नैतिक प्रश्नलाई अपराधको कोटीमा नराखौं

banner

बर्दिवास –३ गौरीडाडामा रहेको एक होटलमा केही दिन अगडि प्रहरीले छापा मारेको, दुई जोडी र होटल संञ्चालकलाई पक्राउ गरेको र प्रहरीले उनीहरूलाई ‘मानव वेचविखन तथा यौन अपराध’ जस्तो जघन्य मुद्दा लगाएको कुरा अहिले बहसको विषय बनेको छ । समाजका बुद्धिजीवी मानिएका केही व्यक्ति, केही राजनीतिक दलका नेता मानिएकाहरू र कतिपय व्यापारीहरू पनि प्रहरीको उक्त कार्यको मुक्त कण्ठले प्रशंसा गर्दै ‘अघि बढ प्रहरी हामी साथ छौं’ भनिरहेका छन् । अर्कोथरी यसलाई नैतिकताको प्रश्न बनाउन सकिन्छ तर, अपराध होइन, त्यसमा पनि जुन मुद्दा लगाइएको छ त्यो त हुनै सक्दैन भनिरहेका छन् । होटलका बन्द कोठामा कस्ले कुन कर्म गरिहको छ ? खाट चुईँकिएको छ छैन ? भनेर कान थापी हिड्ने काम प्रहरीको होइन भनिरहेका छन् । समग्र घटना बुझ्दा होटलमा बस्ने दुई जोडीले यौनको श्वेच्छिक खरिद, विक्रि गरेको बुझ्न सकिन्छ ।

अब प्रश्न आउँछ, अपराध केलाई भन्ने नैतिकता केलाई भन्ने ? पहिलो कुरा हो यौन अपराध हुनका लागि इश्छा विरुद्ध भएकै हुनुपर्छ वा ऐन बमोजिम उमेर हद ननाघेको हुनु पर्छ । यौन अपराधलाई यसरी बुझौं ‘यौन तथा नजिकिने कार्यअन्तर्गत यौनजन्य रूपमा छुने, यौन सम्पर्क गर्ने, यौनजन्य तस्बिर तथा सन्देश आदान प्रदान गर्ने जस्ता कुराहरू पर्दछन् । तपाईले स्वतन्त्र रूपमा र स्वेच्छाले सहमति दिनभएको छैन भने तपाईंलाई यी क्रियाकलापहरू मध्ये कनै पनि क्रियाकलापमा भाग लिन बाध्य पार्नु एउटा अपराध हो ।’ मानव वेचविखनलाई भने यसरी बुझौं ‘ यौन शोषण गर्ने उद्देश्यले कुनै पनि महिला या पुरुषलाई होटलमा या अन्य कुनै पनि स्थानमा ओसार पसार गरिन्छ भने या उनीहरुलाई जवर्जस्ती धम्क्याएर यौनकार्य गराइन्छ भने ।’ सो होटलमा यी र यस्ता कुरा भएका हुन् ?

समाचारमा उल्लेख भएअनुसार दुई जना भारतीय पुरुष होटलमा बास बस्न आए । होटलको ‘इन्ट्री बुक’ मा दुईटा कोठा १/१ जना बस्ने भनेर बुक गरे । केही समयपछि उनीहरूले आफूहरू परिवारसहित भएको बताएपछि होटलवालाले ‘इन्ट्री बुक’ सच्याउन भने, सोहीअनुसार पहिले १/१ लेखेको ठाउँमा पछि २/२ लेखियो । सो होटलमा सेवाग्राहीले आफै ‘इन्ट्री बुक’ मा नाम ठेगाना लेख्ने प्रचलन रहेको पाइन्छ । अब यसरी हेर्दा होटलवालाको संलग्नता कहाँ पुष्टि हुन्छ ? पक्राउ परेका होटलवालाले सोहीअनुसारको वयान दिएको उनकी श्रीमती बताउँछिन् ।

‘अपराध’ हुनको लागि त कोही पीडित हुनु पर्यो होला नी ! यो घटनामा पीडित को हो ? मानव वेचविखन तथा यौन अपराध हुनको लागि त ती महिला पीडित हुनु पर्ने सामान्य सिद्धान्त हैन ? हो ! उनीहरूमाथि अपराध भएको भए, उनीहरूले केही न केही प्रतिवाद गरेको देखिनुपर्थ्यो । राति चुकुल लगाएर सुतेका जोडीको निन्दा्र भंग गराएर प्रहरी कार्यालय ल्याइएको छ । महिला वा पुरुष कुनै पक्षले प्रहरीमा लिखित वा मौखिक उजुरी दिएका होइनन् भने ‘अपराध’ कसरी भयो ?

होटलको एउटै कोठामा महिला र पुरुष बास बसेकै आधारमा यौन क्रियाकलापको आशंका हुन्छ, पुष्टी हुदैन । पुष्टि हुनकालागि त ती महिला र पुरुषको शरीर र लगाएर सुतेको पहिरन वा होटलको तन्नाको परीक्षण हुनु पर्छ । बयान मात्रलाई अदालतले यथेष्ट प्रमाण मान्दैन भन्नलाई कानुनको विद्याथी हुनैपर्छ भन्ने छैन । यदी उनीहरूले पैसामा वा कुनै वस्तुसंग यौन विनिमय गरेको भए पनि यो अपराधको कोटीमा पर्दैन । ‘अपराध’ हुनका लागि ‘स्वतन्त्र इच्छाविरुद्ध’ हुनै पर्छ । ती महिलाहरू धाकधम्की वा अवाच्छित प्रलोभन वा वेहोसीको अवस्थामा पारेर प्रतिवाद गर्न नसक्ने अवस्थामा पुर्याएर यौन सम्पर्कका लागि वाध्य पारिएको हो भने ‘अपराध’ हो । यो त मुद्दा लगाइसकेपछि प्रहरीले पुष्टि गर्ला ! गरेन भने के हुन्छ ? अनाहकमा बद्नामी र दुःख, जसको कुनै क्षतिपुर्ती छैन । मुलुको संविधान, ऐन, कानुनले प्रष्टसंग वर्जित नगरेका कुरा अपराध होइनन् भन्ने बुझ्न आवश्यक छ ।

अब रह्यो समाजका केही मानिसको चिन्ता । यौनलाई नकारात्मकरूपले बुझ्दा यस्ता क्रियाकलाप नैतिकहीन हुन् । नैतिकता भनेको कानुनी विषय होइन यो सामाजिक विषय हो । नैतिकता भन्ने कुरा, सभ्यता, संस्कृति र धर्मसंग सम्वन्धित हुन्छ । हाम्रो समाज, हाम्रो सभ्यता र हाम्रो धर्मले यौनलाई पतिपत्नीका बीचमा सीमित गरिदिएको छ । अझ धर्मले त ‘श्रृष्टि सञ्चालनार्थ सन्तान उत्पादनको उदेश्यका लागि मात्र’मा सीमित गरिदिएको छ । तर, आजको पुस्ता योभन्दा धेरै पर पुगेको छ । आज विवाह किन गर्ने ? भन्दा ‘सन्तान उत्दनका लागि’ भन्ने अधिकांश नयाँ पुस्ताको जवाफ आउँछ । विज्ञानले ‘यौन क्रिया’ लाई ‘शारीरिक र जैविक आवश्यकता’ मानेको छ । यसको अर्थ यो पनि होइन कि, यौन जथाभावी हुनुपर्छ । यौनमा गोपनियता आवश्यक हुन्छ नै । आदर्शको ढोंग ओडेर यौनलाई हामी दबाइरहेका छौ, ढाकछोप गरिरहेका, थिचिरहेका छौ । जति जति यसलाई दबाउन खोजिन्छ, यो उत्तिनै प्रकट हुन खोज्छ । यसले यौन कुण्ठा पैदा गर्छ । यौन कुण्ठाले नै हो, यौन अपराध जन्माउने । ओशोले भनेका छन्, ‘जुन दिन विश्वमा यौन स्विकृति हुन्छ, जस्तो कि भोजन, स्नान स्विकृत छ । त्यस दिन विश्वमा अश्लील तस्वीर टाँसिने छेन । अश्लील पुस्तक छापिने छैन । अश्लील मन्दिर बनिने छैन ।’ यति हुँदा हुदै पनि यसका सीमा भने अवश्य छन् । यौन क्रियालाई एकप्रकारको ‘खेल’ मान्ने मुलुकले पनि यसका सीमा निर्धारण गरेको पाइन्छ, जस्तो खेलको पनि नियम हुन्छ ।

प्रहरीले ठिक गर्यो, हामी साथ दिन्छौ भन्नेहरूले भोली प्रहरीले रातको समयमा हरेक होटलको ढोका ढक्ढक्याउदै हिड्न थाले उनीहरूको व्यवसाय के होला, भन्ने ध्यान दिएको छ ? वा समाजले गरेको यही वाहवाही र स्वीकृतिलाई उसले वार्गेनिङ्गको आधार नबनाउला भन्न सकिन्छ ? बरु अनाधिकृत क्षेत्रमा हात हाल्न प्रहरीलाई उक्साउनुको सट्टा व्यवसायी, प्रहरी र नागरिक समाजका मानिस बसेर एउटा आचारसंहिता बनाउन सक्छन् । आचारसंहितालाई वाध्यकारी बनाउन सक्छन् । लोकतान्त्रिक शासन व्यवस्थामा बन्ने फौजदारी कानुन पनि सजायमुलकभन्दा सुधारमुलक हुन्छन् । हाम्रो देशको कानुनले पनि पीडितभन्दा पीडकलाई नै बढी सुविधा दिएको छ । आरोप पुष्टि गर्ने दायित्व पीडितलाई दिनुले यसको पुष्टि गर्छ । जेललाई ‘यातना गृह’ हैन ‘सुधार गृह’ मानेको छ । त्यसैले बेलाबेला खुला कारागारको अवधारणको वारेमा पनि बहस हुने गरेको छ । त्यसैले सजाय होइन सुधारमा केन्दित हुनु सबैको हितमा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार