बर्दिवास, ३० जेठ । महोत्तरी जिल्लाको औरही नगरपालिका –२ चेपकोटको मुसहरवस्ती काया फेरिरहेको छ । मुसहरवस्ती भन्ने वित्तिकै झुरुम्म परेको वस्ती, बाँसका टाटमा माटोले पोतेका भित्ता र खर वा परालका छाना मष्तिस्कमा घुम्छन् । अब चेपकोटको मुसहरवस्तीले तपाईहरूको यस्तो धारणलाई गलत सावित गरि दिने भएको छ ।
यो मुसहरवस्ती अब पक्की घरमा परिणत भइरहेको छ । अघिल्लो आर्थिक वर्षमा २९ वटा र यस आर्थिक वर्षमा पनि सोही परिणामको पक्कि घर निर्माण भइरहेको छ । औरही नगरपालिकाले बहुवर्षिय योजना अन्तर्गत यो वस्तीको काया फेर्न लागेको हो । ‘दलित आवास योजना’ अन्र्तगत औरही नपाले सो मुसहरवस्तीको कच्ची माटोको घर विस्थापित गरी पक्की घर निर्माण गरिदिन लागेको हो ।
आफैले पक्की वा दुईतले टाइललगायतको छाना भएका घर हुनेहरू वाहेक अति विपन्न परिवारका लागि नगरपालिकाले पक्की घर बनाइदिन लागेको सो नपाका प्रमुख प्रसाशकीय अधिकृत माघवेन्द्र चौधरी बताउँछन् । प्रतिपरिवार दुई वटा सुत्ने कोठा, एउटा भान्सा र शौचालय रहेका छन् ।
यो मुसहर वस्तीका लागि औरही नपाका मेयर प्रदीप खड्का भगवान सरह भएको बताउदैं स्थानीय शंकर सदा भन्छन् ‘हामी पनि कुनै दिन पक्की घरमा बस्न पाउछौं भन्ने यहाँ कसैले कल्पनासमेत गरेको थिएन ।’ उनी वाहेक कोही अन्य मेयर भएको भए यस्तो नहुने उनले ठोकुवा गरे । उनी भन्छन् ‘अरु पनि मेयर भए, अध्यक्ष भए, प्रधानपञ्च भए, कसैले मुसहरको वारेमा सोचेको थिएन । हाम्रो दुःख यो मेयर वाहेक कसैले देखेको थिएन ।’
सो वस्तीका पाका सदस्य श्रीप्रसाद सदाकाअनुसार पानी पर्दा कहिले राम्ररी सुत्न पाइदैन थियो । टाइलको टाना लगाउने पैसा पनि कहिल्यै भएन, खरको छाना चुहिएर सुत्न नपादैन थियो । उनले भने ‘हाम्रो उमेर पनि उनलाई लागोस, धेरै–धेरै आशिर्वाद छ ।’