बर्दिवास, २० जेठ । बर्दिवास वा गौशालाका ग्रमिण भेगका जमिन प्रतिकट्ठा कतिमा ठेक्का लाग्ला ? अधिकतम ३ हजारसम्म वार्षिक ! तर गौशाला नगरपालिका –८ का किसान काशी महतोले आफ्नो घरसहितको साढें तीन कट्ठा जमिनबाट महिनामै ३० हजार बढी आम्दानी गरिरहेका छन् ।
गरे के हुदैन ? धर्ति माताको विधानपूर्वक पुजा गरे यही माटोबाट सुनको अण्डा कोरल्न सकिने उदाहरण बनेका छन् अहिले काशी महतो । मधेशमा महतो (कोइरी) जातीय समुदायलाई तरकारी उत्पादनमा महारथी मानिन्छ । त्यसमा पनि हेपेर वा जिस्क्याएर भन्दा ‘भान्टा व्यापारी’ भनिन्छ । भान्टा तरकारी प्रजातीको वनस्पती हो ।
हो ! यही भान्टामा गरेको एउटा नयाँ प्रयोगले सफलता पाएपछि उनले यही भान्टाबाट सुनजस्तै आम्दानी लिन सफल भएका हुन् । केही वर्षदेखि भान्टा उत्पादनमा ठूलो ह्रास आयो । ‘अब यो तरकारीको प्रजाति लोप पो हुने हो की भन्ने स्थिति आयो’ उनी भन्छन् ‘ अनि नयाँ ढंगले सोच्न वाध्य बनायो ।’
पहिलो संविधानसभाको निर्वाचनमा सयभन्दा कमको मतान्तरले पराजित भएपछि उनी पुख्र्यौली पेसा तरकारी खेतीमा फर्के र भान्टाखेतीलाई पुनर्जिवन दिन के गर्न सकिन्छ भनेर सोच्न थाले । अन्य फलफुलका विरुवाको क्रस गरेर नश्ल सुधार गर्दा उत्पादन बढ्छ भने तरकारीमा पनि यस्तो प्रयोग किन नगर्ने भनेर उनको दिमाग घुम्यो ।
उनले आफ्नै दिमागले भान्टाजस्तै देखिने जंगली वनस्पती जसलाई स्थानीय भाषामा (गुलभान्टी) भनिन्छ, त्यसको जरामा उन्नत प्रजातिको भान्टाको हाँगा जोडे । एक वर्षमै त्यसले राम्रो नतिजा दियो । अर्थात उनको यो प्रयोग सफल भयो । यसरी आँपलगायतका फलफुलको कलमीजस्तै यो भान्टाको कलमी पनि राम्रो उत्पादन दिन सक्ने रहेछ भन्नेमा उनी ढुक्क भए ।
त्यसपछि उनी यसलाई व्यवसायिकरण गर्न तम्सिए । दुई÷तीन वर्ष प्रयोगमै सीमित रहेका उनी अहिले यसको व्यवसायिक प्रवद्र्धनमा जुटेका छन् । अहिले उनलाई यसको कलमी बेच्न भ्याइनभ्याई छ । माओवादी सशस्त्र जनयुद्धमा बन्दुक वोकेर वर्षाै विताएका उनको हातमा अहिले जतिसुकै बेला पनि खुर्पी, कोदालो र ब्लेड कहिले छुट्दैन । कादालोले जमिन खन्ने, खुर्पीले गाडमेल गर्ने र यही भान्टा र भान्टा प्रजातीको गुलभान्टी लगाउने अनि ब्लेडले छिलेर यी दुवैलाई जोड्ने ।
एउटा विरुवा रु २० मा विक्रि हुने गरेको उनले सुनाए । दिनमै १५ सय विरुवा फर्ममै आएर किसानले लाने गरेको उनी बताउँछन् । ‘अहिले त कतै जाने फुर्सत छैन’ उनले भने ‘यही कलमी उत्पादन र विक्रिमै ब्यस्त छु ।’ हुन त उनी अहिले पनि नेकपा (माओवादी केन्द्र)को प्रदेश कमिटीमा संगठित छन् । तर, उनलाई अब राजनीतिमा उति उचि छैन । उनी भन्छन्‘जुन सान्तवादकाविरुद्ध हिजो बन्दुक बोकेर हिडियो, गणतन्त्र स्थापना भएपछि सामन्तवादको अन्त्य भयो भन्ने ठानियो, तर अहिले पार्टीभित्रै नयाँ सामन्तीहरू जन्मिए ।’ उनले आफ्नो विरक्ति सुनाउँदै भने ‘हिजो पनि बसी खाने वर्गकाविरुद्ध गरीखाने वर्गलाई संगठित गरेर धावा बोलिएको थियो, अब फेरी आफ्रजस्तै गरीखाने वर्गलाई संगठित गरेर अघि बड्ने सोच पलाएको छ ।’
आफूले कनिकुथी एसएलसी उतिर्ण गरेको बताउने उनी भन्छन् ‘कृषि विषयमा औपचारिक अध्ययन भएको भए अझै यस्ता नयाँ नयाँ कुरा गर्न दिमाग घुम्थ्यो होला ।’ कान्छो छोराले कृषि विषयमा उच्च शिक्षा हासिल गरे हुन्थ्यो भन्ने उनको इच्छा छ । तर उ भर्खर १२ कक्षामा अध्ययनरत् छन् । जेठो छोरोले चिकित्ाि शिक्षा रोजेर एमबिबिएस गरिसकेको बताउने उनी आफू ४ सन्तानको पिता भएको बताउँछन् । जेठी छोरीको बिबाह भइसकेको छ भने कान्छी छोरी व्यवस्थापन विषय अध्ययन गरिरहेकी छन् ।
बनस्पतीमा खास गरी जरामा लाग्ने रोगले लोप हुने गरेका छन् । यसको नश्ल सुधार गर्न सकिए जुनसुकै वनस्पतीले नयाँ जीवन पाउने र पहिलेकोभन्दा उन्नत पनि हुनेमा उनको विश्वास छ । त्यसैले उनी अब करेला, काँक्रालगायतका विरुवाको नश्ल सुधारमा जुटेका छन् । काँक्रोको प्रयोग त सफल भईसक्यो, अब व्यवसायिकरण गर्ने प्रयासमा रहेको बताउँदै उनले भने ‘अहिले करेलामा यो प्रयोग गरिरहेको छु ।’