउँलेले सुनिललाई प्रश्न गर्छन ‘यसको काम किन नहुने हो ?’ सुनिलले उत्तर दिन्छन् ‘हेर्नुहुन्न ? बाबु र जेठो भनिएको छोराको उमेर ११ वर्षमात्रको फरक छ । ११ वर्षमा कसैले वच्चा जन्माउन सक्छ ?’ त्यसपछि उनी कागज छुनै मान्दैनन ।