बर्दिवास, १० असार । मधेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशमा शिक्षा र स्वास्थ्यमा ठूलो ठगी धन्दा चलेको बताएका छन् । मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले शिक्षा र स्वास्थ्यमा चलेको ठगी धन्दालाई रोक्न पालिकाहरूलेसमेत ध्यान दिनु पर्ने बताए ।
सम्बोधनका क्रममा मुख्यमन्त्री सिंहले भने ‘यहाँ त सासुको उपचार गराउन लैजाने ज्वाईले अस्पतालसंग कमिसन मागेको मैले नै भेटेको छु ।’ सासु भनेको आमा सरह हो, आमालाई उपचार गराउन लैजाँदा छोराले अस्पतालसंग कमिसन माग्छ भने हाम्रो समाज कता जाँदैछ भनेर आफू चिन्तित भएको उनले सुनाए । एम्बुलेन्स चालकले अस्पतालसंग कमिसन माग्ने कुरा सामान्य भएको छ । विरामी ल्याए वापत कमिसन दिनु परेपछि सो कमिसनको पैसा अस्पताले विरामीसंग असुल्ने हो, उनले भने ।
अस्पतालहरू विना दर्ता चलेका छन् । उनले भने‘२५ शैय्यासम्मको अस्पताले आसियु राख्न पाउदैन, तर यहाँ त्यस्तो पाइएको छ ।’ उनले थपे ‘ आइसियु भनेको छ, स्टाफ नर्स स्तरको स्वास्थ्यकर्मी पनि हुँदैेनन् र आइसियु कोठा हेर्न जाँदा एसीबाहेक कुनै उपकरण हुँदैनन ।’ जुन कुरा पालिकालाई अधिकारै छैन त्यस्तो क्लिनिक पनि पालिकाले इजाजत दिएर चलेको पाइएको बताउदै उनले भने ‘कसरी हुन्छ विरामी लुटने काम भइरहेकोमा पालिकाहरूले ध्यान दिनु पर्ने उनको कथन थियो । स्वास्थ्य स्वयं सेविकाहरूले थोरै पैसामा धेरै राम्रो काम गरिरहेकाले उनीहरूलाई प्रोत्साहन गरिनु पर्ने मुख्यमन्त्री सिंहले बताए । वर्षेनी प्रोत्साहनस्वरुप थोरै भए पनि उनीहरूको भत्ता बृद्धि गर्दै लैजान उनले औरही नगरपालिकालाई सुझाए ।
शिक्षा क्षेत्रको कुरा कोट्याउदै मुख्यमन्त्री सिंहले भने ‘एक समय थियो, मधेशदेखि पहाडसम्म शिक्षक मधेशी, अमिन मधेशी, एचए, अहेव मधेशी हुन्थ्यो । तर अब उल्टो भएको बताउदै उनले साक्षरता प्रतिशतमा सबैभन्दा कम मधेश भएको दिक्दारी पोखे । उनले भने ‘आठवटै जिल्ला कुनै पूर्ण साक्षर छैनन ।’ एसइई आयो कसरी पास हुनेभन्दा कसरी पास गराउने भनेर बाबुआमा चिन्तित हुन्छन् । परीक्षामा अभिभावकको भीड लाग्छ चिट चोराउन ।
उनले भने ‘यहाँ अभिभावकहरू धेरै हुनुहुन्छ, म तपाईहरूलाई भन्न चाहन्छु, चिट चोराएर पाएको प्रमाणपत्र कागजको खोस्टो हो, त्यो कुनै काम लाग्दैन । पढन प्रोत्साहित गर्नुहोस् ।’ निजी विद्यालयका नाममा ठगी भइरहेको बताउँदै उनले यसको अनुगमन गर्न पालिकालाई मुख्यमन्त्रीले सुझाव दिए । उनले कति कक्षासम्मको स्वीकृती लिएको छ, कतिकक्षसम्म पढाउदैछन् ? शिक्षहरूको गुणस्तर कस्तो छ ? पालिकाले अनुगमन गरोस् । यहाँ ठगी भइरहेको छ उनले भने ।
सो अवसरमा औरही नगरपालिकाले नगरवासीको तर्फबाट मुख्यमन्त्रीलाई अभिनन्दनसमेत गरेको थियो । औरही नगरपालिका प्रमुख प्रदीपकुमार खड्काले दोसल्ला ओढाएर सो अभिनन्दनपत्र मुख्यमन्त्रीलाई समर्पण गरेका थिए । यसअघि पालिका प्रमुख खड्काले आ.व. २०८२÷०८३ का लागि नगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ४५ करोड २७ लाख ७७ हजारको अनुमानित आय प्रस्तुत गरेका थिए ।
सो अनुमानित आयमा नगरपालिका तर्फ आन्तरिक श्रोतबाट १ करोड ६० लाख, आन्तरिक राजश्व वाँढफाडबाट ५० लाख अनुमान गरिएको छ । त्यस्तै संघीय सरकारबाट समानीकरण अनुदान ९ करोड ८८ लाख, सशर्त अनुदान १७ करोड ८६ लाख, राजश्य वाँडफाँड ९ करोड ३० लाख ७७ हजार ३००, विशेष अनुदान ९ करोड ५० अनुमानित गरिएको छ । त्यस्तै प्रदेश सरकारबाट राजश्व वाँफाँडबाट ४६ लाख, समानीकरण अनुदान ७२ लाख ७० हजार, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख र सशर्त अनुदान ९५ लाख अनुमानित गरिएको छ ।