बर्दिवास, ११ असार । मधेश प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री राजकुमार लेखीको अराजक गतिविधिले मधेशमा एमाले बद्नाम हुँदै गएको पाइएको छ । मन्त्री लेखीले आफ्नो मन्त्रालय अन्तर्गतको नियुक्तिमा पार्टी विरोधीलाई पुरस्कृत गरेकाले पार्टी बदनाम भएको हो ।
मन्त्री लेखीले हालै नियुक्त गरेका मधेश मिडिया काउन्सिलका चारै जनामध्ये एक जना पनि एमाले सम्वद्ध वा प्रेस चौतारी निकट नरहेको पाइएको छ । अझ एमालेको जनसंगठन प्रेस चौतारी नेपालको तेजोवध गर्नेलाई नियुक्त गरेको मंगलबारको सर्लाहीको घटनाले पुष्टी गरेको हो ।
मन्त्री लेखीले मधेश मिडिया काउन्सिलको सदस्यमा नियुक्त गरेका नेपाल पत्रकार महासंघ सर्लाहीकी उपाध्यक्षसमेत रहेकी बन्दना झाले प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बख्तियार अलीलाई गरेको दुव्र्यवहार यसको उदाहरण हो । काउन्सिल सदस्य झाले अलीलाई समाचार हटाउन फर्मान जारी गर्दै दुव्र्यवहारको प्रेस चौतारी नेपाल केन्द्रीय समितिले भत्र्सना गरेको छ ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले मंगलबार जारी गरेको विज्ञप्तिमा काउन्सिल सदस्य झालाई कारवाहीका लागि माग गरिएको छ । झाले ‘स्वास्थ्य कार्यालय सर्लाहीमा अख्तियारको छापा’ शिर्षकको समाचार हटाउन बख्तियारलाई धम्कीपूर्ण फर्मान जारी गरेकी थिइन । काउन्सिल सदस्यजस्तो गरिमामय पदमा आसिन व्यक्तिबाटै भएको यस किसिमको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको कार्य क्षम्य नरहेको प्रेस चौतारी नेपाल मधेश प्रदेशका नेताहरूले बताएका छन् ।
मन्त्री लेखीले गरेको मनोमानी यो पहिलो नभएको विगतले प्रष्ट्याउछ । उनले यसअघि मधेश मिडिया काउन्सिल अध्यक्षमा पनि प्रेस चौतारी मधेश प्रदेश कमिटी र पार्टीलाई समेत बेवास्ता गर्दै कमल उपाध्यायलाई नियुक्त गरेका थिए । उनै उपाध्याय हाल विशेष अदालतबाट दोषी करार भई सजायसमेत तोकिएको अवस्था छ । एमालेबाट प्रतिनिधित्व गर्ने मधेश सरकारका मन्त्रीहरू मध्ये संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवबाहेक कसैको पनि कार्य क्षमता सन्तोषजनक नरहेको एमाले श्रोतले जनाएको छ ।