बहिस्कारकाबीच बर्दिवास नगरसभा सम्पन्न

राजनीति

बर्दिवास, १० असार । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्रका जनप्रतिनिधिको बहिस्कारकाबीच बर्दिवास नगरपालिकाको १६ औं नगरसभा सम्पन्न भएको छ । पालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले आफूहरूको कुरै नसुनी मनोमानी ढंगले बजेट बाँडफाँड गरेकाले बाध्य भएर नगरसभा बहिस्कार गर्नुपरेको एमाले बर्दिवास नगर अध्यक्ष तथा वडानंं ५ का वडाध्यक्ष काहरमान श्यांङ्वाले बताएका छन् । नगरसभा बहिस्कार गर्ने पार्टीको सस्थागत निर्णय भए पनि केही वडासदस्यले अनुशासनहीन काम गरेको उनले बताए ।

पालिका प्रमुख क्षेत्रीले पहिल्यैदेखि भेदभाव गर्ने गरेकाले यसपटक त्यसो नगर्न पटकपटक अनुरोध गर्दा पनि नसुनेकाले बहिस्कार गर्न वाध्य भएको वडानं. ८ का वडाध्यक्ष शमशेर सिंह बताउँछन् । बजेटको आकार बढेअनुसार आन्तरिक अनुमानित आय पनि बढाइएकाले वडा सिलिङ बढाइदिन आफूहरूको अनुरोध नगरप्रमुख क्षेत्रीले बेवास्ता गरेको उनको आरोप छ । ‘जनसंख्याको अनुपातमा वडाले पाउने बजेटमा जनसंख्याकै आधारमा बढाउन भनेको हौं’ माओवादी नेतासमेत रहेका वडाध्यक्ष सिंहले भने ‘हाम्रो कुरै सुनुवाई नभएपछि बहिस्कार गर्न वाध्य भयौं ।’

बहिस्कारकाबीच ल्याइएको बजेटको आकार १ अर्ब २२ करोड ४० लाख १० हजार रहेको छ । सो आकारमा २५ करोड आन्तरिक श्रोतबाट उठाइने लक्ष्य रहेको छ । अन्य संघीय सरकारबाट र प्रदेश सरकारबाट विभिन्न शिर्षकमा प्राप्त हुने अनुदान समावेश छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार