बर्दिवास, ११ जेठ । नेपालीमा एउटा उखान छ ‘काशी जानु कुत्तिको बाटो’ हो त्यसलाई चरितार्थ गरेको छ टुटेश्वर जाने बाटोले । टुटेश्वर र खयरमारा –१० का अधिकांश स्थानीय अहिले बर्दिवास वजार आउजाउ गर्न गढन्ताको बाटो प्रयोग गर्छन ।
गढन्ताको बाटो महेन्द्र राजमार्गदेखि वस्तीसम्मै पिच भएको छ भने खयरमाराको बाटो राजमार्गदेखि करिव ९०० मिटरसम्म मात्र । गढन्ताबाट टुटेश्वर जाँदा थोरै ग्राभेल काटे पछि ढलान र पिच आउँछ, टुटेश्वरको बाटो हिड्दा खाल्डाखुल्डी र ग्राभेल । ग्राभेल पनि मोटरसाइकलका यात्रीलाई दुर्घटना गराउने खालको ।
वडानं. ५ को कार्यालयसमेत रहेको गढन्ताको बाटो मधेश सरकारको बजेटमा पिच भएको हो भने टुटेश्वरको बाटो बर्दिवास नगरपालिकाले जुठो पारेर छाडेको स्थानीय बताउँछन् । नगरपालिकाले काम सुरु गरेकाले अन्य निकायले हात हाल्न मानेका छैनन् भने नगरपालिकाले आजभोली भन्दै ३ वटा आर्थिक वर्ष कटाएको स्थानीयको कथन छ ।
उता टुटेश्वरमा गुम्बा र टुटेश्वरनाथ मन्दीर परिसरको सौन्दर्यीकरणको काम हुँदैछ । अबको दुई महिनापछि सो धार्मीक क्षेत्र स्थानीय र वाह्य पर्यटकका लागि लोभ्याउने खालको हुनेछ । स्थानीय युवायुवतीलाई समेत लक्षित गरेर सौन्दर्यीकरण भइरहेको यो स्थान पहिलेदेखि नै प्राकृतिक सौन्दर्यले सिंगारिएको छ । अहिले भइरहेको भौतिक सौन्दर्यीकरणले यस क्षेत्रलाई सुनमा सुग्न्धको काम गर्नेछ । तर बाटो खै ? बाटो त उहि उखान जस्तो ‘काशी जानु कुत्तिको बाटो !’