बर्दिवासमा कोषाध्यक्षकै घरको धारा काटियो

banner

बर्दिवास, १९ असार । बर्दिवास साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकै कोषाध्यक्ष भोज प्रसाद फुयाँलको घरको घरा काटिएको छ । लामो समयसम्म बक्यौता रकम नबुझाएकाले धारा काट्न बाध्य हुनु परेको अध्यक्ष भुलन सेनले जानकारी दिए ।

कोषाध्यक्ष फूयाँलका नाममा ६० हजार बढी महसुल बक्यौता रहेको संस्थाका व्यवस्थापक भवनाथ खतिवडाले बताए । धारा काट्ने क्रममा दुई पक्षबीच हातहालाहाल भएको बताइएको छ । सो क्रममा फुयाँलको आक्रमणका कारण एक संस्था सम्वद्ध व्यक्ति घाइते भएको व्यवस्थापक खतिवडाले जानकारी दिएका छन् ।

धारा काट्न जाँदा बक्यौता महसुल बुझाउने कबोल गर्नुको सट्टा प्रतिकारमा उत्रदैं सांघातिक आक्रमण गरेकाले संस्थाले उनी उपर कुटपिटगरी ज्यान मार्ने उद्योगको उजुरी दिएको जानकारी प्राप्त भएको छ । प्रहरीले फुयाँललाई पक्राउ गरी हिरासतमा राखेको बताइएको छ ।

फुयाँलले भने संस्थाका अध्यक्षलगायतले खानेपानी उपभोक्तको रकम अपचलन गरिरहेको आरोप लगाएका छन् । उनले देउराली माविलाई संस्थाको कोषबाट सापटी दिएको २५ लाख रकम उठाउन नसक्नु, तर उपभोक्ताको धारा काट्न हतारो गर्नु कस्तो न्याय हो ? भनी प्रश्न गरेका छन् । उनले यस्तै अनियमितताको कुरा उठाउँदा समितिबाट निलम्वनजस्तै गरिएको दावि गरेका छन् । उनले उपभोक्ताले तिरेको महसुलको एक÷एक पैसाको हर हिसाव हुनु पर्ने र साधारणसभा गरेर जानकारी दिनु पर्ने बताएका छन् । ‘पैसा नभएर महसुल नतिरेको होइन, मनपरीतन्त्रविरुद्धको मेरो आवाज हो’ उनले भनेका छन् ।

संस्थाले १५ हजारभन्दा माथि महसुल बक्यौता राख्नेको धारा काट्ने अभियान सञ्चालन गरेको छ । पटक–पटक ताकेता गर्दा पनि आलटाल गर्नेको धारा काट्न अभियान चलाउन वाध्य हुनु परेको संस्थाले जनाएको छ । संस्थाका व्यवस्थापक खतिवडाकाअनुसार १ लाखबढी बक्यौता राख्ने ९ उपभोक्तको धारा काटेर अब ५० बढी बक्यौता राख्नेको धारा बिहीबार काटिएको हो । यो अभियान १५ हजारी बक्यौता राख्नेसम्मको धारा काटेर यो अभियान हाललाई रोकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार