अहिले बर्दिवास र यस वरपर बर्दिवास प्रहरीको एउटा बहादुरीको निकै चर्चा हुने गरेको छ । निकै पहिले माइस्थानकी एक महिलाले आत्महत्या गरेको प्रकरणपछि सेलाएको प्रहरी, डिएसपी विकास बमको आगमनपछि फेरी चर्चामा आउन थालेको हो । एक ताका थियो बर्दिवासका होटलमा प्रहरीले निकै छापा माथ्र्यो र जोडीहरू पक्राउ गरेर बहादुरी देखाउथ्यो । अहिले फेरी उही क्रम दोहोरिएको छ ।
सहरोन्मुख बजार हो बर्दिवास । यो मध्य तराईलाई काठमाडौंसंग जोड्ने एक जंक्सन पनि हो । पूर्वपश्चिम महेन्द्र राजमार्ग बनिसक्दा पनि बर्दिवासमा कुनै चहलपहल थिएन तर, जब विपी राजमार्ग बन्यो बर्दिवासको आकर्षण ह्वात्तै बढेको हो । अहिले यो मधेश प्रदेशकै मध्य भागमा पर्ने भएकाले र गक्ष्यअनुसारको होटलहरूको सेवा पाउने भएकाले पनि अर्को आकर्षण छ । यो होटलहरूको सहर भनेर पनि चिनिन थालेको छ । होटल अर्थोपार्जनको माध्यम भए पनि यो एउटा सेवा पनि हो । बास नपाएकालाई केही रकम लिएर बास दिने भएकाले सेवामुलक व्यवसाय भनिएको हो ।
आफ्नो व्यवसाय कसरी सभ्य र मर्यादित, सुरक्षित बनाउने त्यो होटल व्यवसायीको आचारसंहिता भित्र पर्ने कुरा हो । कसैले उजुरी नगरेसम्म अन्य पक्षले यसमा हस्तक्षेप गर्न मिल्दैन । कुनै पक्षले पीडित भएँ भनेर प्रहरीमा उजुरी नगरेसम्म प्रहरीले हस्तक्षेप गर्न मिल्दैन । जुन होटलमा प्रहरीले हालै मध्यरातमा छापामारी गरेर जोडी पक्राउ गरेको छ, उनीहरूले बन्द कोठाभित्र यौन कर्मनै गरेका रहेछन् र त्यसले अरूलाई डिस्टर्ब गरेको छैन भने प्रहरीलाई के टाउको दुख्यो ?
समाचारमा जनाइएअनुसार पक्राउ परेका महिला नेपाली र पुरुष विदेशी थिए रे ! महिलाका आफन्तलाई प्रहरीले खबर गर्यो रे ! पक्राउ परेका महिला मध्येकी एक महिलाका पतिले लोकलाजका कारण आत्महत्या गरे भन्नेसम्मका हल्ला चलेका छन् । यदी यो सत्य हो भने प्रहरीलाई आत्महत्या दुरुत्साहनको मुद्दा किन नचलाउने ?
मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा पहिलो नम्बरमै ‘सम्मानीत रूपले बाँच्न पाउने’ अधिकार उल्लेख छ । यो घटनाले व्यक्तिको सम्मानीत रूपले बाँच्ने पाउने अधिकार हनन् भयो कि भएन ? नेपालको संविधानले व्यक्तिको गोपनीयताको अधिकारलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरेको छ । मौलिक अधिकार भनेको त्यस्तो अधिकार हो जसको हनन् भएको भन्ने लागेमा कानुनी उपचार खोज्न पाइन्छ । हो, तत्काल कुनै अपराध हुनेवाला छ भने प्रहरीले विना पुर्जी पनि व्यक्तिलाई पक्राउ गर्ने अधिकार राख्दछ । त्यसरी पक्राउ परेको व्यक्तिलाई पनि २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्छ र व्यक्तिलाई पक्राउ पर्नुको कारण वारे जानकारी दिनु पर्दछ । बर्दिवास प्रहरीले यो सब प्रक्रिया पुरा गर्यो कि गरेन उसैले जानोस ।
कोठामा चुकुल लगाएर सुतेका मान्छेबाट प्रहरीलाई र समाजलाई के हानी नोक्सानी भयो ? कोठाभित्र कसले के क्रियाकलाप गरेको छ भन्ने चिहाउनु सभ्य व्यक्तिका निमित्त लज्जाको विषय होइन ? उनीहरूबीच सहमतिमा यौन क्रियाकलापनै भएको थियो रे ! अब राज्यको कुन कानुन आकर्षित हुन्छ ? नेपालको कानुनमा सहमतिमा बन्द कोठाभित्र यौन कर्म गर्नेलाई के मुद्दा लगाउँछ ? प्रहरीले गर्नु पर्ने लठिभद्र अन्य काम हुँदाहुँदै यस्तो काममा प्रहरी किन फस्छ ? सस्तो लोकप्रिताको लागि ? कि कमिशन वा हप्ता नदिएको झोक ?
नेपालको राजधानी काठमाडौंको मुटु मानिने रत्नपार्क लगायतका ठाउँमै दिनदहाडै मोलमोलाई हुने गरेको त्यो बाटो भएर हिड्ने सबैले देख्ने गरेको छ । नजिकै प्रहरी कार्यालय पनि छ । कहिले यति जोडी पक्राउ परे भनेर समाचार आएको देख्नु वा सुन्नु भएको छ ? राजधानीमा त अहिले पुरुष वेश्या (जिगोलो) पनि प्रशस्त देखिन थालेका छन् । के प्रहरीलाई यस वारे थाहा नभएर पक्राउ नगरेको हो ?
मानौ, महिला पुरुषनै बिबाहित थिए रे ! बिबाहित महिला वा पुरुषबीच हुने सम्वन्धलाई बिबाहेत्तर सम्वन्ध भन्दछन् । धार्मीक कानुन भएका मुलुकबाहेक कसैले यसलाई अवैध भनेको छैन । भारतको सर्वोच्च अदालतले त यसलाई अवैधसमेत भन्न नमिल्ने भनेर व्याख्या गरेको छ । अदालतले सहवासलाई व्यक्तिको अधिकाररूपमा व्याख्या गरेको छ । बिबाहित पुरुष वा महिला पतिपत्नीबाहेक अन्य अबिाहित वा बिबाहित महिला वा पुरुषसंग यौन सम्वन्ध राख्दछन भने यसलाई भारतीय अदालतले आपसी मामला भनेको छ । भारतको सर्वोच्चले फैसलामा भनेको छ ‘महिलाको शरीरमाथि उसको अधिकार हुन्छ । यो तथ्यसँग सम्झौता गर्न सकिँदैन । यो पितृसत्तात्मक समाजको उपज हो । महिलामाथि कुनै पनि प्रकारको शर्त थोपर्नु गलत हुन्छ। पवित्रता केवल महिलाका लागिमात्र होइन, यो समान रुपमा श्रीमानहरूका लागि पनि लागू हुन्छ ।’
नेपालको सन्दर्भमा एक प्रसंगमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भनेका छन् दुई वयस्कको सहमतिमा सम्बन्ध हुनसक्छ। कानुनको काम हरेक व्यक्तिको कार्यमा प्रवेश गर्ने होइन। यो कानुनी प्रश्न भन्दा पनि नैतिक प्रश्न हो,।’बिबाहेत्तर सम्वन्ध अपराध होइन यो निजी मामला हो र नैतिक विषय हो भन्नेमा कतै विमति छैन । यदी अपराध होइन नेपालमा यसलाई सम्वन्ध विच्छेदको आधार बनाउन सक्ने तर, अपराधको कोटीमा राखेको छैन भने प्रहरीले के के न बहादुरी देखाए झै मध्यरातमा होटलमा छापा किन मार्यो ? अनि त्यसलाई पत्रकार बोलाएर प्रचार गर्नु भनेको प्रहरीले गरेको कार्य चैं अपराध होइन ?