यी चार प्रस्ताव पारित गर्दै सकियो एमाले मधेश कमिटीको बैठक

banner

बर्दिवास, २८ असार । नेकपा (एमाले) मधेश प्रदेश समितिको बैठक यी चार प्रस्ताव पारित गर्दै सकिएको छ । शनिबार बर्दिवासको गौतम होटलमा सम्पन्न बैठकले असार सकिँदा पनि यथेष्ट वर्षा नभएकाले मधेशलाई सुख्खाक्षेत्र घोषणा गर्न सरकारसंग माग गरेको छ ।

चन्देश्वर मण्डलको अध्यक्षता तथा प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठको आतिथ्यतामा सम्पन्न बैठकले सुख्खा क्षेत्र घोषण गरी पीडित किसानलाई राहतको व्यवस्था मिलाउन माग गर्ने, मधेश धान खेतीका लागि उर्वरभूमि मानिए पनि साउन लाग्दा पनि किसानले मलखादको अभाव भोग्नु परेकाले यसलाई तुरुन्त समाधान गर्न सरकारसंग माग गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै वर्षासंगै मधेशमा डेंँगु रोगको माहामारी फैलन लागेकाले यसलाई समयमै नियन्त्रण तथा रोकथाम गर्न सम्वन्धित निकायसंग माग गरिएको र लम्की स्किन नामक पशु, चौपायामा लाग्ने रोगले मधेशमा हजारौं पशु, चौपायाको मृत्यु हुनुका साथै त्यतिनै मात्रामा विरामी भएकाले प्रभावित किसानलाई राहतका साथै सो रोगको नियन्त्रण गर्न तत्काल कदम चाल्न सरकारसंग माग गरिएको छ ।

बैठकले मधेश प्रदेश कमिटीका सदस्यहरूको कार्य विभाजन, सांगठनिक कामका योजना निर्माण, प्रदेशको राजनीतिक स्थितिको समिक्षा गरिएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्ति उल्लेख नगरिए पनि पार्टीबाट मधेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको कामको समिक्षासमेत भएको बताइएको छ ।

मधेश सरकारमा प्रतिनिधित्व गर्ने केही मन्त्रीका कार्यशैलीका कारण पार्टी बद्नाम हुँदै गएको पनि बैठकले निश्कर्ष निकालेको एक प्रदेश समिति सदस्यले बताए । ती सदस्यले भने ‘हेर्दै जानुन केही दिनमा सबैले थाहा पाइहाल्छन् नी !’ उनले केही मन्त्री फिर्ता बोलाउने निश्कर्षमा पार्टी पुगेको संकेत गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार