बर्दिवास, २१ जेठ । रातु मित्र पार्क अहिले वेवारिसे बनेको मात्र होइन एकले अर्कालाई हिलो छ्याप्ने साधन बनेको छ । रोटरी क्लबको अगुवाईमा बनेको भनिने यो पार्क अहिले बेवारिसे र चरिचरनको थलो बेनेको छ ।
महेन्द्र राजमार्गदेखि दक्षिण रातु खोलाको पश्चिमी किनारको तटबन्धमा बनेको यो पार्क निर्माणमा संघ, प्रदेश र स्थानीय निकायको गरी करोडौं लगानी रहेको बताइन्छ । चक्रीय प्रणालीमा बदलीरहने रोटरीको नेतृत्वमा एउटाको नेतृत्वको पालामा भएको कामको अर्कोले चासो नराख्दा यो पार्क बेवारिसे बनेको बताइन्छ ।
एउटाले गरेको असल काम अर्कोले निरन्तरता दिनु पर्ने हो, तर जस सुरु गर्नेलाई जाने भएकाले निरन्तरता दिनुभन्दा जस र सस्तो लोकप्रियताका लागि आफैले नयाँ काम थाल्ने प्रवृति बढेकाले रोटरी क्लब बर्दिवासनै विवादमा फसेको स्थानीय बताउछन् ।
हुनत सो ठाउँ पार्कका लागि कुनै पनि हिसावले उपयुक्त देखिन्न । करिव एक किलोमिटरको दुरीमा बाटो बनाइएकालाई अहिले पार्कको नामाकरण गरिएको छ । त्यसलाई पनि जहाँ टाइल ओछ्याइएको छ, त्यहाँ झार पलाउन नदिने दायाँ बाँया सुन्दर फुलहरू रोप्ने, सामान्य व्यायामका सामाग्रि राख्निे, पिउने पानी र सुस्ताउने (बस्ने) स्थानको व्यवस्था मिलाउने हो भने अहिले पनि बर्दिवासका स्थानीयका लागि साँझ, विहान टहल्ने गन्तव्य हुन सक्छ ।
तर, त्यसलाई कसरी व्यवस्थित बनाउने र अधुरा काम पुरा गर्ने भन्दा रोटरी नेतृत्व एकअर्कालाई खुइल्याउन लाग्नाले सो पार्क समाचारको मसला र खिसिटेउरीको थलो बनेको छ ।