बर्दिवास, २० वैशाख । नेपाल पत्रकार महासंघका केन्दीय सदस्य राजकरण महतोलाई सार्वजनिक वेइज्जती गर्ने जनता माध्यमिक विद्यालय डाडाटोल विजलपुराका प्रधानाध्यापक भरत यादवमाथि छानविन गरी कारवाही माग गरिएको छ । पत्रकार सम्वद्ध संघ, संस्था र नेपाल पत्रकार महासंघ, केन्द्र, प्रदेश र जिल्लाले छुट्टा छुट्टै विज्ञप्ति जारी गरी प्रअ यादवमाथि छानविन र कारवाहीको माग गरेका हुन् ।
सूचना मागेकै आधारमा पत्रकार महतोविरुद्ध प्रअ यादवले विद्यालयका शिक्षकहरूको वैठकको निर्णय भन्दै खेद प्रस्ताव पारित गरी सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । कुनै व्यक्तिविरुद्ध खेद प्रस्ताव भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्नु सार्वजनिकरूपमा चरित्रहत्या गरिनु वा गाली, वेइज्जत गरेसरह हो । प्रअ भरत यादवको यो शैली दादागिरी भएको स्थानीय बताउँछन् ।
सार्वजनिक सरोकारका विषयको सूचना माग्नु पत्रकारको मात्र होइन हरेक सचेत नागरिकको अधिकार हो भने यस्तो सूचना दिनु सरोकारवाला निकायको कर्तब्य हो । सूचना माग्ने पत्रकारविरुद्ध खेद प्रस्तावभन्दै सामाजिक सञ्जालमा पोष्ट गर्नु प्रअ यादवको दादागिरीको पराकाष्ठा हो ।
पत्रकार महतो स्थानीय र सोही विद्यालयबाट माध्यमिक तहको शिक्षा आर्जन गरी अहिले पत्रकारितातथा आम सञ्चार विषयमा स्नातककोत्तरसम्मको अध्ययन पुरा गरेका छन् । आफूले अध्ययन गरेको विद्यालयको खस्कदो शैक्षिक स्थितिको वारेमा चिन्ता र चासो राख्नु हरेक सचेत नागरिकको कर्तब्य पनि हो । यही चिन्ता र चासो राखेको आधारमा दुव्र्यवहार खेप्नु पर्ने स्थिति आउनु विडम्बना भएको नाम नलेख्ने शर्तमा एक स्थानीयले बताए ।
संविधानअनुसार विद्यालयहरू स्थानीय निकाय मातहत रहेका छन् । आफ्नो नगरपालिकाभित्रको विद्यालयको शैक्षिक गुणस्तर सुधार्नु स्थानीय सरकारको जिम्मेवारी हो । विद्यालयको शैक्षिक स्थितिको वारेमा चिन्ता र चासो व्यक्त गर्ने नागरिकलाई दुव्र्यवहार गरिन्छ भने त्यस्ता शिक्षक र प्रअले विद्यार्थीलाई के सिकाइरहेका छन् ? बर्दिवास नगरपालिकाको ध्यान जानु आवश्यक छ । प्रअ यादवमाथि छानविन गरी हदैसम्मको कारवाही गरिनु पर्ने आम धारणा रहेको छ ।